नेपालको भविष्य कस्तो बनाउने नेपालीको हातमा छ

# लक्की चन्द 

नेपालको राजनीतिमा एउटा पुरानो उखान छ, ‘नेता परिवर्तन हुन्छ, प्रश्न उस्तै रहन्छन्।’ तर, के प्रश्नहरू साँच्चै उस्तै रहन्छन्? वा प्रश्न गर्ने शैली र परिवेश मात्र फेरिन्छ? भर्खरै सामाजिक सञ्जालकाे एउटा लामो पोष्टले तरंग ल्याएको छ, जसले एउटा प्रमुख राजनीतिक व्यक्तित्व बालेन साहसँग जोडिएका अनुत्तरित प्रश्नहरूको पोको पस्किएको छ। यी प्रश्नहरू कुनै व्यक्तिगत आग्रह वा पूर्वाग्रहबाट उपज नभई नेपाली राजनीतिमा देखिएको एउटा खतरनाक प्रवृत्तितिर औंला ठड्याउने प्रयास हाे।

पहिलो प्रश्न छ, एउटै नेतासँगको सम्बन्धको बालेनकाे द्वैध चरित्रबारे। कहिले बालकोट पुगेर एमाले अध्यक्ष केपी शर्मा ओलीबाट तबला उपहार लिने, अनि अर्कोतिर उनै नेतासहित अन्य उम्मेदवारहरूसँगको सार्वजनिक प्रश्नोत्तर कार्यक्रममा सहभागी हुन आनाकानी गर्ने। आफूले अरूलाई प्रश्न सोध्ने तर आफूचाहिँ खाली कुर्सी छोडेर किन पन्छिने? के नेतृत्वको परिभाषा नै यही हो, अरूलाई जवाफदेही बनाउने तर आफू जवाफदेहिताको घेराभन्दा बाहिर रहने?

दोस्रो प्रश्न पार्टीप्रतिको निष्ठासँग जोडिएको छ। जुन पार्टीको सहारामा प्रधानमन्त्री बन्ने रहर पालिएको हो, त्यही पार्टीको लोगोप्रति किन यति धेरै अनुदारता? कार्यकर्ताले श्रद्धापूर्वक लगाइदिएको माला बाटोमा किन फाल्ने? पार्टीभित्रै बसेर पार्टीविरुद्धको मानसिकता पाल्नुको तुक के? यसले स्पष्ट संकेत गर्छ– न त त्यो पार्टी रास्वपाप्रति समर्पण छ, न त त्यसको विचारप्रति आस्था। केवल सत्ताको सिँढी चढ्नका लागि मात्र पार्टीलाई माध्यम बनाइएको हो?

तेस्रो प्रश्न पार्टी कार्यकर्तासँग बालेनको दूरीबारे छ। स्थापनाकालदेखि नै राष्ट्रिय स्वतन्त्र पार्टीमा लागेका कार्यकर्तासँग किन भेटघाट बन्द? किन छुट्टै सम्पर्क कार्यालय सञ्चालन? जनताको घरदैलोमा पुग्ने अभियान चलाउने नेताले आफ्नै पार्टीका कार्यकर्तासँग कुरा गर्न किन समय निकाल्न सक्दैनन्? यसले पार्टीभित्रको आन्तरिक लोकतन्त्रमाथि नै प्रश्न चिन्ह खडा गरेको छ।

चौथो प्रश्न अति संवेदनशील छ। चुनाव प्रचारका क्रममा सुदूरपश्चिम हिँडेका एक पत्रकार अचानक ढले, सेनाको हेलिकप्टरबाट उद्धार गरेर काठमाडौं ल्याइयो, र दुई दिनपछि उनको अन्त्येष्टि गरियो। तर, यहाँ एउटा गम्भीर प्रश्न उठ्छ– प्रहरीले पोस्टमार्टम अनिवार्य भएको भनेर दबाब नदिएको भए के शवलाई बिना पोस्टमार्टम जलाइने थियो? मृत्युको कारण के थियो? यति आकस्मिक रूपमा ढलेका पत्रकारको उपचार प्रक्रिया के थियो? यी प्रश्नहरूको जवाफ आजसम्म सार्वजनिक भएको छैन। एउटा मानिसको जीवनको अन्त्य यति सामान्य घटना मात्र हो?

पाँचौं प्रश्न भन्सार छली र करोडौंको गाडी काण्डसँग बालेन जोडिएको सम्बन्धमा छ। वीरगन्ज भन्सारमा कर्मचारीहरूले कारबाही भोगिरहँदा, राजश्व छली गरेर गाडी आयात गर्ने मालपानी व्यवसायीसँगको सम्बन्धबारे किन मौनता? के कर छली गर्ने व्यवसायी र बालेनबीचको सम्बन्ध केवल संयोग मात्र हो? यदि कर्मचारीहरूले कारबाही भोग्नुपरेको छ भने, यो सम्पूर्ण शृङ्खलाको सूत्रधार को हो?

