भारत-पाकिस्तान युद्धविराम : साम्राज्यवादी घमण्डको कूटनीतिक अपमान

#अविनाश शर्मा
दक्षिण एशिया सधैं अशान्त क्षेत्रको रूपमा चित्रित हुँदै आएको छ, तर पछिल्लो पटक भारत–पाकिस्तानबीच उत्पन्न तात्कालिक सैन्य तनाव र त्यसपछि भएको युद्धविरामले यो क्षेत्रको शक्ति संरचना, कूटनीतिक सन्तुलन र राष्ट्रहरूको मनोवैज्ञानिक रूपान्तरणबारे नयाँ विमर्श उठाएको छ।
भारत, जुन लामो समयदेखि क्षेत्रीय ‘प्रमुख शक्ति’ को दाबी गर्दै आएको छ, पाकिस्तानसंगको पछिल्लो सैन्य द्वन्द्वमा न त सैन्य वर्चस्व देखाउन सक्यो, न त कूटनीतिक दृढता। युद्ध सुरु गरेको मात्र केही दिनभित्रै उसको रणनीतिक क्षमता चकनाचुर हुँदै युद्धविराम गर्न विवश हुनुपर्यो।
युद्ध आरम्भमा भारतले ‘सरप्राइज स्ट्राइक’ को नारा दियो, तर यसको सैन्य रणनीति एकोहोरो, घमण्डयुक्त र लाजमर्दो रूपमा कमजोर सावित भयो। पाकिस्तानले सीमित साधनस्रोतमा पनि बलियो सन्तुलित प्रतिरोध प्रस्तुत गर्यो।
पाकिस्तानको जवाफी रणनीतिमा परिपक्वता थियो, कूटनीतिक संयमता र सैन्य सन्तुलन। यसले भारतलाई युद्धविरामको विकल्प बाहेक अरु कुनै विकल्प रहन दिएन।
तर युद्धविराम कसले गरायो? यही प्रश्नमा भारतीय सत्ता र मिडियाले दोहोरो मापदण्ड प्रदर्शन गरे।
वाशिङ्टनले स्पष्ट रूपमा युद्धविराममा आफ्नो मध्यस्थता रहेको घोषणा गर्यो, र पाकिस्तानले पनि यसलाई औपचारिक धन्यवाद दिएर स्वीकार गर्यो। तर भारतले आफ्नो परम्परागत ‘स्वायत्तता’ को झूटो आवरण जोगाउन अमेरिकी भूमिकाको खण्डन गर्यो।
यो खण्डन कूटनीतिक रूपमा आत्मघाती थियो, एकातर्फ युद्धविरामको याचना, अर्कोतर्फ ‘हामीले नै पहल गरेका हौं’ भन्ने दाबी। यसले भारतको आत्मकेन्द्रित र अपारदर्शी विदेश नीतिको उपहास उडाएको छ।
भारतीय मिडियाले पुनः ‘विराट राष्ट्रवाद’ को ओवरडोज दिँदै युद्धविरामको दोष पाकिस्तानमाथि थोपर्ने कसरत गर्यो। तथापि, ती दावीहरू भित्र वस्तुनिष्ठता थिएन। युद्धविराम पछि तुरुन्तै पाकिस्तानले ‘उल्लंघन’ गर्यो भन्ने प्रचार स्वयं भारतको असफल रणनीतिक पङ्क्तिलाई ढाकछोप गर्न गरिएको प्रयास हो। यो अवस्था भारतभित्रको राजनीतिक अस्थिरता, सैन्य व्यावसायिकीकरण र राष्ट्रवादको अविवेकी प्रयोगको प्रतिबिम्ब हो।
भारतको यो सैन्य विफलता दक्षिण एशियामा नयाँ शक्ति सन्तुलनको संकेत हुन सक्छ। अब छिमेकी राष्ट्रहरूले भारतलाई अविजेय ‘धुरी शक्ति’ का रूपमा होइन, अस्थायी र दिग्भ्रमित सामरिक एजेन्डा बोकेको मुलुकको रूपमा हेर्न थालेका छन्।
पाकिस्तानले मात्र होइन, बङ्गलादेश, नेपाल, श्रीलंका, माल्दिभ्स जस्ता देशहरूले पनि भारतको कूटनीतिक ज्यान्दारीताका विरुद्ध आत्मनिर्भर परिपाटी अपनाउने मनोवृत्ति बढाउन सक्छन्।
भारत–पाकिस्तान युद्धविराम केवल दुई राष्ट्रबीचको सैन्य स्थगन मात्र होइन, यो दक्षिण एशियाको साम्राज्यवादी विडम्बनाको ऐना हो। शक्ति, घमण्ड र भ्रमका आधारमा निर्मित ‘इण्डियन हेजेमोनी’ को अवधारणा अब संशोधनको चरणमा पुगेको छ।
पाकिस्तानले यथार्थ, प्रतिबद्धता र रणनीतिक विवेकद्वारा एउटा महत्वपूर्ण सन्देश दिएको छ—क्षेत्रीय शक्ति सन्तुलनमा आत्मसम्मान र रणनीतिक संयमता नै अन्ततः निर्णायक बन्न जान्छ।