चिनियाँ नागरिकसङ्गै समातिएका नेपाली डक्टर काठमाण्डौ आइपुगे

नेपाल र भारतबीच खुल्ला सीमाना छ । दुबै देशका नागरिकले बिना भीसा सीमा पार गर्न पाउँछन् । अन्य मुलुकका नागरिकको हकमा भीसा अनिवार्य छ । पाकिस्तानसँगको पछिल्लो तनावपछि भने भारतीय पक्षले नेपालको सीमाबाटै विदेशी नागरिकलाई धमाधम समात्न थालेको छ ।
पछिल्लो दुई साता नेपाली भूमिमा घुमिरहेका पाँच जना चिनियाँलाई भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले नियन्त्रणमा लिइसक्यो । पछिल्लो पटक नेपाल भ्रमणमा आएका सिरहाको सुखीपुर नगरपालिका–३ का ४५ वर्षीय डा.सञ्जित दासका चिनियाँ साथी ४० वर्षीय यु सिचाओ अपहरणको शैलीमा झुक्याएर पारी पुर्याइएका छन् । उनीमाथि मुद्दा दर्ता गरेर हिरासतमा राखिएको अवस्था छ ।
चीनमा सँगै पढेका र ललितपुरको धापाखेलस्थित सुमेरु अस्पतालमा कार्यरत दासले सिचाओलाई आफ्नो गाउँ घुमाउन लगेका थिए । गत शुक्रबारको घटना हो,सञ्जितसँग सिचाओले खुल्ला सीमाना हेर्ने इच्छा व्यक्त गरे । आफूलाई भेट्नकै निम्ति अर्को देशबाट आएको साथीलाई ‘नाइँ’ भन्न सकेनन् । सिचाओलाई लिएर सञ्जितसहित उनको परिवार सिरहाको दक्षिणी सीमावर्ती बरियारपट्टी गाउँपालिका–३, बरियारपट्टीस्थित नेपाल–भारत सीमाको दशगजा नजिकै पुग्यो ।
सञ्जितका बुबा मोहनहरि दास भने खाना खान होटलमा छिरे । सिचाओ, सञ्जित र उनको मामाको छोरा सडक सब–इन्जिनियर ३५ वर्षीय मुकेश दास भने फोटो खिचिरहेका थिए । पारिबाट हेरिरहेका भारतीय सुरक्षाकर्मीले हिन्दीमा ‘यता आउनु,कुरा गर्नु छ’ भन्दै बोलाए । त्यसपछि भारतीय सीमा क्षेत्रतिर गएका उनीहरुलाई पक्रेर भ्यानमा हाल्दै लदनियाँ चेकपोष्ट पुर्याइयो ।
“वैध रुपमा नेपाल घुम्न आएका विदेशी नागरिकमाथि भारतीय पक्षले गरेको धरपकडप्रति उनले चर्को असन्तुष्टि जनाए । नेपाली भूमिमा हिँडिरहेकालाई बोलाएर समात्नु भारतीय सुरक्षाकर्मीको ज्यादती भएको उनको निश्कर्ष छ ।”
सीमा क्षेत्रबाट छोरा र उनको चिनियाँ साथी समातिएपछि सञ्जितका बुवा र मुकेशकी आमा बरियारपट्टी प्रहरी चौकी पुगे । भारतीय एसएसबीले एक चिनियाँसहित दुई नेपाली पक्रेको थाहा पाएपछि सशस्त्र प्रहरी बल,नेपालको टोलीले भारतीय समकक्षीसँग कुराकानी गर्यो । राति १ बजे सञ्जित र मुकेशलाई रिहा गरियो । तर,सिचाओलाई भने छोडिएन । पाँच दिन बितिसक्दासमेत रिहा गरिएको छैन ।
एसएसबीले मोबाइलको फरेन्सिक चेकजाँचपछि मात्र छाड्ने जानकारी दिएको सञ्जितका बुबा मोहनहरिले बताए । ‘छोरा र उनी सँगै पढेका हुन् । छोराको निमन्त्रणामा उनी पर्यटक भिसामा नेपाल घुम्न आएका थिए । तर, नेपालकै बोर्डरबाट समातिए । नेपाली नागरिकता देखाएर छोराहरु छुटे । उनलाई भने अहिलेसम्म त्यहीँ राखिएको छ । मोबाइल चेकजाँच गर्ने भनेका छन्’,जनआस्थासँग उनले भने ।
