यूएईमाथि नेपालको सहज जित : करणको घातक बलिङ, दीपेन्द्रको अर्धशतक, विश्वकप लिग–२ मा महत्त्वपूर्ण सफलता

कीर्तिपुर — आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत शनिबार भएको खेलमा नेपालले यूएईलाई ३७ रनले पराजित गर्दै महत्त्वपूर्ण जित हासिल गरेको छ।
त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ४८ ओभर २ बलमा सबै विकेट गुमाउँदै २०० रनको योगफल तयार गर्यो। नेपालको सुरुआत कमजोर रहँदा आसिफ शेख सात र कप्तान रोहित पौडेल केवल दुई रनमै पवेलियन फर्किए। तर, दीपेन्द्रसिंह ऐरीले उत्कृष्ट पारी खेल्दै टोलीलाई सम्मानजनक स्कोरसम्म पुर्याए। उनले ९० बलमा पाँच चौका र दुई छक्कासहित सर्वाधिक ७५ रन बनाए। कुशल भुर्तेलले २४, करण केसीले २२, बसिर अहमदले २०, आरिफ शेख र सोमपाल कामीले समान १५ तथा भीम सार्कीले १० रनको योगदान दिए। यूएईका जुनैद सिद्दिकी, अजय कुमार र खुजैमा तनवीरले समान तीन विकेट लिए।
२०१ रनको लक्ष्य पछ्याएको यूएई ४८ ओभर २ बलमा १६३ रनमा समेटियो। नेपालका करण केसीले सर्वाधिक चार विकेट लिँदै यूएईको ब्याटिङ क्रम ध्वस्त पारे। सन्दीप लामिछाने र सोमपाल कामीले समान दुई तथा दीपेन्द्रसिंह ऐरी र ललित राजवंशीले समान एक विकेट लिए। यूएईका हरप्रित सिंहले ५२ बलमा पाँच चौकासहित ३९, मुहम्मद वसिमले ३४ र अक्षदीप नाथले ३० रन जोडे पनि टोलीलाई जितसम्म पुर्याउन सकेनन्। दीपेन्द्रसिंह ऐरी प्लेयर अफ द म्याच घोषित भए।





