इजरायल–लेबनान वार्ताः साइप्रस वा पेरिसमा हुने सम्भावना

काठमाडौँ : इजरायल र हिजबुल्लाहबीचको भिडन्त चर्किएका बीच आगामी दिनमा इजरायल र लेबनानका प्रतिनिधिबीच वार्ता हुने भएको छ। इजरायली दैनिक पत्रिका हारेत्जले शनिबार यो जानकारी दिएको हो।

पत्रिकाले मामिलासँग जानकार एक स्रोतलाई उद्धृत गर्दै भनेको छ कि प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले ‘लेबनान फाइल’ हेर्न जिम्मा दिएका पूर्वमन्त्री रोन डर्मर लेबनानी प्रतिनिधिहरूसँग प्रत्यक्ष वार्ताका लागि बस्नेछन्। उक्त स्रोतका अनुसार यस प्रक्रियामा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका ज्वाइँ जारेड कुशनरको नेतृत्वमा अमेरिका पनि संलग्न छ।

अर्को स्रोतले पत्रिकालाई बताएअनुसार इजरायल र लेबनानबीचको यो वार्ता साइप्रस वा पेरिसमा हुन सक्छ।

फ्रान्सेली राष्ट्रपति इमानुएल माक्रोंले शनिबार सामाजिक सञ्जाल एक्समा हिब्रू भाषामा लेख्दै यी छलफलहरू आयोजना गर्न र पेरिसमा होस्ट गर्न तयार रहेको बताएका छन्। उनले इजरायललाई लेबनानमा ठूलो पैमानामा भू–आक्रमण नगर्न आग्रह पनि गरेका छन्।

माक्रोंले लेबनानी राष्ट्रपति जोसेफ आउन, प्रधानमन्त्री नवाफ सलाम र संसद अध्यक्ष नबिह बेरीसँग कुराकानी गरेको र उनीहरू इजरायलसँग प्रत्यक्ष वार्ता गर्न सहमत भएको उल्लेख गरेका छन्।

हिजबुल्लाहले नोभेम्बर २७, २०२४ मा युद्धविराम लागू भएयता पहिलोपटक मार्च २ मा लेबनानबाट इजरायलतर्फ रकेट प्रहार गरेको थियो। त्यसपछि इजरायलले समूहविरुद्ध आक्रामक सैन्य अभियान सुरु गर्दै दक्षिणी र पूर्वी लेबनानका विभिन्न क्षेत्र तथा बेरुतको उपनगरमा व्यापक हवाई हमला गरेको थियो।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button