एमाले फुटको संघारमा: योगेश भट्टरईको राजीनामा माग र ‘एजेन्ट’ प्रकरणले ततायो पार्टी

काठमाडौं / नेपाल कम्युनिष्ट पार्टी (एमाले) भित्र चुनावी समीक्षाको नाममा ठूलो आन्तरिक खटपट सुरु भएको छ। उपमहासचिव योगेश भट्टराईले पार्टीको हालको नेतृत्वप्रति प्रश्न उठाउँदै राजीनामा र पुनर्गठनको माग अघि सारेपछि पार्टीका एक वरिष्ठ नेताले उनलाई ‘अमुक शक्ति केन्द्रबाट सञ्चालित एजेन्ट’ को संज्ञा दिएका छन्।
चुनावी परिणामपछि पार्टीको अवस्थाबारे खुलेर बोल्दै आएका उपमहासचिव भट्टराईले विभिन्न सञ्चारमाध्यममा आफ्ना धारणा राख्दै नेतृत्व परिवर्तन र पार्टी पुनर्गठनको पक्षमा वकालत गरिरहेका छन्। उनले नेतृत्व पुनर्गठनका लागि तयार नभए आफू अप्रिय निर्णय लिन बाध्य हुने चेतावनी समेत दिएका छन्।
यसै क्रममा गण्डकी प्रदेशका स्वास्थ्यमन्त्री तथा अध्यक्ष केपी शर्मा ओली निकट मानिने नेता कृष्ण पाठकले भट्टराईमाथि गम्भीर आरोप लगाएका छन्। सामाजिक सञ्जालमा लामो स्टाटस लेख्दै पाठकले भनेका छन्, ‘एमाले करेक्सन हुनुपर्छ र हुन्छ पनि। तर योगेश जस्तो अराजक, असहिष्णु, चरम पूर्वाग्रही र एमाले सक्न अमुक शक्तिकेन्द्रबाट सञ्चालित एजेन्टको अराजक अभिव्यक्तिलाई अनुशासनको दायरामा तान्नुपर्छ।’
पाठकको यो टिप्पणीले पार्टीभित्रको आन्तरिक द्वन्द्व झन सतहमा ल्याएको छ। एउटातिर युवा पुस्ताका नेता भट्टराईले पार्टी सुधारको एजेन्डा समातेका छन् भने अर्कोतिर परम्परागत नेतृत्व पंक्तिले उनलाई पार्टी विरोधी गतिविधिमा संलग्न भएको आरोप लगाएको छ।
राजनीतिक विश्लेषकहरूले एमालेभित्रको यो विवादलाई पार्टीको भावी नेतृत्व र नीति निर्धारणको लडाइँको रुपमा हेरेका छन्। आगामी दिनमा यो विवादले कस्तो रुप लिन्छ र पार्टी एकतामा कस्तो असर पार्छ भन्ने हेर्न बाँकी छ।





