२७ चैत्र २०८२, शुक्रबार

त्रिवि मैदानमा रात्रिकालीन क्रिकेटको ऐतिहासिक शुरुआत, नेपाल-यूएईबीच फ्लडलाइटमा ‘एल क्लासिको’ भिडन्त

काठमाडौं । नेपाली क्रिकेट इतिहासमा नयाँ अध्याय थपिँदै त्रिवि क्रिकेट मैदानमा पहिलो पटक फ्लडलाइटमा अन्तर्राष्ट्रिय खेल आयोजना हुन लागेको छ। नेपाल र यूएईबीच आगामी अप्रिल २० र २१ तारिखमा हुने दुई टी-२०आई खेलहरू रात्रिकालीन समयमा खेलिने नेपाल क्रिकेट संघ (क्यान) ले पुष्टि गरेको छ।

क्यानले सामाजिक सञ्जालमा एक तस्वीर सार्वजनिक गर्दै भनेको छ, “फ्लडलाइटमा खेलिने पहिलो अन्तर्राष्ट्रिय खेलका लागि तयार रहनुस्।” दुवै खेल साँझ ५ बजेदेखि सुरु हुने कार्यक्रम रहेको छ।

नेपालमा रातको समयमा अन्तर्राष्ट्रिय क्रिकेट खेल आयोजना हुन लागेको यो नै पहिलो अवसर हो। यसअघि नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करण भने रात्रिकालीन समयमा नै सम्पन्न भएको थियो। अब भने अन्तर्राष्ट्रिय स्तरमै नेपाली मैदान रातमा झिलिमिली हुने भएको छ।

नेपाल र यूएईबीचको यो भिडन्तलाई एसोसिएट क्रिकेटको ‘एल क्लासिको’ का रूपमा समेत लिइन्छ। दुई टोलीबीच पछिल्लो पटक टी-२० विश्वकप छनोटमा प्रतिस्पर्धा भएको थियो। यी दुई खेल आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत नेपालमा हुने नेपाल, ओमान र यूएईबीचको त्रिकोणात्मक शृङ्खलाअघि अभ्यासका रूपमा समेत रहनेछन्।

यसैबीच, नेपालमा लिग २ को अर्को त्रिकोणात्मक शृङ्खला पनि आयोजना हुने भएको छ। आगामी मे १२ देखि २२ सम्म नेपाल, अमेरिका र स्कटल्यान्ड सम्मिलित शृङ्खला हुने कार्यक्रम रहेको क्यानले जनाएको छ।

यसका साथै, नेपालको ‘ए’ टोलीले पनि ओमान, स्कटल्यान्ड र अमेरिकाविरुद्ध ५० ओभरको खेलहरू खेल्ने तय भएको छ। यी सबै घटनाक्रमले नेपाली क्रिकेटले अन्तर्राष्ट्रिय स्तरमा नयाँ उचाइ हासिल गर्दै गएको सङ्केत गर्छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button