छैटौं प्रश्न अझ गम्भीर छ। गुट्खालाई पूर्ण प्रतिबन्ध लगाएर अप्ठ्यारो पारेपछि, त्यही व्यवसायीसँग किन ८ करोडको डिफेन्डर गाडी उपहार लिने? दरबारमार्गमा बिछ्याउन किन ५ करोड १५ लाखको ग्रेनाइट किन्ने? के यो सामान्य व्यावसायिक सम्बन्ध मात्र हो, वा राजनीति र व्यापारबीचको अनावश्यक तालमेल? नेपाली जनताले आफ्नो जीवनयापनका लागि संघर्ष गरिरहँदा, यी विलासिताका सामग्रीहरू कहाँबाट आए?

सातौं प्रश्न मध्यस्थकर्ताको भूमिकासँग सम्बन्धित छ। यी सबै प्रकरणमा मध्यस्थता गर्ने एक व्यक्तिलाई महानगरको ३२ लाख बेरुजु फुकुवा गरेर ब्राजिल र फ्रान्सको भ्रमण गराइयो, र अहिले उनै व्यवसायीको व्यापारिक केन्द्र रुपन्देही-१ मा उम्मेदवार बनाइएको छ। यसले के संकेत गर्छ? राजनीति र व्यापारबीचको सम्बन्ध कति घनिष्ट र शंकास्पद देखिएको छ?

बालेनतिर साेझिएका यी सबै प्रश्नहरू गहिरिएर हेर्दा एउटै निष्कर्षमा पुगिन्छ, नेतृत्वमा पुग्नका लागि बालेनले के कस्ता अराजनीतिक, गैरकानुनी र शंकास्पद माध्यम प्रयोग गरिरहेका रहेछन्। यसले नेतृत्वमा बस्ने व्यक्तिहरूप्रति जनताको विश्वास घट्दै गएको छ। जनताले चाहेका छन्– पारदर्शिता, जवाफदेहिता र सुशासन। तर, पटक-पटक देखिएका यी घटनाक्रमले जनताको आस्थामाथि नै प्रहार भएको छ।

अर्कोतिर, झापाको सन्दर्भमा एउटा फरक बहस पनि चलिरहेको छ। झापालाई कच्चा पदार्थ प्रशोधन गर्ने औद्योगिक हब बनाउने पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीकाे योजना छ। व्यापारिक केन्द्रको रूपमा विकास गर्ने सोच छ। कृषि क्षेत्रको विकास गरेर उत्पादन क्षेत्र बनाउने सपना देखिएको छ। यी योजनाहरू झापाको माटोसुहाउँदा छन्। विगतदेखि नै केपी ओलीले इमानदार प्रयास र पहल गर्दै आउनु भएको छ। तर, प्रश्न उठ्छ– यी योजनाले पूर्णता पाउँछन् कि पाउँदैनन्? यसका लागि स्थानीय जनताको भूमिका के हुनेछ?

यसको विपरीत, हिजो मात्र झापालाई चिनाउने भ्यु टावर खरानी बनाउने, मान्छे बनाउने भन्दा भत्काउने र जनतालाई लखेट्ने छवि बनाएका बालेन जस्ता व्यक्तिहरू पनि छन्। जो झापाका नेता पनि होइनन्, तर झापाको भविष्य निर्धारण गर्न आइपुग्छन्। यस्ता पर्यटक नेताहरूलाई झापालीले किन भोट दिने? यिनको वास्तविक रुप र उद्देश्य के हो ? बुझ्नु पर्दैन?

नेपालको राजनीति एउटा चौबाटोमा उभिएको छ। एउटा बाटो जान्छ– पारदर्शिता र सुशासनतिर। अर्को बाटो जान्छ– अस्पष्टता र बेरुजुतिर। तेस्रो बाटो जान्छ– विकास र समृद्धितिर। चौथो बाटो जान्छ– विनाश र अन्योलतिर।

जनताले के रोज्ने? यो प्रश्न अब प्रत्येक मतदाताले आफैंसँग सोध्नुपर्छ। किनकि, झापाको विकास कि विनाश रोज्ने मताधिकार झापावासीको हातमा छ। नेपालको भविष्य कस्तो बनाउने भन्ने अधिकार प्रत्येक नेपाली नागरिकको हातमा छ।

यी प्रश्नहरूको जवाफ केवल एक व्यक्तिले दिने होइन, सम्पूर्ण राजनीतिक दल र नेतृत्वले दिनुपर्छ। जबसम्म यी प्रश्नहरू अनुत्तरित रहन्छन्, तबसम्म नेपालको राजनीति उही चक्रमा घुमिरहनेछ– प्रश्न उस्तै, जवाफ उस्तै, र निराशा उस्तै।

जनताका प्रश्नहरू सडकमा हराइरहेका छैनन्। ती प्रश्नहरू मतपत्रमा परिणत हुनेछन्। र, त्यो दिन नै नेपाली लोकतन्त्रको वास्तविक परीक्षा हुनेछ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button