११ बैशाख २०८३, शुक्रबार

सर्पले काँचुली फेरेझैं ओलीकै खेमाबाट पश्चिमा एजेन्टहरूको असली अनुहार देखियो

देश विरोधी शक्तिसँग मिलेर ओली हटाउने षड्यन्त्र सतहमा

काठमाडौं। राजनीतिमा मित्र र शत्रुको रेखा धमिलो हुँदै जाँदा, एक्कासी आफ्नै भन्नेले छातीमा छुरा हानिदिने गर्छन्। नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली यतिबेला हिरासतको चिसो पर्खालभित्र छन्। तर, उनी भित्र रहुञ्जेल बाहिर उनकै खेमाका तथाकथित ‘भक्त’ हरूले ओलीलाई सम्मानजनक बिदाइ दिने कसरतमा जुटिसकेको छ। यो केवल पार्टीभित्रको सत्ता संघर्ष मात्र होइन। यो एउटा यस्तो षड्यन्त्रको जालो हो, जसमा पश्चिमा शक्ति र देश विरोधी तत्वहरूले ओलीलाई कमजोर पारेर शासकीय व्यवस्था नै उल्टाउने योजना बुनिरहेका छन्। ओली कमजोर हुने बित्तिकै, वर्षौंदेखि ओलीभक्त बनेर बसेका पश्चिमा एजेन्टहरूले सर्पले काँचुली फेरे झैं आफ्नो असली अनुहार देखाउन थालेका छन्।

पछिल्लो समय एमाले सचिवालय बैठकमा ओलीको बिदाइबारे पहिलो पटक खुलेरै छलफल भएको छ। चैत २० गते बसेको सचिवालय बैठकमा उपाध्यक्ष विष्णु पौडेलले ‘अब ओलीको नेतृत्वबाट एमाले अघि बढ्न नसक्ने’ धारणा राखे। उनले यो धारणा राख्दै गर्दा महासचिव शंकर पोखरेलले पनि नेतृत्वको बारेमा छलफल गर्न सकिने भन्दै लचकता अपनाए। यो त्यही शंकर पोखरेल हुन्, जो वर्षौंदेखि ओलीको काखमा चप्किएर बसेका थिए। ओली पक्राउ परेपछि उनी सीधै अस्पताल पुगे र भने, ‘नेता कार्यकर्ताको भावना बमोजिम नेतृत्व हस्तान्तरण गर्दा उपयुक्त हुन्छ।’ अर्थात, ओलीले राजीनामा दिऊन्। यो एउटा संकेत थियो। पश्चिमासँग गुप्त सम्बन्ध राख्ने ती तथाकथित ‘उदारवादी’ नेताहरूले अब आफ्नो असली रंग देखाउन थालेका छन्।

यो संयोग मात्र होइन। ओली प्रहरी हिरासतमा परे लगत्तै पश्चिमा मुलुकका कूटनीतिक नियोगहरूले नेपालको ‘प्रजातन्त्र र मानव अधिकार’ को नाममा चासो देखाउन थाले। उनीहरूले ओली पक्षविरुद्ध मोर्चा खोले। तर, गहिराइमा के छ भने ओलीजस्तो स्पष्टवक्ता, राष्ट्रवादी नेता जो चीनसँगको सम्बन्धलाई प्राथमिकता दिन्छन्, उनीहरू पश्चिमाका लागि काँडा झैं छन्। ओलीले भारतसँगको लिपुलेक, कालापानी विवादमा कठोर राष्ट्रिय धारणा राखे, लिम्पियाधुरालाई नेपालकै अभिन्न अंग घोषणा गरे, र नेपालको राष्ट्रिय स्वार्थलाई सर्वोपरि राखे। त्यसैले पश्चिमा शक्तिहरूले ओलीको पतनको खाका बुनिरहेका छन्। उनीहरूका एजेन्टहरू एमालेभित्रै घुलेका छन्।

त्यस्तै एउटा नाम हो, भानुभक्त ढकाल। ओम्नी काण्डका बदनाम पात्र ढकाल नै एक्ला यस्ता नेता हुन्, जसले सचिवालय बैठकमा ‘हिरासतमा भएको बेला नेतृत्वको विषयमा छलफल गर्नु हुँदैन’ भन्दै ओलीको बचाउ गरे। तर, ढकालको भूमिका पनि त्यति सरल छैन। स्रोतका अनुसार, बैठकपछि ढकालले अस्पतालमा ओलीलाई भेटेर सचिवालयमा बहुमत जुटाएर ओलीलाई पदबाट हटाउने तयारी भइरहेको संदेश दिए। यसरी हेर्दा ओलीको पक्षमा उभिएजस्तो देखिने ढकालको आफ्नै स्वार्थको जालो बुनेको देखिन्छ।

