११ बैशाख २०८३, शुक्रबार

रास्वपा सांसदको ‘भूत’ व्यंग्यपछि एमाले आक्रोशित, संसद रेकर्डबाट ‘तुच्छ’ अभिव्यक्ति हटाउन माग

काठमाडौं । प्रतिनिधिसभाको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदले पूर्वप्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीप्रति व्यंग्यात्मक रूपमा ‘भूत’ को संज्ञा दिएपछि संसद तातेको छ। सिंहदरबारस्थित सदनमा बुधबार भएको घोचपेच र आरोप–प्रत्यारोपको क्रममा रास्वपा सांसदको अभिव्यक्तिलाई लिएर एमालेले कडा आपत्ति जनाउँदै उक्त अभिव्यक्ति संसदको अभिलेखबाटै हटाउन माग गरेको छ।

बुधबारको बैठकमा विशेष समय लिएर बोल्दै रास्वपाका सांसद पुरुषोत्तम शुप्रभात यादवले जेनजी आन्दोलनको माग न्याय, समानता र अधिकार रहेको स्मरण गराए। उनले सरकारलाई घाइतेको रोजगारी र मृतक परिवारले न्याय कहिले पाउने भनी प्रश्न तेर्स्याउने क्रममा नेकपा एमालेका नेताहरूप्रति कटाक्ष गरेका थिए।

सांसद यादवले भनेका थिए, “सभामुख महोदय, जुन भुतले कमरेड केपी ओलीलाई छलेको थियो, त्यही भुतले आज कमरेड बादललाई पनि छलेको देखिन्छ।” उनले ‘बादल’ भनेर एमाले संसदीय दलका नेता तथा पूर्वगृहमन्त्री रामबहादुर थापा ‘बादल’ लाई लक्षित गरेका थिए। सांसद यादवले यस्तो ‘भूत’ झार्ने काम सरकारले गर्नुपर्ने बताउँदै थपे, “आज जुन अपराधी कारागारको ढोकाभित्र हुनुपर्ने थियो, त्यो हस्पिटलको बेडमा छ र त्यही बेडबाट कुविचार यो सम्मानित सदनसम्म पठाइरहेको छ।”

रास्वपा सांसदको यो अभिव्यक्तिले सदनमा उपस्थित एमाले सांसदहरू तत्काल आक्रोशित भएका थिए। त्यसलगत्तै बोल्ने पालो पाएकी नेकपा एमालेकी सांसद साजिदा खातुन सिद्धिकीले यसको कडा प्रतिवाद गरिन्।

सिद्धिकीले भनिन्, “एक माननीयले मेरो पार्टीका अध्यक्ष, पूर्वप्रधानमन्त्री सम्माननीय नेता केपी शर्मा ओलीप्रति गरेको तुच्छ व्यवहारप्रति घोर आपत्ति प्रकट गर्दछु। यो अभिव्यक्ति संसदको अभिलेखबाट हटाइयोस्।”

उनले पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई तत्काल रिहा गर्न पनि सरकारसँग माग गरिन्।

घोचपेचको पृष्ठभूमि
एमाले र रास्वपाबीच संसद्मा केही दिनदेखि जेनजी आन्दोलनकै विषयलाई लिएर शीतयुद्ध चलिरहेको छ। एमालेले हरेक दिनजसो सदनमा पार्टी अध्यक्ष ओली र पूर्वगृहमन्त्री लेखकलाई रिहा गर्न माग गर्दै आएको छ भने रास्वपाका सांसदहरू जेनजी आन्दोलनमा दमन गर्ने जोकोहीलाई कारबाही हुनुपर्ने अडानमा छन्। बुधबारको घटनाक्रमले यो विवाद झनै तिक्ततापूर्ण मोडमा पुगेको संकेत गर्छ।

यसअघि सभामुखको आसनबाट पटक–पटक मर्यादा पालनाको आग्रह गरिए पनि सांसदहरूबीचको यो कटुता रोकिएको छैन। अब सभामुखले रास्वपा सांसदको ‘भूत’ सम्बन्धी अभिव्यक्तिलाई रेकर्डमा राख्ने वा हटाउने भन्ने विषयले अर्को बैठकमा नयाँ बहसको ढोका खोल्ने देखिन्छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button