फेरि एकपटक देशलाई मनबाट माया गर्न थालाैं

आज देश टुक्रिदै र कमजोर हुँदै गएको अनुभव हुन्छ, भौगोलिकरूपमा होइन, भावनात्मक र राष्ट्रिय एकताको स्तरमा। संघीयताको मूल भावना जनताको सशक्तिकरण र समावेशी प्रतिनिधित्व हो, तर व्यवहारमा त्यो सत्ताको स्वार्थमा प्रयोग भएको देखिन्छ। नेताहरूले यसलाई जात, भाषा, भूगोलको नाममा टुक्र्याएर, जनतालाई झन टाढा बनाउने हतियार बनाएका छन्। जुन संघीयता नेपाली जनताको सपनाको रूपमा आएको थियो, आज त्यो सपनालाई प्रयोग गरेर सत्ताका खेलाडीहरूले खेल रचिरहेका छन्।
मुख्य राजनीतिक दलहरूको स्वेच्छाचारिता दिनप्रतिदिन बढ्दै गएको छ। जनताले विश्वास गरेर दिएका मतहरू तिनै नेताहरूको व्यक्तिगत र गुटीबन्दी स्वार्थमा खर्चिरहेका छन्। लोकतन्त्रको नाममा स्थायीत्व होइन, अनिश्चितता बाँडिएको छ। संविधान जनताका लागि होइन, सत्तामा पुग्ने सीढीका रूपमा मात्र प्रयोग गरिएको महसुस हुन्छ।
भ्रष्टाचार अब सामान्य विषय जस्तो भइसकेको छ। सानो कर्मचारीदेखि माथिल्लो तहसम्म सबै स्तरमा अनियमितता जरा गाडेर बसेको छ। जनताको पसिना र करबाट जम्मा भएको धनको लुट चलिरहेको छ, र राज्य संयन्त्र मौन छ। यस्तो अवस्थाले नेपाली जनताको आत्मबल र आस्थामा गम्भीर चोट पुर्याएको छ।
सबैभन्दा दुःखद पक्ष त के छ भने नेपाली–नेपाली बीचको हार्दिकता, विश्वास, र एकता पनि क्रमशः कमजोर हुँदै गएको छ। अब मान्छे जात, पार्टी, वा क्षेत्रको आधारमा मूल्याङ्कन हुन्छ। एउटै भेगका, एउटै माटोका सन्तानबीच पर्खाल खडा हुन थालेका छन्। यसले राष्ट्रिय एकता र सहकार्यको भावना खलबल्याएको छ।
राजनीतिक र आर्थिक अस्थिरता चरम सीमामा पुगेको छ। युवा विदेशिन बाध्य छन्, कृषकको खेत बाँझो छ, उद्योग बन्द छन्। समृद्धिको सपना देखाउनेहरू कुर्सीमा छन्, तर देशको अवस्था प्रतिदिन ओरालो लागिरहेको छ। अभाव, महँगी, र बेरोजगारीले जनजीवन पीडित छ।
तर यति हुँदाहुँदै पनि, यो माटो बाँझो छैन। नेपालीको मुटुमा अझै पनि देशप्रेम बाँकी छ। सत्य र श्रमको मार्ग समाते हामी फेरि उठ्न सक्छौं। इमान, त्याग, र समर्पणका साथ नयाँ पुस्ताले नेतृत्व गरे देश फेरि समृद्धिको बाटोमा लाग्न सक्छ। हाम्रो अतीत गौरवशाली थियो, वर्तमान चुनौतीपूर्ण छ, तर भविष्य आशालु बनाउन सकिन्छ, यदि हामी फेरि एकपटक देशलाई मनबाट माया गर्न थाल्यौं भने।