तर, मुख्य खेलाडी भनेका पाण्डे, पोखरेल, पौडेल, भट्टराई जस्ता अनुहार हुन्। यी अनुहारहरूले अहिले ‘विशेष महाधिवेशन’, ‘हस्ताक्षर अभियान’, ‘बुद्धिजीवी परिषदले ४ लाख हस्ताक्षर गराउने योजना’ जस्ता कुरा गरिरहेका छन्। उनीहरूले ओलीलाई ‘रिथिङ्क’ (पुनर्विचार) को समय आएको बताइरहेका छन्। यो शब्दावली नै पश्चिमा विचारधाराको उपज हो। उनीहरूले एउटा कुरा बुझ्दैनन् पार्टीभित्रको आन्तरिक लोकतन्त्रको नाममा पश्चिमाले थोपरेको ‘रंगीनक्रान्ति’ को मोडेल लागू गर्न खोज्दा पार्टीको जग नै हल्लिन्छ। उनीहरू ओलीलाई हटाएर आफू सत्तामा पुग्ने चक्करमा छन्, तर उनीहरूको असली अनुहार पश्चिमी एजेन्टको छापसहितको छ।

केही समयअघि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने पक्राउ परेको विषयलाई पनि ओलीविरुद्ध प्रयोग गरियो। पश्चिमा मिडिया र उनीहरूको स्थानीय नेटवर्कले लामिछाने पक्राउलाई ‘राजनीतिक बन्दी’ बनाउने कोशिश गरे। तर, ओलीले यसबारे स्पष्ट धारणा राखेका थिए ‘कानुनबमोजिम जोसुकै कारबाहीमा पर्न सक्छन्।’ यही कानुनी राज्यको पक्षमा बोल्ने ओलीलाई उनीहरू माफ गर्न सक्दैनन्।

ओलीलाई हटाउने कित्तामा शंकर पोखरेल देखिएपछि, एमालेभित्र अहिले दुई ध्रुवीकरण स्पष्ट भएको छ। एकातिर ओलीलाई बचाउँदै पार्टीको एकता कायम राख्न चाहने तत्व छन्, अर्कातिर पश्चिमी एजेन्टको भूमिका खेल्दै ओलीलाई राजीनामा दिन दबाब दिने पोखरेल–पौडेल समूह। उनीहरूले अहिले ‘सम्मानजनक बिदाइ’ को नाममा ओलीलाई सत्ताच्युत गर्ने जालो बुनेका छन्। तर, ओलीजस्तो कठोर नेतालाई बिदाइको नाममा हटाउन खोज्नु उनीहरूको ठूलो भूल हुनेछ।

प्रश्न उठ्छ, के वर्षौंदेखि ओलीको सुगम मार्गनिर्देशनमा हिँडेकाहरू आज ओलीकै कमजोरीको फाइदा उठाउँदै सर्पको काँचुलीझैं आफ्नो असली अनुहार देखाउँदै छन्? के यो नै पश्चिमा शक्तिको सोचेको ‘नेपाली मोडल’ हो? ओलीलाई हटाउने अभियानमा देश विरोधी तत्व र पश्चिमा शक्तिको हात छ कि छैन? ओली कमजोर हुँदै गर्दा किन उनकै निकटतम सहयोगीहरू एक्कासी विपक्षी बन्छन्? यी प्रश्नहरूको जवाफ दिनुपर्ने ओलीको भन्दा पनि ती ‘पश्चिमा एजेन्ट’ हरू हुन्, जो अहिले ‘लोकतन्त्र’ र ‘वैकल्पिक नेतृत्व’ को नाममा पदको सपना देखिरहेका छन्।

यी तथ्यहरूले स्पष्ट सन्देश दिन्छ कि ओली हिरासतमा रहुञ्जेलसम्म उनीविरुद्ध राजनीतिक षड्यन्त्र चर्किनेछ। तर, इतिहासले देखाएको छ ओली जति ठेलिन्छन्, त्यति नै बलियो हुँदै फर्कन्छन्। यो षड्यन्त्रको पर्दापछाडि को–को छन्, त्यो चाँडै सतहमा आउनेछ। तब मात्र थाहा हुनेछ सर्पले काँचुली फेरेर मात्र हुँदैन, त्यसको विष पनि आफैंलाई डस्न सक्छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button