बदरीनाथबाट फर्किँदै गरेको हेलिकप्टर दुर्घटना, छ जनाको मृत्युको आशंका

ड्रागन मिडिया समाचार कक्ष
भारतको उत्तराखण्डस्थित बदरीनाथ धामबाट देहरादुनतर्फ उडेको हेलिकप्टर शुक्रबार चमोली जिल्लाको जोशीमठ नजिक दुर्घटनामा परेको छ। हेलिकप्टरको भग्नावशेष फेला परेको र त्यसमा सवार पाइलटसहित छ जनाको मृत्यु भएको आशंका गरिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।
ट्रान्स भारत एभिएसनको हेलिकप्टर बदरीनाथबाट देहरादुनको सहस्रधाराका लागि उडेको थियो। त्यसमा पाइलटसहित पाँच यात्रु सवार थिए। जोशीमठ उपत्यकामाथि उडिरहेका बेला हेलिकप्टरसँगको सम्पर्क टुटेको र त्यसपछि उडान अनुगमन प्रणालीमा पनि यसको अवस्थिति देखिन छाडेको अधिकारीहरूले बताएका छन्।
दुर्घटनास्थलमा खोज तथा उद्धारका लागि प्रहरी, विपद् उद्धार टोली र अन्य सरकारी निकाय खटिएका थिए। प्रतिकूल मौसमले खोजी प्रभावित भएको विवरण आएको छ। दुर्घटनाको कारण भने अनुसन्धानपछि मात्रै खुल्नेछ।





