“नयाँ” बनाम “पुरानो” को भ्रम : नेपाली राजनीतिमा एजेन्डा, शक्ति र वैचारिक संघर्ष

# अविनाश शर्मा
समकालीन नेपाली राजनीतिमा पछिल्लो समय सबैभन्दा धेरै दोहोरिने र सबैभन्दा कम गहिराइका साथ बुझिने बहस हो “नयाँ बनाम पुरानो राजनीति”। नेकपा एमालेका महासचिव शंकर पोखरेलले सार्वजनिक रूपमा उठाएको यही प्रश्नले केवल पार्टीगत विवाद मात्र होइन, नेपालको राज्य, समाज र भू–राजनीतिक अवस्थामाथि गहिरो वैचारिक बहसको ढोका खोलिदिएको छ। उनको भनाइ राजनीतिक वक्तव्यभन्दा बढी, आजको विश्व राजनीतिमा देखिएको “कलर रिभोलुसन”, “डिप–स्टेट”, र “एण्टी–एस्टाब्लिसमेन्ट” ट्रेन्डसँग जोडिएको एक वैचारिक चेतावनी हो।
विश्व राजनीतिमा “नयाँ” भन्ने शब्द आफैंमा कुनै वैचारिक श्रेणी होइन। यो केवल ब्रान्डिङ हो। युरोपदेखि दक्षिण एसियासम्म, अफ्रिकादेखि ल्याटिन अमेरिका सम्म, “नयाँ शक्ति”, “नयाँ अनुहार”, “नयाँ विकल्प” भन्ने शब्द प्रयोग गरेर पुराना संस्थागत राजनीतिक शक्तिलाई कमजोर पार्ने प्रयास बारम्बार भएका छन्। तर इतिहासले देखाएको तथ्य के हो भने नयाँपन स्वयं समाधान होइन, एजेन्डा, संगठन र गन्तव्य समाधान हुन्।
पोखरेलको तर्क यही बिन्दुमा केन्द्रित छ। उनका अनुसार, नीति, वैचारिक स्पष्टता र नेतृत्वको निरन्तर परिमार्जन बिना केवल “नयाँ” को पगरी गुथाएर विकल्प निर्माण हुँदैन। यो तर्क केवल नेपालका लागि होइन, विश्व राजनीतिक अनुभवसँग मेल खाने निष्कर्ष हो। अरब स्प्रिङदेखि बंगलादेश, श्रीलंका र केही अफ्रिकी मुलुकहरूमा “नयाँ” को नाममा उभ्याइएका आन्दोलनहरू अन्ततः राज्य अस्थिरता र सत्ता शून्यतामा परिणत भएका उदाहरणहरू पर्याप्त छन्।
पोखरेलले प्रयोग गरेको “नेपाललाई बंगलादेश जस्तै बनाउन खोज्नेहरू” भन्ने अभिव्यक्ति सामान्य आरोप होइन। बंगलादेशमा देखिएको पछिल्लो राजनीतिक अस्थिरता, राज्यसंस्थामाथि भएको अविश्वास र सामाजिक विभाजनको जरा संगठित राजनीतिक दल कमजोर पार्ने रणनीतिसँग गाँसिएको छ। यही मोडल नेपालमा पनि लागू गर्ने प्रयास भइरहेको भन्ने आशंका एमाले नेतृत्वको विश्लेषण हो।
यो रणनीतिमा पुराना दलहरूलाई “अप्रासंगिक”, “भ्रष्ट”, “अक्षम” भनेर निरन्तर बदनाम गरिन्छ र त्यसको विकल्पमा वैचारिक रूपमा अस्पष्ट तर भावनात्मक रूपमा आकर्षक पात्रहरूलाई उभ्याइन्छ। यस प्रक्रियामा लोकतन्त्र होइन, अस्थिरता निर्यात हुन्छ।
राजनीतिक सिद्धान्तमा कुनै पनि पार्टी “पुरानो” हुँदैन, जबसम्म उसले आफूलाई समयअनुकूल रूपान्तरण गर्न सक्छ। यूरोपका सामाजिक–लोकतान्त्रिक पार्टीहरू, चीनको कम्युनिस्ट पार्टी, भारतको कांग्रेस वा भाजपा यी सबै फरक वैचारिक धरातलमा उभिएका भए पनि एउटै साझा विशेषता छ: निरन्तर आत्म–परिमार्जन।
पोखरेलको दाबी अनुसार नेकपा एमाले यही प्रक्रियामा छ। नीति, नेतृत्व र संगठनात्मक ढाँचामा निरन्तर अद्यावधिक गर्दै आएको एमाले आफूलाई केवल इतिहासको पार्टी होइन, भविष्यको नेतृत्वकर्ता पार्टीका रूपमा प्रस्तुत गर्न खोजिरहेको छ। यही “जीवन्तता” नै एमालेप्रति आक्रमणको कारण बनेको उनको विश्लेषण छ।
रवि लामिछाने, वालेन शाह, हर्क साम्पाङ वा कुलमान घिसिङ यी सबै पात्रहरूलाई “नयाँ” को रूपमा प्रस्तुत गरिएको छ। तर पोखरेलको प्रश्न गहिरो छ: के यी वास्तवमै अप्रयुक्त, अपरीक्षित र वैकल्पिक शक्ति हुन् ?
