हिमाल जोगाउनु पृथ्वी, महासागर र मानवता जोगाउनु रहेको नेपालका प्रधानमन्त्रीको भनाइ

नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले हिमाल जोगाउनु पृथ्वी, महासागर र स्वयं मानवता जोगाउनु हो भन्ने यथार्थलाई आत्मसात गरेर विश्वव्यापी संवादका रुपमा सगरमाथा संवादको आयोजना गरिएको बताउनुभएको छ।
नेपाल सरकारद्वारा पहिलो पटक आयोजित सगरमाथा संवादको उद्घाटन सत्रलाई मे १६ तारिख शुक्रबार सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यही गहिरो अन्तरनिर्भर यथार्थभित्र-इमानदार संवाद र आपसी ज्ञान साटासाट गर्न तथा सामूहिक कदम चाल्न सर्वोच्च शिखर सगरमाथाको नामबाट संवादको जन्म भएको स्पष्ट गर्नुभएको गोरखापत्र अनलाइनले लेखेको छ।
“आशा गर्छौँ, यो संवाद-त्यत्तिकै उच्च बनोस्। उच्च नैतिक स्पष्टता, दृढ बौद्धिक साहस र सुन्दर भविष्य निर्माणका लागि अटल साझा दृष्टिकोणमा उच्च बनोस्,” प्रधानमन्त्री ओलीले भन्नुभयो, “हाम्रा घरबासहरु पहिरोहरूले बगाइरहेका छन्। बाढी र खडेरी अकस्मात आउँछन् तर अझै, हामी डटिरहेका छौँ। हाम्रा उत्सर्जनहरू न्यून छ तर वातावरण संरक्षणमा हाम्रा योगदानहरू महत्वपूर्ण छन्।”
नेपाल सरकारले आयोजना गरेको प्रथम संस्करणको ‘सगरमाथा संवाद’ सुरु भएको छ। परराष्ट्र मन्त्री आरजु राणा देउवाले सगरमाथा संवादमा सहभागी सबैलाई स्वागत गर्दै धन्यवाद पेस गर्नुभयो। काठमाडौँमा शुक्रबार (जेठ २) देखि सुरु भएको सगरमाथा संवाद आइतबारसम्म सञ्चालन हुनेछ।
जलवायु परिवर्तन, हिमाल र मानव भविष्यमा केन्द्रित हुने यस संवादमा जलवायु परिवर्तनको वर्तमान अवस्था र यसले निम्त्याइरहेका चुनौतीबारे बृहत् छलफल हुने स्पष्ट पारिएको छ। साथै जलवायु परिवर्तन कुनै एक देशको मात्र नभई विश्वव्यापी समस्या रहेकाले त्यसअनुसारको प्रतिबद्धता, सहकार्य र समन्वय आवश्यक हुने मन्त्री देउवाले उल्लेख गर्नुभयो।
‘यो साझा समस्यासँग जुध्नका लागि हाम्रा मात्र प्रयासहरू पर्याप्त छैनन्। त्यसैले सबैको सामूहिक सहकार्य र समन्वयका लागि साझा प्लेटफर्म निर्माण गर्न नेपालले सगरमाथा संवादको आयोजना गरेको हो,’ उहाँले भन्नुभयो, ‘नेपालले जलवायु परिवर्तनको अकल्पनीय क्षति बेहोर्दै आएको वर्तमान अवस्थाको सामूहिक वकालत गर्न तथा नेपालले विश्व मञ्चहरूमा उठाउँदै आएको जलवायु न्यायको आवाजलाई थप बुलन्द पार्न यो सम्मेलन महत्त्वपूर्ण हुनेछ।’
Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button