इरानविरुद्धको आक्रमणमा १४० अमेरिकी सैनिक घाइते, आठ जनाको अवस्था गम्भीर

काठमाडौं / पेन्टागनका प्रवक्ताले मंगलबार जानकारी दिएअनुसार फेब्रुअरी २८ मा अमेरिका र इजरायलले इरानविरुद्ध संयुक्त सैन्य आक्रमण सुरु गरेयता करिब १४० अमेरिकी सैनिक घाइते भएका छन्, जसमध्ये आठ जना गम्भीर घाइते छन्।
पेन्टागनका प्रवक्ता सीन पार्नेलले एक वक्तव्यमा भने, “यी मध्ये अधिकांश चोटपटक सामान्य प्रकृतिका छन्, र १०८ सैनिक पहिले नै ड्युटीमा फर्किसकेका छन्। आठ जना सैनिक भने अझै गम्भीर घाइतेको सूचीमा रहेका छन् र उनीहरूले उच्चतम स्तरको चिकित्सा सुविधा प्राप्त गरिरहेका छन्।”
जारी अमेरिका–इजरायल–इरान युद्धका क्रममा हालसम्म कुवेत र साउदी अरबमा सात अमेरिकी सैनिकको मृत्यु भएको छ।
सोमबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमा अमेरिकाका लक्ष्यहरू “धेरै हदसम्म पूरा भइसकेको” बताएका थिए।





