आरआरका स्ववियु सभापतिले ल का अध्यक्षलाई झम्टिएपछि..

हिजो शुक्रवार दिउँसो राजधानीको भृकुटीमण्डपस्थित ल क्याम्पसमा स्ववियु सभापति  समिर रिजालमाथि छिमेकी आरआर क्याम्पसका स्ववियु अध्यक्ष (त्यहाँको स्ववियु चुनावसम्बन्धी  मुद्दा उच्च अदालतमा बिचाराधीन छ) लोकेश खड्कालगायतका केही युवाबाट झण्डै हात हालिएको छ ।

समिर क्याम्पस हातामा केही विद्यार्थीसंग हुँदा  लोकेश हान्ने मुडमा आएको तर आफ्नो टोलीभन्दा धेरै संख्यामा विद्यार्थी देखेपछि हच्किएर थर्काउँदै आफ्नो क्याम्पसतिर लागेको बताइन्छ ।

गत जेठ ७ गते अनेरास्ववियु कानुन विद्यार्थी राष्ट्रिय कमिटीको प्रथम सम्मेलन उद्घाटन नेपाल ल क्याम्पसमा सम्पन्न भएको थियो । बन्दसत्रसमेत त्यहीबेला सम्पन्न भए पनि  यो समाचार तयार हुँदासम्म कमिटी बन्न सकेको छैन । त्यही विषयमा लोकेशको आक्रोश पोखिएको हो । “त्यो कमिटी बनाउने जिम्मा समिर रिजाललाई दिइएको छैन । तर कानुनतर्फको कमिटी भनेपछि अन्य संकायमा पढ्नेहरुले त्यसमा बस्न पाउँदैनन् । लोकेशले यो कुरा नबुझेको हुनसक्छ ।”,ल क्याम्पस कमिटीका एक सदस्यले बताए । लोकेश खड्का अखिल महासचिव नरेश रोकाया निकट मानिन्छन् ।

आर.आर.मा स्ववियु निर्वाचन भएको छैन बरु क्याम्पस प्रमुख,निर्वाचन प्रमुख र त्यहाँ क्रियाशील संगठनहरुको सहमतिमा कार्यसमिति बनाइएको छ । गत वैशाख १७ गते यही सहमतिबमोजिम निर्वाचन प्रमुखले निर्विरोध कार्यसमिति घोषणा गरेका थिए । “निर्वाचन प्रमुख महेश भट्टराई र लोकेश खड्का दुबै बझाङ्गकै हुन्”,आरआरका एक उपप्राध्यापकले बताए ।

उता यही बिषयलाई लिएर नेविसंघबाट अध्यक्षका प्रत्यासी विनोदराज जोशी उच्च अदालत पाटन गएका छन् । पाटनले अन्तरिम आदेश नदिए पनि छलफलको लागि दुबै पक्षलाई बोलाएको छ ।

ल र आरआरका अध्यक्षहरुवीच खास लडाइँ ५ जना प्रतिनिधिको लागि हो । अनेरास्ववियु कानुन विद्यार्थी राष्ट्रिय कमिटीबाट जेठ २४-२८ को महाधिवेशनमा ५ जना प्रतिनिधि जान पाउने भएकोले गर्दा जुङ्गाको लडाइँ देखिएको श्रोतको दावी छ ।

कमिटीको अध्यक्ष हुन कम्तिमा बार काउन्सिलको परिक्षा पास भएको अर्थात अधिवक्ताको लाइसेन्स लिएको हुनुपर्छ भनिएपछि एकथरीले कमिटी गठन गर्न नदिएको एक पदाधिकारीले जानकारी दिए ।

अध्यक्षको लागि नेशनल ल क्याम्पस सानेपाका आशुतोष पाण्डे र पिएन क्याम्पस पोखराका नरेश खनालवीच रस्साकस्सी छ । पाण्डे धर्म गिरी र नारायण घर्ती निकट हुन् भने खनाल नरेश रोकाया निकट । सो कमिटीको पदाधिकारीको लागि प्रज्ञा ज्ञवाली,सहदेव नेपाल,सुदिपकाजी थापा,बिनु न्यौपाने आदि आकाँक्षी छन् ।

यसैवीच जनआस्थामा समाचार प्रकाशित भएपछि राती अबेर कानुन विद्यार्थी कमिटी घोषणा गरिएको छ ।

 

Jana Aastha

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button