घटनापछि सञ्जितको परिवार काठमाडौं आएको छ । उताबाट फेरि तिनको खोजी हुन थालेको बुझिएको छ सिचाओ पक्राउ परेकोबारे दुई चिनियाँ नागरिकलाई जानकारी गराइएको मोहनहरिको भनाइ छ । भन्छन्,‘यहाँ दुई जना चिनियाँ नागरिक बस्छन् । हामीले उनीहरुलाई सबै कुरा भन्यौं । उनीहरुले चिनियाँ राजदूतावासलाई जानकारी गराउने भनेका छन् ।’
वैध रुपमा नेपाल घुम्न आएका विदेशी नागरिकमाथि भारतीय पक्षले गरेको धरपकडप्रति उनले चर्को असन्तुष्टि जनाए । नेपाली भूमिमा हिँडिरहेकालाई बोलाएर समात्नु भारतीय सुरक्षाकर्मीको ज्यादती भएको उनको निश्कर्ष छ । आफ्ना साथीलाई छुटाउनका लागि सञ्जित चिनियाँ राजदूतावास पुगेका छन् । ‘मैले काठमाडौंस्थित चिनियाँ दूतावासमा आफ्नो बयान रेकर्ड गराएको छु’,उनले भने ।
सशस्त्र प्रहरी बल नेपालका केन्द्रीय प्रवक्ता नायव महानिरीक्षक (डिआइजी) कालिदास धौवजीले ती चिनियाँ नागरिकमाथि अनुसन्धान भइरहेको जानकारी उताबाट प्राप्त भएको बताए । ‘उनी छुटेका छैनन् । आज बिहान कुरा गर्दा अनुसन्धान भइरहेको जानकारी पाएको थिएँ’,उनले भने ।
वैशाखको तेस्रो साता वीरगञ्ज हुँदै ठ्याक्कै पारीपट्टी रक्सौल पुगेका चार जना चिनियाँलाई पनि एसएसबीले नियन्त्रणमा लिएको थियो । जसमा पासपोर्ट नम्बर ईपी ५५४३५६३ भएका दङ हिजुन, ईपी २५३२९५९ भएका ल योङहाई, ईजी ७२७२४६८ भएका हुवाङ लिमिन र ईएल ८६२०७६८ भएका हे छियोङसियाङ छन् । हुनान प्रान्तका चारै जना घुमघामका लागि नेपाल आउँदा भारतीय सीमानामा समातिएका थिए ।
त्यसपछि नेपालस्थित चिनियाँ राजदूतावासले आफ्ना नागरिकलाई नेपाल–भारतको सीमा क्षेत्रमा नजान आग्रह गर्दै विज्ञप्ति जारी गरेको छ । दूतावासले सीमा क्षेत्रमा गएर तस्बिर नखिच्न पनि सुसूचित गराएको छ । ‘नेपाल र भारतको अध्यागमन र सीमा कानुन कडाईका साथ पालना गर्नुहोस् । अनावश्यक तस्बिर नखिच्नुहोस्,’ दूतावासको विज्ञप्तिमा उल्लेख छ ।
तर,पाकिस्तानसँग लडाइँ प्रत्युत्पादक भइसकेको अवस्थामा पनि नेपाल घुमघाम गर्न आएका विदेशीलाई जबरजस्ती समातेर लैजानु भारतीय पक्षको ‘दादागिरी’ भएको कतिपयको बुझाई छ । भारतीय पक्षको त्यस्ता हर्कतले विदेशमा नेपालप्रति नराम्रो प्रभाव पर्ने उनीहरुको ठम्याई छ । सीमा सुरक्षाको नाममा भारतले गरेको सो कार्य गैरकानुनी भएको उल्लेख गर्दै उनीहरुले त्यसलाई रोक्न सरोकारवालाले ‘स्ट्याण्ड’ लिनुपर्ने बताए ।
‘चिनियाँ सँगसँगै नेपाली भूमिबाट अन्य विदेशीलाई उठाउनु पनि गलत हो । यसले अन्तर्राष्ट्रिय स्तरमा नेपालको छवि बिग्रिन्छ । कुनैपनि विदेशी नेपाल घुम्न आएपछि उसको धनजनको रक्षा गर्नु सरकारको कर्तव्य हो । उनीहरुलाई कथमकदाचित केही भएको अवस्थामा नेपालको प्रतिष्ठामा धक्का लाग्नेतर्फ सबै सचेत हुनु जरुरी छ ।
Jana Aastha