ट्रम्पको विवादास्पद अभिव्यक्ति : इरानको नयाँ नेता छनोटमा अमेरिकी हस्तक्षेपको संकेत
वासिङ्टन — अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको नयाँ नेतृत्व अमेरिका र इजरायलप्रति अनुकूल हुनुपर्ने बताउँदै त्यसका लागि आफूले चासो राखेको स्पष्ट पारेका छन्। सीएनएनसँगको टेलिफोन वार्तामा ट्रम्पले इरानमा प्रजातन्त्र हुनुपर्छ वा पर्दैन भन्ने प्रश्नमा भने, “होइन, म भन्छु– त्यहाँ निष्पक्ष र न्यायपूर्ण नेता हुनुपर्छ।” उनले इरानमा धार्मिक नेतृत्व हुन सक्नेमा पनि आपत्ति नभएको बताए।
“अमेरिका र इजरायललाई राम्रो व्यवहार गर्ने, मध्यपूर्वका अन्य देशहरूसँग पनि राम्रो सम्बन्ध राख्ने नेतृत्व हुनुपर्छ। ती सबै हाम्रा साझेदार हुन्,” ट्रम्पले इरानको नयाँ नेतृत्वबारे भने।
फेब्रुअरी २८ मा अमेरिका र इजरायलले इरानमा गरेको संयुक्त आक्रमणमा इरानका सर्वोच्च नेता आयोतुल्लाह अलि खामेनी, वरिष्ठ सैन्य कमान्डर र सर्वसाधारण मारिएका थिए। यसअघि बिहीबार ट्रम्पले इरानको नयाँ सर्वोच्च नेता छनोटमा आफ्नो भूमिका हुनुपर्ने अभिव्यक्ति दिएका थिए।
इरानका उपविदेशमन्त्री सइद खातिबजादेले ट्रम्पको यो अभिव्यक्तिलाई “औपनिवेशिक सोच” भन्दै कडा आलोचना गरेका छन्। ट्रम्पको यो अभिव्यक्तिले अन्तर्राष्ट्रिय समुदायमा विवाद उत्पन्न गरेको छ र इरानको आन्तरिक मामिलामा हस्तक्षेपको आरोप लागेको छ।





