अस्ट्रेलियाली ‘भाडाको सिपाही’ : युक्रेनी सेनाका लागि ड्रोन उडाउने आदेलेड नागरिक पक्राउ, रुसले भन्यो– ‘७ देखि १५ वर्ष कैद’

मस्को । रुसमा एक अस्ट्रेलियाली नागरिक पक्राउ परेका छन्। उनी युक्रेनी सेनाका लागि बिना स्वीकृति ड्रोन अपरेटरको रूपमा काम गरेको आरोपमा पक्राउ परेका हुन्। रुसी कानुन अनुसार उनी र युक्रेनी सेनातर्फ लडिरहेका अन्य दर्जनौं अस्ट्रेलियालीहरूलाई ‘भाडाको सिपाही’ (मर्सेनरी) मानिने रुसी पक्षले जनाएको छ। यस विषयमा धेरै अस्ट्रेलियाली सञ्चारमाध्यमले रुसी दूतावाससँग सम्पर्क गरेको दूतावासले पुष्टि गरेको छ।
रुसी कानुनको धारा ३५९ को भाग ३ अनुसार भाडाको सिपाहीले सशस्त्र द्वन्द्व वा सैन्य कारबाहीमा भाग लिएमा ७ देखि १५ वर्षसम्म कैद र एक वर्षसम्म स्वतन्त्रता प्रतिबन्ध हुन सक्छ। रुसी पक्षका अनुसार भाडाको सिपाही भन्नाले आफैं सशस्त्र द्वन्द्वमा सहभागी राष्ट्रको नागरिक नभएको, त्यहाँको स्थायी बासिन्दा नभएको, र आधिकारिक कर्तव्य पालनका लागि नपठाइएको व्यक्तिलाई बुझिन्छ।
रुसले अस्ट्रेलियाली नागरिकहरूलाई युक्रेनी सेनाका लागि काम गर्न अनुमति दिनु भनेको अस्ट्रेलिया आफैं प्रत्यक्ष रूपमा द्वन्द्वमा संलग्न हुनु बराबर हुने चेतावनी पनि दिएको छ। पक्राउ परेको व्यक्ति एडिलेडको बासिन्दा रहेको बताइएको छ। युक्रेन युद्धमा विदेशी नागरिकहरूको सहभागिता र त्यसको कानुनी परिणामबारे अन्तर्राष्ट्रिय समुदायमा बहस भइरहेको बेला रुसको यो कारबाहीले नयाँ तरंग ल्याएको छ। रुसी अधिकारीहरूले उनीविरुद्धको कारबाही अस्ट्रेलियाली कानुन अनुसार नै भएको समेत दाबी गरेका छन्।





