न्यायको घेरामा सुशीला कार्की: प्रतिवेदन लुकाउने आमालाई जनताको प्रश्न

# लक्की चन्द
सेनाको बलमा चुनाव गराएर सायद तपाईंले आफूलाई सफल ठान्नुभएको होला। सामाजिक सञ्जालका पर्खालहरूमा तपाईंलाई ‘हिम्मतिलो आमा’ भन्दै शुभकामना दिनेहरूको बाढी आयो। शुभकामना दिनु त स्वाभाविक नै थियो – जसले प्रतिवेदन लुकाएर अपराधी जोगाउने काम गर्नुभयो, उसलाई जनताले के भन्छन् त?
तर आमै, एउटा कुरो सोच्नुभएको छ – अपराधीको सूचीमा तपाईं पनि त हुनुहुन्छ नि?
जेनजी आन्दोलन चलिरहँदा, विद्यार्थीहरू मरिरहँदा, शीतल निवासघर जलिरहँदा, भ्रष्टाचारी नेताहरू हेलिकप्टर चढेर भागिरहँदा – तपाईंहरू प्रधानमन्त्री र गृहमन्त्री बन्ने तयारीमा व्यस्त हुनुहुन्थ्यो। जेनजी आन्दोलनलाई हाइज्याक गरेर सत्तामा पुग्नुभयो। जेनजीका माग पूरा गर्नुभएन। उल्टो चुनावअघि कार्की आयोगले तयार पारेको प्रतिवेदन लुकाएर राख्नुभयो। अपराधी त तपाईंहरू पनि होइन् र, आमै?
साना-साना भाइहरूको निधारमा गोली लागेर पछाडिबाट निस्किएको, ड्रेस र झोलामा तातो रगत लतपतिएको देख्नुभएन, आमै? ती आमाहरू आर्यघाटमा “बाबु-बाबु” भन्दै रोएको देख्नुभएन, आमै?
कानुन व्यक्तिभन्दा ठूलो हुन्छ भन्नुहुन्छ। कानुनले नाता देख्दैन, कानुन भावनामा बग्दैन भन्नुहुन्थ्यो, आमै? तर जेनजीहरूलाई आन्दोलनको नाउँमा झुक्याएर हत्या गर्नु महाअपराध होइन र? त्यो महाअपराधको भागीदार तपाईं र गृहमन्त्री पनि होइनन् र, आमै?
मर्ने बेलामा कसरी भगवानलाई मुख देखाउनुहुन्छ, आमै?
चुनावअघि नै तयार भएको कार्की आयोगको प्रतिवेदन किन लुकाउनुभयो, आमै? किनभने रास्वपालाई बहुमतले जिताउनु थियो? रास्वपाकै सरकार बनाउनु थियो? यदि चुनावअघि कार्की आयोगको प्रतिवेदन सार्वजनिक भएको भए रास्वपा जिरो हुन्थ्यो? अर्को पार्टीमा गएको भोट सबै तानेर फेरि अर्को अपराध गर्नुभयो, आमै? षड्यन्त्र रचेर, लुकेर, अपराधी लुकाउनु पनि अपराधी नै हो, आमै?
चुनावअघि तयार भएको कार्की आयोगको प्रतिवेदन सम्हालेर राख्नुहोला। जनताले खोजेको बेला भेट्ने गरी। तपाईंले दिन नसकेको सजाय एक न एक दिन जनताले अवश्य दिनेछन्। सम्हालेर राख्नुहोला।
जे अहिले बोलिरहनुभएको छ, त्यो तपाईंको निजी विषय होला। तर पुरानो दल एमाले, कांग्रेस, माओवादीहरूको पत्ता साफ गर्छु, दनक दिन्छु भन्दै गर्दा अपराधीहरूलाई जोगाउनु त भएन नि, सुशीला आमै?
आफूले भ्रष्टाचार नगरेको, घुस नखाएको दाबी गर्ने सुशीला कार्कीले छोराको नाममा अर्को घर किनेर किन सार्वजनिक नगरेकी होलिन्? जनताले तपाईंलाई प्रश्न गरिरहेका छन्, आमै !





