रजौरिया र रिजालको अवस्था र नियन्त्रणमा लिने आधार सार्वजनिक गर्न इन्जिनियर्स एसोसिएसनको माग

ड्रागन मिडिया सम्वाददाता
नेपाल इन्जिनियर्स एसोसिएसनले जलस्रोत तथा सिँचाइ विभागका महानिर्देशक दिनेश रजौरिया र सुनकोशी–मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाका निर्देशक कृष्णप्रसाद रिजाललाई नियन्त्रणमा लिइएको भनिएको घटनाबारे सत्यतथ्य सार्वजनिक गर्न माग गरेको छ।
एसोसिएसनका अध्यक्ष इन्जिनियर सुवासचन्द्र बरालले शुक्रबार जारी गरेको विज्ञप्तिमा उनीहरूलाई नियन्त्रणमा लिनुको कानुनी आधार र कारण तत्काल सार्वजनिक गर्न आग्रह गरिएको छ। पक्राउ वा नियन्त्रणमा राखिएका व्यक्तिको मानव अधिकार र कानुनी अधिकार सुनिश्चित गर्दै निष्पक्ष, पारदर्शी र विधिसम्मत अनुसन्धान गर्न पनि एसोसिएसनले माग गरेको छ।
समाचार स्रोतहरूका अनुसार प्रहरीले बिहीबार रजौरियालाई सिरहाबाट र रिजाललाई सिन्धुलीबाट काठमाडौं ल्याएको थियो। प्रहरी स्रोतले उनीहरूलाई सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बुझाइएको र उनीहरू प्रहरी हिरासतमा नरहेको जनाएको छ।
यद्यपि, प्रधानमन्त्री कार्यालयका एक अधिकारीले सेतोपाटीलाई उनीहरूलाई पक्राउ नगरिएको, आयोजनाको प्रगतिबारे केही कुरा बुझ्न बोलाइएको बताएका छन्। कार्यालयले उनीहरूलाई खोज्न प्रहरीको सहयोग मागेको स्वीकारेको विवरण पनि सार्वजनिक भएको छ। यसरी उनीहरूलाई नियन्त्रणमा लिइएको हो वा छलफलका लागि बोलाइएको हो भन्नेबारे सम्बन्धित निकायका भनाइ फरक–फरक छन्।
उनीहरूलाई ल्याइएको समय सुनकोशी–मरिण आयोजनाको नयाँ ठेक्का प्रक्रियासँग जोडिएको छ। आर्थिक प्रस्ताव खोल्ने तयारी भइरहेका बेला दुवै अधिकारीलाई काठमाडौं ल्याइएको भए पनि, उनीहरूलाई बोलाउनु वा नियन्त्रणमा लिनुको औपचारिक कारण सार्वजनिक भएको छैन।
एसोसिएसनले कानुनी शासन, स्थापित प्रक्रिया र व्यक्तिको मौलिक हकको सम्मान गर्दै आधिकारिक कारण तथा कानुनी आधार खुलाउन सरकारसँग आग्रह गरेको छ।





