इनाम सापकोटा प्रकरणमा सर्वोच्च अदालतबाटै छानबिन गर्न न्यायाधीशहरूको सुझाव
ड्रागन मिडिया सम्वाददाता
विवादित इनाम सापकोटा प्रकरणमा सर्वोच्च अदालतले नै छानबिन गर्नुपर्ने सुझाव न्यायाधीशहरूले दिएका छन्। प्रधानन्यायाधीश मनोजकुमार शर्माको नाम जोडिएको र न्यायाधीश हरि फुयालको सापकोटासँगको सम्पर्कबारे सर्वोच्च अदालतबाटै अध्ययन हुनुपर्ने उनीहरूको राय छ।
शुक्रबार इजलास सुरु हुनुअघि बसेको पूर्ण बैठकमा बहुमत न्यायाधीशले सापकोटासँग सम्बन्धित विषयमा अदालत आफैँले छानबिन गरी साझा निष्कर्षमा पुग्नुपर्ने धारणा राखेको स्रोतले जनाएको छ।
बैठकको सुरुमा न्यायाधीश फुयालले सापकोटासँग आफ्नो सम्पर्क कसरी भयो भन्नेबारे जानकारी दिँदै आफ्नो नियत गलत नरहेको बताएका थिए। त्यसपछि उपस्थित न्यायाधीशहरूले पालैपालो धारणा राखेका थिए।
सर्वोच्च अदालत स्रोतका अनुसार शुक्रबारको बैठक कुनै ठोस निष्कर्षमा पुग्न सकेन। वरिष्ठतम न्यायाधीश सपना प्रधान मल्ल र अब्दुल अजिज मुसलमान अनुपस्थित रहेकाले उनीहरू समेत सहभागी हुने गरी सोमबार बैठक बसेर निर्णय गर्ने समझदारी भएको छ।
सापकोटासँग सम्बन्धित व्यक्तिमार्फत अमेरिकाको बैंक खातामा रकम जम्मा गरिएको विवरण सार्वजनिक भएपछि प्रधानन्यायाधीश शर्माको नाम पनि चर्चामा आएको छ।
न्यायाधीश फुयालले भने सापकोटासँग ह्वाट्सएपमा पटक–पटक कुराकानी भएको र अन्य न्यायाधीशसहित हिमालयन होटलमा सामूहिक भेट भएको स्वीकार गरेका छन्। विचाराधीन मुद्दालाई प्रभावित पार्ने प्रयास भएपछि आफूले नै उजुरी दिएको उनको दाबी छ।





