नेपालको कूटनीतिक सफलता: संयुक्त राष्ट्रसङ्घमा अन्तर्राष्ट्रिय आरोग्य दिवस प्रस्ताव पारित

काठमाडौं / नेपालले विश्व स्वास्थ्य क्षेत्रमा उल्लेखनीय सफलता हासिल गरेको छ। संयुक्त राष्ट्रसङ्घको महासभाले नेपालको प्रस्तावमा अन्तर्राष्ट्रिय आरोग्य दिवससम्बन्धी ऐतिहासिक प्रस्ताव सर्वसम्मतिले पारित गरेको छ।

महासभाको आज भएको बैठकले उक्त प्रस्ताव पारित गरेसँगै अब विश्वभर हरेक वर्ष अप्रिल १५ तारिखका दिन अन्तर्राष्ट्रिय आरोग्य दिवस मनाइने भएको छ।

संयुक्त राष्ट्रसङ्घका लागि नेपालका स्थायी प्रतिनिधि राजदूत लोकबहादुर थापाका अनुसार प्रस्तावमा स्वास्थ्य भन्नाले रोग नलाग्नु मात्र नभई शारीरिक, मानसिक, सामाजिक, सांस्कृतिक, भावनात्मक तथा पर्यावरणीय रूपमा समग्र कल्याणलाई जनाउने व्यापक परिभाषा दिइएको छ।

राजदूत थापाले प्रस्तावको मर्म र उद्देश्यबारे जानकारी दिँदै भने, “यस प्रस्तावले विश्वभर सुदृढ र दिगो समाज निर्माणका लागि रोकथाममुखी स्वास्थ्य सेवा, स्वस्थ जीवनशैली तथा समावेशी स्वास्थ्य प्रणालीको प्रवर्द्धन गर्नुपर्ने आवश्यकतालाई बलियो रूपमा जोड दिएको छ।”

प्रस्ताव पारित गर्ने प्रक्रियामा सहयोग र समर्थन गर्ने राष्ट्रहरूप्रति आभार व्यक्त गर्दै राजदूत थापाले यसलाई नेपालको लागि महत्वपूर्ण कूटनीतिक उपलब्धि भएको बताए।

“नेपालले विश्व स्वास्थ्य क्षेत्रमा पुर्याएको यो योगदानले समग्र मानवताको कल्याणमा हाम्रो प्रतिबद्धता देखाउँछ,” उनले भने।

उक्त प्रस्ताव पारित भएपछि नेपाल सरकार, स्वास्थ्य क्षेत्रका अभियन्ता तथा कूटनीतिक नियोगहरूले खुसी व्यक्त गरेका छन्। यसले नेपालको अन्तर्राष्ट्रिय छवि मात्र उच्च बनाएको छैन, विश्व स्वास्थ्य क्षेत्रमा नेपालको सक्रिय उपस्थितिसमेत दर्शाएको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button