मध्यपूर्व शान्तिका लागि चीनको आह्वान: तत्काल युद्धविराम र राजनीतिक समाधानको पक्षमा वाङ यी

काठमाडौं / चीनले मध्यपूर्वमा तत्काल युद्धविराम र राजनीतिक समाधानको आह्वान गरेको छ। चिनियाँ विदेशमन्त्री वाङ यीले खाडी मुलुकहरूलाई क्षेत्रको भविष्य आफैं हातमा लिन समर्थन गरेको बताएका छन्।

चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिको राजनीतिक ब्यूरो सदस्यसमेत रहेका विदेशमन्त्री वाङ यीले कतारका प्रधानमन्त्री तथा विदेशमन्त्री शेख मोहम्मद बिन अब्दुलरहमान अल थानीसँग टेलिफोन वार्ता गर्दै यी कुरा व्यक्त गरेका हुन्।

टेलिफोन वार्तामा अल थानीले क्षेत्रीय अवस्था र कतारको धारणाबारे जानकारी गराए। उनले संकट फैलिन र बढ्न नदिन कूटनीतिक प्रयास तीव्र पार्दै कतारले आत्मरक्षाका लागि आवश्यक उपायहरू अपनाउनुपरेको बताए।

उनले चीनको निष्पक्ष र न्यायपूर्ण अडान र मध्यस्थता प्रयासको प्रशंसा गर्दै युद्धविराम र शत्रुता अन्त्यका लागि चीनले ठूलो भूमिका खेलोस् भन्ने आशा व्यक्त गरे।

त्यसको जवाफमा विदेशमन्त्री वाङ यीले संयुक्त राष्ट्रसंघ सुरक्षा परिषदको स्थायी सदस्यका रूपमा चीनले अन्तर्राष्ट्रिय मामिलामा सधैं सिद्धान्तमा अडिग रहँदै निष्पक्षता र न्यायको पक्षमा रहेको बताए।

सुरक्षा परिषद्को अधिकारविना इरानविरुद्ध अमेरिका–इजरायलले गरेको सैन्य कारबाही संयुक्त राष्ट्रसंघको बडापत्रको उद्देश्य र सिद्धान्त तथा अन्तर्राष्ट्रिय सम्बन्धका आधारभूत मापदण्डहरूको स्पष्ट उल्लंघन भएको वाङ यीले बताए।

साथै, चीन आक्रमणको दायरा विस्तार गर्ने पक्षमा नरहेको र नागरिक तथा गैरसैनिक लक्ष्यहरूमा भएको अन्धाधुन्ध आक्रमणको निन्दा गरेको उनले स्पष्ट पारे। खाडी अरब मुलुकहरूको सार्वभौमसत्ता, सुरक्षा र क्षेत्रीय अखण्डताको सम्मान हुनुपर्नेमा उनले जोड दिए।

युद्धको निरन्तरता पूर्णरूपमा हानिकारक र फाइदाविहीन भएको र यसले सम्बन्धित सबै पक्षलाई ठूलो क्षति पुर्याउने बताउँदै वाङ यीले चीनले तनाव कम गर्न र शान्ति पुनर्स्थापनाका लागि आफ्नो तरिकाले रचनात्मक भूमिका निर्वाह गरिरहने उल्लेख गरे।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button