मस्कोमा चीनियाँ नयाँ वर्ष, बेइजिङमा मस्लेनित्सा: रूस-चीन सांस्कृतिक सेतु

मस्को / रूस र चीनबीचको सांस्कृतिक आदान-प्रदानले यसपटक नयाँ उचाइ पाएको छ। एकातिर रूसको राजधानी मस्को चीनियाँ नयाँ वर्षको रङमा रङ्गिएको थियो भने अर्कोतिर चीनको राजधानी बेइजिङ रूसी परम्परागत चाड मस्लेनित्साको स्वादमा डुबेको थियो।

‘मस्कोमा चिनियाँ नयाँ वर्ष’ उत्सव फेब्रुअरी १६ देखि मार्च १ सम्म चलेको थियो, जसले मस्कोका ६० भन्दा बढी स्थलहरूलाई एकैसूत्रमा बाँधेको थियो। यस अवसरमा रूसी विदेश मन्त्रालयकी प्रवक्ता मारिया जखारोवाले चिनियाँ भाषामा शुभकामना व्यक्त गरेकी थिइन्। मनेज्नाया चोकमा भएको उद्घाटन समारोहमा चीनका कलाकारहरूको प्रस्तुति, ढोल प्रदर्शन, लोकनृत्य र कलाबाजी देखाइएको थियो। मस्कोबासी र पर्यटकहरूले विभिन्न चिनियाँ प्रदेशका कलाकारका प्रस्तुति हेर्न, अन्तरक्रियात्मक खेलहरूमा भाग लिन, परम्परागत साङ्गीतिक वाद्ययन्त्र तथा उपहार र शुभकामनाका लागि रातो खाम (होङबाओ) बनाउन सिकेका थिए।

परिकारको रूपमा लान्झाउ नूडल्स, वेनचाङ चिकेन राइस, परम्परागत बाओजी लगायत चिनियाँ व्यञ्जनहरू चाख्न पाइएको थियो। अन्य स्थलहरूमा चिया समारोह, चिनियाँ बोर्ड गेम प्रतियोगिता र अन्तर्राष्ट्रिय प्रदर्शनीहरू समेत आयोजना गरिएका थिए।

त्यस्तै, चीनको राजधानी बेइजिङमा भने ‘बेइजिङमा मस्लेनित्सा’ उत्सव आयोजना गरिएको थियो। यस उत्सवका क्रममा चाओयाङ पार्कलाई काठे घर, कलात्मक संरचना र फोटो जोनसहित रूसी मेलाको झल्को दिने गरी सजाइएको थियो। चिनियाँ राजधानीका बासिन्दा र आगन्तुकहरूले रूसी परम्पराअनुसार वसन्त ऋतुको स्वागत गर्ने तरिका देख्न, साङ्गीतिक प्रस्तुति सुन्न र विभिन्न प्रकारका परिकारसहित रूसी परिकार प्यानकेक (ब्लिनी) चाख्न पाएका थिए। आगन्तुकहरूले भर्चुअल रियालिटी प्रविधिबाट मस्कोको भ्रमण गरी त्यहाँका प्रमुख स्थलहरू हेर्न समेत पाएका थिए। फेब्रुअरी १९ देखि २२ सम्म चलेको यस उत्सवमा ४ लाख ८६ हजारभन्दा बढी आगन्तुक सहभागी भएका थिए।

यी उत्सवहरू मस्को र बेइजिङबीचको सांस्कृतिक आदान-प्रदानको जीवन्त उदाहरण बनेका छन्। ‘बेइजिङमा मस्लेनित्सा’ कै अवसरमा दुवै पक्षबीच पर्यटन सहकार्यसम्बन्धी एक सम्झौतापत्रमा हस्ताक्षर समेत भएको छ, जसले संयुक्त परियोजना, अनुभव आदान-प्रदान र दुवै राजधानीको पर्यटन प्रवद्र्धनलाई प्रोत्साहन गर्ने लक्ष्य राखेको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button