२२ चैत्र २०८२, आईतवार

प्रमुख सचेतकको चाबी कसको हातमा ? रास्वपामा सत्ता समीकरणपछिको नयाँ शक्ति सन्तुलन

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्र प्रमुख सचेतक चयनको विषय अहिले राजनीतिक वृत्तमा चासोका साथ हेरिएको छ। पछिल्लो शक्ति समीकरण अनुसार रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाह प्रधानमन्त्रीमा निर्वाचित भइसकेका छन् भने उपसभापति डीपी अर्याल सभामुखको भूमिकामा छन्। अर्का उपसभापति डा. स्वर्णिम वाग्ले अर्थमन्त्रीको जिम्मेवारी सम्हालिरहेका छन्, जसले पार्टीको शीर्ष तहमा नयाँ सन्तुलन सिर्जना गरेको देखिन्छ। अब पार्टीको चौथो महत्वपूर्ण पद प्रमुख सचेतकको चयनले रास्वपाको भावी मार्गचित्र र आन्तरिक शक्ति सन्तुलनको दिशा तय गर्ने विश्लेषण गरिएको छ।

पार्टी संरचनाभित्र त्यसपछिको मर्यादामा महामन्त्री कविन्द्र बुर्लाकोटी, सहमहामन्त्री विपिन कुमार आचार्य, सचिवालय सदस्य विराजभक्त श्रेष्ठ तथा कोषाध्यक्ष निलिमा अधिकारी रहेका छन्। राजनीतिक विश्लेषकहरूका अनुसार प्रमुख सचेतक चयन यिनै नेताहरूको घेराभित्रबाट हुने सम्भावना बढी देखिएको छ। यसैबीच, सोविता गौतम, सुदन गुरूङ र शिशिर खनाल जस्ता नेताहरू मन्त्री पदमा पुगिसकेका छन्, जसका कारण उनीहरू प्रमुख सचेतकको दौडबाट बाहिरिएका छन्। अर्कोतर्फ, तोसिमा कार्की, रमेश प्रसाई र मनिष झा जस्ता नेताहरू भने पार्टीको वरियतामा केही पछाडि देखिन्छन्, जसले उनीहरूको सम्भावना कमजोर बनाएको विश्लेषण भइरहेको छ।

प्रमुख सचेतकको चर्चा चल्दा तीन वा चारजना नेताका नाम केन्द्रविन्दुमा आएका छन्। महामन्त्री कविन्द्र बुर्लाकोटी पार्टीको संगठन र अनुशासनको प्रश्नमा महत्वपूर्ण मानिन्छन्, उनी पदको मर्यादा र अनुभवका दृष्टिले अग्रपङ्क्तिमा देखिन्छन्। सहमहामन्त्री विपिन कुमार आचार्यले पार्टीभित्र आफूलाई मिलनसार र सबैसँग समन्वय गर्न सक्ने नेताका रूपमा स्थापित गरेका छन्, जसले उनलाई प्रमुख सचेतकको लागि सबल दाबेदार बनाएको छ। सचिवालय सदस्य विराजभक्त श्रेष्ठको समेत नाम चर्चामा आएको छ, तर विश्लेषकहरूले प्रमुख सचेतकको लागि सबैभन्दा बलियो दौड सहमहामन्त्री आचार्य र महामन्त्री बुर्लाकोटीबीच हुने आँकलन गरेका छन्। कोषाध्यक्ष निलिमा अधिकारीलाई पनि प्रमुख सचेतकको लागि उत्तिकै दाबीदार मानिन्छ। उनी महिला नेताका रूपमा रास्वपाको महिला उपस्थितिलाई अझ मजबुत बनाउन चाहन्छिन्, तर शीर्ष नेतृत्वको मिलिभगतले उनको मार्ग सहज छैन।

रास्वपाको प्रमुख सचेतक पद केवल संसदीय व्यवस्थापनको जिम्मेवारी मात्र नभई पार्टीभित्रको शक्ति सन्तुलनको सूचक पनि मानिन्छ। त्यसैले यो चयनमा पार्टी सभापति रवि लामिछानेको प्रभाव कति रहने हो भन्ने विषय महत्वपूर्ण बनेको छ। अर्कोतर्फ, प्रधानमन्त्री बनेका बालेन्द्र शाहको भूमिका पनि उत्तिकै निर्णायक हुन सक्ने आकलन गरिएको छ। सभापति रवि लामिछानेले बालेन्द्र शाह र स्वर्णिम वाग्लेलाई माथिल्लो पदमा पुर्याएर पार्टीमा आफ्नो पहुँच स्थापित गर्न खोजेका छन्। तर प्रमुख सचेतकजस्तो मध्यवर्ती पदमा उनी कसलाई राख्छन्, त्यसले रास्वपाको भविष्यको दिशा नै निर्धारण गर्नेछ। यदि रविले आफ्नो निकटतम् नेतालाई राखेमा पार्टीभित्रको शक्ति उनकै केन्द्रविन्दुमा रहनेछ, तर बालेन्द्र–स्वर्णिम समूहले त्यसको विरोध गर्न सक्छ। अर्कोतर्फ, यदि बालेन–स्वर्णिम गठबन्धनले आफ्नो मान्छे राख्न सफल भए, प्रधानमन्त्रीको प्रभाव पार्टीभित्र झनै बलियो बन्नेछ। विश्लेषकहरूका अनुसार यो नियुक्तिलाई रविले ‘सन्तुलनको समीकरण’ बनाएर आफूले दुवै पक्षलाई सन्तुष्ट गर्ने गरी कसैलाई मध्यमार्गी नेताको रूपमा ल्याउन सक्छन्, ताकि पार्टीमा विवाद नआओस्। अन्ततः प्रमुख सचेतकको नियुक्तिले रास्वपाको नेतृत्वको वास्तविक चरित्र – चाहे त्यो रवि केन्द्रित बनेर जान्छ कि सामूहिक रूपमा अगाडि बढ्न खोज्छ – प्रष्ट हुनेछ। पार्टीभित्रको आन्तरिक सहमति, नेतृत्वबीचको समन्वय र भविष्यको रणनीतिक दिशा हेर्दै प्रमुख सचेतक चयन हुने अपेक्षा गरिएको छ। अब यो निर्णयले रास्वपाको आगामी राजनीतिक मार्गचित्र र आन्तरिक शक्ति सन्तुलन कता मोडिन्छ भन्ने स्पष्ट संकेत दिने निश्चित छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button