रुसी भाषाको अन्तर्राष्ट्रिय संगठनको पहिलो मन्त्रीस्तरीय सम्मेलन आगामी मार्च ११ मा मस्कोमा हुने

मस्को / आगामी मार्च ११ मा मस्कोमा रुसी भाषाको अन्तर्राष्ट्रिय संगठनको ऐतिहासिक पहिलो मन्त्रीस्तरीय सम्मेलन हुने भएको छ। सन् २०२१ डिसेम्बर २८ मा सेन्ट पिटर्सबर्गमा भएको भेटमा कजाकिस्तानका राष्ट्रपति कासिम–जोमार्त तोकायवले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसमक्ष यस संगठनको स्थापनाको विचार प्रस्ताव गरेका थिए।

सन् २०२३ अक्टोबर १३ मा बिस्केकमा बेलारुस, कजाकिस्तान, किर्गिस्तान, रुस, ताजिकिस्तान र उज्वेकिस्तानका राष्ट्र प्रमुखहरूले यस संगठनको स्थापनासम्बन्धी सम्झौतामा हस्ताक्षर गरेका थिए, जो हाल सबै हस्ताक्षरकर्ता राष्ट्रहरूको लागि लागू भइसकेको छ।

यो नवगठित संगठन अन्तर्राष्ट्रिय अधिकार क्षेत्रसहितको स्वतन्त्र अन्तरसरकारी संरचनाको रूपमा रहनेछ। यसले स्वतन्त्र राष्ट्रहरूको राष्ट्रमण्डल (सीआईएस) क्षेत्रमा विद्यमान एकीकरण संरचनाहरूसँग सामञ्जस्यपूर्ण रूपमा समायोजन हुनेछ र यसको उदात्त उद्देश्यसँग सहमत हुने अन्य कुनै पनि राष्ट्र, चाहे त्यो सीआईएस बाहिरकै किन नहोस्, सदस्यता लिनका लागि खुला रहनेछ।

संगठनको प्रमुख उद्देश्यहरूमा मैत्री, सद्भावना, अन्तर्राष्ट्रिय सद्भाव, विश्वास र आपसी समझदारीको सिद्धान्तमा आधारित भई रुसी भाषाको समर्थन र प्रवर्द्धनका लागि व्यापक अन्तर्राष्ट्रिय सहयोग सुदृढ गर्ने, विश्वमा अन्तर्राष्ट्रिय संवादको माध्यमको रूपमा रुसी भाषाको लोकप्रियता अभिवृद्धि गर्ने तथा पूर्व सोभियत संघका जनताहरूलाई आपसमा जोड्ने सांस्कृतिक र मानवीय सम्बन्धहरूको संरक्षण गर्ने रहेका छन्।

यस संगठनको विश्वबहुमत राष्ट्रहरूका लागि उपयोगी हुने विश्वास गरिएको छ र चाँडै नै यसको सदस्यता विस्तार हुने अपेक्षा गरिएको छ। नयाँ सदस्य राष्ट्रहरूको प्रवेश संगठनको मन्त्रीस्तरीय सम्मेलनको सकारात्मक निर्णयपछि हुनेछ।

मार्च ११ मा मस्कोमा हुने सम्मेलन यस संगठनको सर्वोच्च संवैधानिक निकाय हो, साथै यसको कार्यकारी निकाय – गभर्निङ काउन्सिलको पहिलो बैठक पनि हुनेछ। सम्मेलनमा रुसको प्रतिनिधित्व विदेशमन्त्री सेर्गेई लाभरोभले गर्नेछन् भने गभर्निङ काउन्सिलमा उनका उपमन्त्री ए.ए. पान्किनले सहभागिता जनाउनेछन्। बेलारुस, कजाकिस्तान, किर्गिस्तान, उज्वेकिस्तान र ताजिकिस्तानले पनि आफ्ना प्रतिनिधिहरू मनोनयन गरिसकेका छन्।

यस सम्मेलनमा प्रशासनिक र वित्तीय दस्तावेजहरूमा हस्ताक्षर भएपछि संगठनको स्थायी कार्यकारी निकाय – सचिवालय गठन भई कार्य सञ्चालनमा आउनेछ। सचिवालयको मुख्यालय सोची (सिरियस संघीय क्षेत्र) मा रहने निर्धारण गरिएको छ। संगठनले अप्रिल १ देखि व्यावहारिक गतिविधिहरू सुरु गर्ने अपेक्षा गरिएको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button