खजुरामा ‘प्रथम खजुरा गोल्डकप’ सुरु हुँदै : आठ टोलीको सहभागिता, विजेताले सात लाख पाउने

बाँके । बाँकेको खजुरा गाउँपालिका–४, डी गाउँमा सोमबारदेखि सुरु हुने ‘प्रथम खजुरा गोल्डकप’ को तयारी पूरा भएको छ। आयोजक न्यू डाँफे स्पोर्ट्स क्लबले आइतबार पत्रकार सम्मेलन गरी गोल्डकपको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ।
क्लबका अध्यक्ष बालाराम खत्रीले सोमबार दिउँसो मिनी रङ्गशालामा उद्घाटन खेल हुने जानकारी दिए। खत्रीले भने, “पहिलो पटक गोल्डकप आयोजना गर्दैछौं, सबैको साथ र सहयोग प्राप्त भएको छ। पहिलो पटक खेल अवलोकनका लागि टिकट राखेका छौं।” करिब ५० हजार दर्शकले प्रतियोगितामा खेल अवलोकन गर्ने आयोजकको अपेक्षा छ। गोर्खा ब्वाइज स्पोर्ट्स क्लब बुटवल र सङ्कटा स्पोर्ट्स क्लबबीच उद्घाटन खेल हुनेछ।
प्रतियोगितामा आयोजक न्यू डाँफे स्पोर्ट्स क्लबसहित, जेविएम फुटबल एकेडेमी लखनउ, काँक्रेविहार क्लब सुर्खेत, फोर ब्रदर्स एफसी नवलपरासी, एपीएफ काठमाडौं र नाइजेरियन जोन क्लब नाइजेरिया गरी आठ टोलीको सहभागिता रहेको छ। प्रतियोगिताको विजेतालाई सात लाख रुपैयाँ र द्वितीयलाई चार लाख रुपैयाँ नगद पुरस्कार प्रदान गरिनेछ। प्रतियोगिताको फाइनल खेल वैशाख ६ गते हुनेछ।
खजुरा गाउँपालिकाका अध्यक्ष डम्बर विकले गोल्डकपलाई आगामी वर्षदेखि बजेटमै राखेर निरन्तरता दिइने बताए। प्रतियोगितामा करिब ६० लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ। यो गोल्डकपले खजुरा क्षेत्रमा खेलकुद विकास र युवा प्रतिभा प्रस्फुटनमा महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ। स्थानीय खेलप्रेमीहरूमा यस प्रतियोगिताले ठूलो उत्साह पैदा गरेको छ।





