रानको ‘बिनाशर्त आत्मसमर्पण’ एक्लै निर्धारण गर्ने ट्रम्पको दाबी

वासिङ्टन — इरानले अमेरिकाको मागअनुसार ‘बिनाशर्त आत्मसमर्पण’ प्रभावकारी रूपमा गरेको छ वा छैन भन्ने निर्णय एक्लै आफूले गर्ने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बताएका छन्। ह्वाइट हाउसकी प्रेस सचिव क्यारोलिन लेभिटले शुक्रबार यो जानकारी दिएकी हुन्।
यसअघि केही घण्टा मात्र ट्रम्पले ट्रुथ सोसियलमा लेखेका थिए, “बिनाशर्त आत्मसमर्पणबाहेक इरानसँग कुनै सम्झौता हुने छैन।”
“राष्ट्रपतिले के भन्न खोजेको भने, अमेरिकी सेनाको कमान्डर इन चिफका रूपमा जब उनले इरान अमेरिकाका लागि खतरा नरहेको र अपरेसन एपिक फ्युरीका लक्ष्य पूर्ण रूपमा प्राप्त भएको निर्धारण गर्नेछन्, त्यतिबेला इरान अनिवार्य रूपमा बिनाशर्त आत्मसमर्पणको स्थितिमा हुनेछ—चाहे उनीहरू आफैंले भनून् वा नभनून्,” लेभिटले पत्रकारहरूलाई बताइन्।
बिहीबार इरानी विदेशमन्त्री सैय्यद अब्बास अराक्चीले एनबीसी न्युजसँगको कुराकानीमा आफ्नो देश युद्धविरामको माग नगरेको र वासिङ्टनसँग वार्ताको कुनै कारण नदेखेको बताएका थिए।
अमेरिका र इजरायलले फेब्रुअरी २८ मा इरानमा संयुक्त सैन्य आक्रमण गरेका थिए, जसमा इरानका सर्वोच्च नेता अली खामेनी, धेरै वरिष्ठ सैन्य कमान्डर र सयौं नागरिक मारिएका थिए। इरानले क्षेत्रभर इजरायल र अमेरिकी लक्ष्यहरूमा धेरै चरणको मिसाइल तथा ड्रोन आक्रमण गरेर जवाफ फर्काएको छ।





