अमेरिकी–इजरायली आक्रमणमा इरानमा १३३२ नागरिकको मृत्यु, १८ बालिका एथ्लीटसमेत मारिए

संयुक्त राष्ट्र संघ — अमेरिका र इजरायलले इरानमा गरेको हवाई आक्रमणमा कम्तीमा १३३२ नागरिक मारिएका छन् भने हजारौं घाइते भएका छन्। इरानी रेड क्रेसेन्ट सोसाइटीको तथ्यांक उद्धृत गर्दै इरानी राजदूत अमिर सइद इरावानीले शुक्रबार यो जानकारी दिएका हुन्।
संयुक्त राष्ट्र संघ मुख्यालयमा पत्रकारहरूसँग कुरा गर्दै इरावानीले देशभर १८० भन्दा बढी बालबालिका मारिएको र २० भन्दा बढी विद्यालयहरू ध्वस्त भएको बताए। बिहीबार मात्र तेहरान र अन्य सहरमा खेलकुद केन्द्रहरूमा गरिएको आक्रमणमा १८ महिला एथ्लीट मारिएका छन् भने करिब १०० अन्य घाइते भएका छन्।
“उनीहरूले नागरिक र नागरिक पूर्वाधारलाई जानीजानी निशाना बनाइरहेका छन्। यसले उनीहरू आफ्नो अपराधमा कुनै सीमा मान्दैनन् भन्ने देखाउँछ,” इरावानीले भने। उनले घना आवासीय क्षेत्र र नागरिक पूर्वाधारलाई जानीजानी निशाना बनाइएको बताउँदै यी कार्यहरू युद्ध अपराध र मानवता विरुद्धको अपराध भएको ठोकुवा गरे।
हालसम्म देशका १३ स्वास्थ्य केन्द्रमा आक्रमण भएको उनले जानकारी दिए। अमेरिका र इजरायलले आक्रमणमा सैन्य लक्ष्य मात्र निशाना बनाएको दाबी गरे पनि त्यो आधारहीन रहेको इरावानीले बताए।
“उनीहरूको उद्देश्य स्पष्ट छ— नागरिकलाई आतंकित बनाउने, निर्दोष मानिसहरूको हत्याकाण्ड गर्ने र अधिकतम विनाश र पीडा निम्त्याउने,” राजदूतले भने।
आक्रमण रोकिएसम्म इरानले संयुक्त राष्ट्र बडापत्रको धारा ५१ अन्तर्गत आत्मरक्षाको आफ्नो अधिकार प्रयोग गरिरहने उनले बताए। इरानको जवाफी कारबाही “वैध, आवश्यक र समानुपातिक” हुने र त्यसले आक्रमणकारीको सैन्य लक्ष्य मात्र निशाना बनाउने उनको भनाइ छ।
“इरान युद्ध खोज्दैन, तर हामी कहिल्यै आफ्नो सार्वभौमसत्ता त्याग्नेछैनौं। हाम्रा जनता, भूभाग र स्वतन्त्रताको रक्षा गर्न सबै आवश्यक कदम चाल्नेछौं,” इरावानीले जोड दिए।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमा नयाँ सर्वोच्च नेताको चुनावबारे गरेको टिप्पणीलाई राजदूतले “राज्यको आन्तरिक मामिलामा हस्तक्षेप नगर्ने संयुक्त राष्ट्र बडापत्रको सिद्धान्तको स्पष्ट उल्लङ्घन” भनेका छन्। कुनै पनि विदेशी शक्तिलाई आन्तरिक मामिलामा हस्तक्षेप गर्न इरानले कहिल्यै स्वीकार नगर्ने उनले बताए।
इरावानीले सबै संयुक्त राष्ट्र सदस्य राष्ट्रहरूलाई “यो आक्रमण र युद्ध अपराधको निन्दा” गर्न र क्षेत्रीय तथा अन्तर्राष्ट्रिय शान्ति र सुरक्षामा गम्भीर खतरा उत्पन्न गरेको आक्रमण रोक्न आह्वान गरे। “सुरक्षा परिषद्ले अब ढिला नगरी, दृढ र स्पष्ट रूपमा कार्य गर्नुपर्छ,” उनले आग्रह गरे।





