विद्या भण्डारीलाई बेइजिङमा सरकार प्रमुखसरह सम्मान, सरकारी र कम्युनिस्ट नेताले गरे स्वागत
बेइजिङमा सरकारी अधिकारी र कम्युनिस्ट पार्टीका नेताले गरे स्वागत, विदेशी सरकार प्रमुखसरह सम्मान

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई चीन सरकारले विदेशी सरकार प्रमुख सरहको सम्मान दिएको छ । नेपाल सरकार र नेकपा एमालेको संयुक्त टोलीको नेतृत्व गरेर पुगेकी भण्डारीलाई चीनले उच्चस्तरीय नेताको सम्मान दिएको हो ।
राष्ट्रपति सी जिनपिङसहित चिनियाँ नेताहरूसँग व्यक्तिगतरूपमा पनि राम्रो सम्बन्ध भएकी पूर्वराष्ट्रपति भण्डारीलाई ग्वान्जाओमा चीनका सरकारी अधिकारी र कम्युनिस्ट पार्टीका नेताहरूले स्वागत गरेका छन् ।
नेकपा एमालेका विदेश विभाग सचिव रघुवीर महासेठ र उद्योगमन्त्री दामोदर भण्डारीसमेत रहेको प्रतिनिधि मण्डलको सम्पूर्ण तालिका र कार्यक्रमको योजना चीन सरकारले नै तय गरेको छ ।
पूर्वराष्ट्रपति भण्डारीको भ्रमणदललाई चीन सरकारको राजकीय आवास गृह दियाओ थाईमा राखिएको छ । चीन सरकारले उनलाई विदेशी सरकारप्रमुख सरहको सम्मान, सुरक्षा र आवासगृह प्रदान गरेको छ ।
आजै साँझ पूर्वराष्ट्रपतिको सम्मानमा चिनियाँ पक्षले बैंक्वेट डिनर आयोजना गरेको छ । सो समारोहमा चीनका सरकारी तथा कम्युनिस्ट पार्टीका नेताहरूका साथै अन्य छिमेकी देशका नेताहरू समेत सहभागी हुनेछन् ।
बेइजिङ र गान्सु प्रान्तमा आयोजित दुईवटा कार्यक्रमको मुख्य अतिथिका रूपमा उनको सहभागिता रहनेछ ।
पूर्वराष्ट्रपति भण्डारीले दुईवटा महत्वपूर्ण कार्यक्रममा प्रमुख अतिथिका रुपमा मन्तव्य व्यक्त गर्ने कार्यक्रम तय भएको छ ।
चीनका विभिन्न छिमेकी राष्ट्रबाट निम्त्याइएका राजनीतिक दलका प्रतिनिधीबीच हुने संवाद कार्यक्रममा उनी प्रमुख अतिथि रहेकी छन् । सोही हैसियतले मन्तव्य व्यक्त गर्ने कार्यक्रम छ । उक्त कार्यक्रम भने सोमबार विहान आयोजना गरिने तालिकामा उल्लेख छ ।
शुक्रबार नागरिकस्तरको अनुभव आदानप्रदान र पारस्परिक सिकाईसम्बन्धी चौथो संवाद कार्यक्रममा पनि उनले प्रमुख अतिथिका रुपमा मन्तव्य व्यक्त गर्ने कार्यक्रम छ ।
भ्रमणमा सहभागी विभिन्न राजनीतिक व्यक्तिलाई समेत विभिन्न कार्यक्रममा महत्वका साथ भूमिका दिइने तालिकामा उल्लेख छ । उक्त भ्रमणदलका सदस्य उद्योग, बाणिज्य तथा आपुर्ति मन्त्री दामोदर भण्डारी, पूर्वमन्त्री रघुवीर महासेठ र कर्णबहादुर थापालाई विषय तोकेरै वक्ताका रुपमा राखिएको छ ।
सोमबार आयोजना हुने विभिन्न देशका राजनीतिक दलका प्रतिनिधीबीचको संवाद कार्यक्रममा उनीहरुका निम्ति मन्तव्यको शीर्षक नै छुट्याइएको हो ।
मन्त्री भण्डारीले उच्चस्तरीय खुलापन र एसियाको एकीकृत विकास कार्यक्रमबारे मन्तव्य व्यक्त गर्नेछन् । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको जिम्मेवारी सम्हालिसकेका पूर्वमन्त्री रघुवीर महासेठले रणनीतिक पारस्परिक विश्वास सुदृढीकरणका लागि संवाद र परामर्श शीर्षकमा मन्तव्य राख्ने भएका छन् ।
अर्का पूर्वमन्त्री कर्णबहादुर थापाले फरक फरक देशका नागरिकस्तरमा अनुभव आदान प्रदानलाई विस्तार गर्ने विषयमा मन्तव्य दिने कार्यक्रम छ ।
यसबाहेक मन्त्री भण्डारीले मंगलबार चाइना काउन्सिल फर दी प्रमोसन अफ इन्टरनेशनल ट्रेड (सीसीपीआईटी) का नेतासँग भेट्ने कार्यक्रम तय भएको छ ।
भ्रमण दलका अर्का सहभागी सार्वजनिक सेवा प्रशारण (पिएबी) का कार्यकारी अध्यक्ष महेन्द्र विष्टले मंगलबार नै चाइना मिडिया ग्रुप (सीएमजी) का प्रतिनिधिसँग भेट्ने कार्यक्रम छ ।
Nepal Press