२० चैत्र २०८२, शुक्रबार

एसियाड र विश्व च्याम्पियनसिपको लागि नेपाली क्लाम्बिङ टोली चीन जाँदै

काठमाडौं । जापानमा हुने २०औं एसियाली खेलकुदको छनोट प्रतियोगिता तथा विश्व च्याम्पियनसिपमा सहभागी हुन नेपाली क्लाम्बिङ (भित्ता चढाइ) टोली आइतबार चीन प्रस्थान गर्ने भएको छ। नेपाल क्लाम्बिङ स्पोर्ट एसोसिएसनले आइतबार टोलीलाई बिदाइ गर्दै प्रतियोगितामा सहभागिताको पुष्टि गरेको हो।

दुवै प्रतियोगितामा पुरुषतर्फ तेन्जिङ बर्टिन राई र रोनक उप्रेती तथा महिलातर्फ स्वस्तिका चौधरीले नेपालको तर्फबाट चुनौती पेश गर्ने छन्। यी खेलाडीले नेपालको क्लाम्बिङ क्षेत्रमा देखाएको प्रतिभा र मेहनतलाई अन्तर्राष्ट्रिय मञ्चमा प्रस्तुत गर्ने अवसर पाएका छन्।

एसियाली क्लाइम्बिङ च्याम्पियनसिप चीनको मिसानमा अप्रिल ८ देखि १२ सम्म हुनेछ। यस प्रतियोगितामा नेपालले बाउल्डर र लिड (रस्सी सहितको चढाइ) स्पर्धामा भाग लिनेछ। एसियाली खेलकुद (एसियाड) को लागि स्थान निश्चित गर्न खेलाडीहरू शीर्ष १६ स्थानमा पर्नुपर्ने एसोसिएसनका महासचिव सन्तोष माडेनले जानकारी दिए। उनका अनुसार यो नेपाली क्लाम्बिङका लागि ठूलो चुनौती र अवसर दुवै हो।

त्यस्तै, विश्व क्लाम्बिङ सिरिज मे १ देखि ३ सम्म चीनको केकियाओमा आयोजना हुनेछ। यस प्रतियोगितामा भने बाउल्डर विधा मात्र समावेश रहेको छ। नेपाली खेलाडीले यो प्रतियोगितामा पनि आफ्नो क्षमता प्रदर्शन गर्ने अवसर पाउनेछन्।

नेपाली क्लाम्बिङ टोलीको यो यात्राले नेपालमा बढ्दो रूपमा विकसित हुँदै गरेको यस खेललाई अन्तर्राष्ट्रिय मान्यता दिलाउन मद्दत पुग्ने आशा गरिएको छ। खेलाडीहरूले यी प्रतियोगितामा राम्रो प्रदर्शन गरेर नेपालको लागि एसियाडको टिकट कटाउन सकून् भन्ने सम्पूर्ण राष्ट्रिय खेलप्रेमीको शुभकामना रहेको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button