J-35A सम्झौताको रणनीतिक सन्देश: चीन–पाकिस्तान सैन्य सहकार्य र बदलिँदो भू-राजनीतिक समीकरण

# मुना चन्द
सन 2025 को मध्यसम्म आइपुग्दा चीनले आफ्नो पाँचौं पुस्ताको स्टेल्थ लडाकु विमान J-35A पाकिस्तानलाई ५०% छुटमा प्रदान गर्ने घोषणा गरेको छ। यो विमानहरू पाकिस्तानले आगामी अगस्ट महिनाभित्र प्राप्त गर्नेछ। हेर्दा साधारण सैन्य सम्झौता जस्तो देखिए पनि, यो सम्झौताले दक्षिण एशियामा सामरिक सन्तुलन परिवर्तन गर्ने, अफ्रिकामा चिनियाँ सैन्य कूटनीतिको नयाँ चरण सुरू गर्ने, तथा अमेरिका–युरोपको सुरक्षा अवधारणामा चुनौती दिने संकेत दिएको छ।
भारत र पाकिस्तानबीचको ऐतिहासिक द्वन्द्व, सामरिक प्रतिस्पर्धा, र सीमा विवादको पृष्ठभूमिमा, J-35A को आगमनले नयाँ तनाव सिर्जना गर्ने निश्चित छ। भारत–अमेरिका सैन्य सहकार्य सुदृढ भइरहेका बेला चीनले पाकिस्तानलाई अत्याधुनिक फाइटर दिनु एयर पावर बैलेन्समा हस्तक्षेप हो। भारतको Tejas Mk1A र Rafale स्क्वाड्रनमाथि जेट टेक्नोलोजीको तुलनात्मक दबाब पर्नेछ। पाकिस्तानको हवाई क्षमता ह्वात्तै बढ्ने भएकाले यसले भारतलाई अर्को चरणको सैन्य पुनर्निर्माणमा बाध्य बनाउन सक्छ।
चीनले विगत दशकभरि अफ्रिकामा BRI मार्फत पूर्वाधार निर्माणमा ठूलो लगानी गरेको छ। अब सैन्य क्षेत्रमा पनि उस्तै प्रभाव विस्तार गर्ने संकेत देखिएको छ। पाकिस्तानलाई दिइएको J-35A ‘डेमो युनिट’ बन्न सक्छ, जसको प्रभाव देखेर अफ्रिकी देशहरू जस्तै नाइजेरिया, इथियोपिया, अल्जेरिया लाई चीनले आफ्नो टेक्नोलोजी निर्यात गर्न सक्नेछ। यो सम्झौता चीनको “Low-cost Military Export Model” को प्रायोगिक चरण हो।
युरोपेली मुलुकहरू, विशेषगरी फ्रान्स र बेलायत, दक्षिण एशिया तथा अफ्रिका दुबैतिर सैन्य साझेदार छन्। अब उनीहरू चिनियाँ हस्तक्षेपबाट प्रभावित हुनेछन्। चीनको 5th-gen स्टेल्थ विमान युरोपेली Eurofighter Typhoon वा Rafale लाई प्रतिस्पर्धामा ल्याउन सक्ने सम्भावना छ। NATO सदस्य राष्ट्रहरूले चीनको यस्तो सैन्य विस्तारलाई Hybrid Strategic Challenge का रूपमा लिनेछन्।
अमेरिकाको Indo-Pacific Strategy, QUAD, र पाकिस्तानप्रति असमञ्जसपूर्ण नीतिहरूको सन्दर्भमा, चीनको यो कदम Washington का लागि गम्भीर चुनौती हो। चीनले पाकिस्तान प्रयोग गरेर अमेरिकाको Military Tech Monopoly तोड्न खोजिरहेको संकेत स्पष्ट देखिन्छ। J-35A र अमेरिकाको F-35 को प्रोक्सी टेक्नोलोजी युद्ध पाकिस्तानको आकाशबाट सुरु हुन सक्छ। सन 2025–2030 बीच चीनले अमेरिकी सैन्य उद्योगको पारम्परिक बजारहरूमा दख्खल जमाउन खोज्ने संकेत यसबाट बुझिन्छ।
यो सम्झौता चीनको “Military–Diplomatic Integration Strategy” को भाग हो, जहाँ प्रविधि, सैन्य उपकरण, र राजनीतिक समर्थन एउटै प्याकेजमा प्रस्तुत गरिन्छ। पाकिस्तानसँग गहिरो सैन्य सम्बन्धमार्फत चीनले एक स्थायी ‘Proxy Combat Testing Ground’ तयार गरिरहेको छ। यसबाट नाफा, डेटा र प्रभाव तीनै प्राप्त गर्ने रणनीति देखिन्छ।
J-35A को पाकिस्तानमा आगमन केवल विमानको हस्तान्तरण होइन। यो एशिया, अफ्रिका, युरोप र अमेरिका बीचको नयाँ भू-राजनीतिक प्रतिस्पर्धाको उद्घोष हो। चीनले यो सम्झौतामार्फत न केवल पाकिस्तानलाई सशक्त बनाएको छ, उसले आफ्नो सैन्य प्रविधिको विश्वव्यापी परीक्षण, प्रदर्शन र निर्यात सम्भावना पनि सिर्जना गरेको छ। अब विश्वले हेर्नुपर्नेछ यो स्टेल्थ जेट युद्ध जित्ने उपकरण बन्छ कि बन्दैन? यदि यो युद्ध जित्ने उपकरण बन्यो भने छाेटाे समयमै दक्षिण एसियाकाे भाैगाेलिक नक्सा परिवर्तन हुनेछ र इण्डिया फेरि इतिहासमा जस्तै स-साना राज्यमा विभाजित भएको दृश्य हाम्रो सामु हुनेछ।