राज्य, मिडिया, प्रशासन वा स्थानीय शासनमा यी पात्रहरू कुनै न कुनै रूपमा परिक्षण भइसकेका छन्। त्यसैले उनीहरूलाई “नयाँ राजनीति” को प्रतीक बनाउनु वास्तविकताभन्दा बढी कथ्य (narrative) निर्माण हो। अन्तर्राष्ट्रिय राजनीतिमा यस्ता कथ्यहरू प्रायः सत्ता संरचनामाथि अविश्वास सिर्जना गर्न प्रयोग गरिन्छ।
जेन्जी (Gen Z) लाई संगठित राजनीतिक शक्ति ठान्नु, पोखरेलका अनुसार, एक ठूलो भ्रम हो। Gen Z कुनै पार्टी, संगठन वा वैचारिक आन्दोलन होइन यो केवल उमेर समूह हो, जुन सूचना र प्रविधिसँग हुर्किएको छ। यही समूहलाई जननिर्वाचित सत्ताविरुद्ध प्रयोग गर्न सकिन्छ भन्ने सोच पश्चिमी पूँजीवादी र साम्राज्यवादी रणनीतिको हिस्सा भएको उनको आरोप छ।
डिप–स्टेट, कलर रिभोलुसन, एण्टी–एस्टाब्लिसमेन्ट आन्दोलन यी सबै अवधारणाहरू लोकतान्त्रिक देखिए पनि अन्ततः जननिर्वाचित नेतृत्वलाई कमजोर पार्ने औजार बन्ने अन्तर्राष्ट्रिय अनुभव छ। नेपालमा पनि Gen Z आन्दोलनको नाममा यस्तै प्रयोगको प्रयास भएको एमालेको बुझाइ छ।
पोखरेलको तर्कको सबैभन्दा महत्वपूर्ण पक्ष यही हो नेपाली युवाहरूले छोटो समयमै उक्त षडयन्त्र बुझ्न थालेका छन्। भाद्र २३ को प्रदर्शनपछि देखिएको राजनीतिक पुनःसंवाद, विशेषतः एमाले नेतृत्वसँग Gen Z अभियानकर्ताहरूको संवाद, यो परिवर्तनको संकेत हो।
युवाहरूले देशविरुद्ध भइरहेका बहुआयामिक षडयन्त्र बुझ्दै जाँदा, उनीहरू स्थायित्व, अनुभव र वैचारिक स्पष्टता भएका शक्तितर्फ आकर्षित हुँदै गएको एमालेको निष्कर्ष छ। यही कारण, चौतर्फी घेराबन्दीका बाबजुद पनि एमाले युवा माँझ लोकप्रिय रहन सफल भएको दाबी गरिन्छ।
अन्ततः पोखरेलको निष्कर्ष स्पष्ट छ पुरानाका विरुद्ध नयाँलाई जसरी पनि मिलाउने प्रयास अब सान्दर्भिक छैन। किनकि राजनीतिक विकल्प गणितीय गठजोडबाट होइन, वैचारिक स्पष्टता, संगठनात्मक क्षमता र राष्ट्रिय दृष्टिकोणबाट जन्मिन्छ।
नेपालको सन्दर्भमा, राज्यलाई अस्थिर बनाउने प्रयोगहरूभन्दा अनुभवी, परिमार्जित र जनतामा जरा गाडेको शक्ति नै अपरिहार्य ठहरिँदै गएको उनको विश्लेषण छ।
शंकर पोखरेलको भनाइ केवल एमालेको पक्षपोषण होइन, यो समकालीन विश्व राजनीतिमा देखिएको राज्य–विघटनकारी ट्रेन्ड विरुद्धको वैचारिक प्रतिवाद हो। “नयाँ” र “पुरानो” को सतही बहसभन्दा माथि उठेर राजनीति बुझ्न नसक्दा राष्ट्रहरू अस्थिरताको प्रयोगशाला बन्छन्। नेपाली राजनीतिमा अहिले देखिएको बहस यही चौराहामा उभिएको छ एजेन्डा र गन्तव्य रोज्ने कि भ्रम र कथ्य पछ्याउने ? यही प्रश्नको उत्तरले नेपालको राजनीतिक भविष्य तय गर्नेछ।





