९ बैशाख २०८३, बुधबार

गृहमन्त्रीमाथिको आरोप : हल्ला, हस्तक्षेप र न्यायिक विवेकको तराजु


# संकेत किराँती

गृहमन्त्री सुदन गुरुङविरुद्ध उठेका प्रश्नहरू अहिले सार्वजनिक बहसको केन्द्रमा छन्। तर यी प्रश्नहरूको उत्तर खोज्दा भावनात्मक नारा वा सामाजिक सञ्जालको हल्लाभन्दा पनि शान्त, तथ्यगत र न्यायिक दृष्टिकोणको आवश्यकता देखिन्छ। यो विश्लेषण गृहमन्त्रीको बचाउ वा आरोपको पुष्टि होइन, बरु प्राप्त तथ्य र घटनाक्रमको न्यायिक सिद्धान्तमा आधारित परीक्षण मात्र हो।

पहिलो प्रश्न : पक्राउ किन भयो त ?

यदि गृहमन्त्री गुरुङको कथित आर्थिक अनियमिततामा संलग्न व्यक्तिलाई जोगाउने दोषी मनसाय नै हुन्थ्यो भने, सबैभन्दा पहिले उनले दीपक भट्टको पक्राउ प्रक्रिया रोक्ने प्रयास गर्थे। तर घटनाक्रमले देखाउँछ, प्रहरीले स्वतन्त्र रूपमा पक्राउ गर्यो र अनुसन्धान अघि बढायो। प्रथम दृष्टि (प्राइमा फेसी) मै गृहमन्त्रीले अनुसन्धानमा कुनै अवरोध गरेको संकेत देखिँदैन। पुरानो व्यावसायिक सम्बन्ध भएको व्यक्तिविरुद्ध कारबाही अघि बढ्नुले उल्टै संस्थागत स्वतन्त्रता र गृहमन्त्रीको नैतिक जिम्मेवारीको पुष्टि गर्छ। अनुसन्धान प्रणालीले आफ्नो गति लिइरहेको अवस्थामा, यो अवरोधको होइन, सहजीकरणको उदाहरण हो।

दोस्रो : ‘गिल्ट बाइ एसोसिएसन’ को भ्रमजाल

कुनै समय कसैसँग व्यावसायिक साझेदारी भएको आधारमा मात्र अपराध स्थापित हुँदैन। विशेषगरी सुदन गुरुङ गृहमन्त्री बन्नुअघिको यो सम्बन्ध हो भने यसले कानुनी रूपमा खास अर्थ राख्दैन। कुनै व्यक्तिले पछि गरेको गोप्य कारोबार वा आपराधिक गतिविधिको स्वतः दोष ‘पुरानो साझेदार’ लाई दिन मिल्दैन। यो सहयात्री दोष (गिल्ट बाइ एसोसिएसन) को अवधारणा हो, जुन न्यायको आधुनिक मापदण्डले स्वीकार्दैन। यदि प्रहरी अनुसन्धानले षड्यन्त्रको ठोस प्रमाण फेला पार्दैन भने, व्यवसायिक इतिहास आफैंमा दोषारोपणको आधार बन्न सक्दैन।

तेस्रो : सम्पत्ति विवरण र पारदर्शिताको पाटो

सम्पत्ति विवरणको सवालमा पनि तथ्यपरक विश्लेषण आवश्यक छ। सुदन गुरुङले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरिसकेका छन्। अहिले विवादमा तानिएको शेयर खरिद गर्दा लिएको ऋणका कागजात, चाहे त्यो बैंकको लेनदेन होस्, तमसुक होस् वा मालपोत तिरेको रसिद, अनुसन्धान निकायले माग्दा पेस गरिन्छ भने त्यो पारदर्शिताको सूचक हुन्छ, सम्पत्ति लुकाएको प्रमाण होइन। न्यायिक सिद्धान्तअनुसार, ठोस तथ्यले विपरीत पुष्टि नगरेसम्म कुनै पनि दस्तावेजलाई अपराधको प्रमाण मान्न सकिन्न।

चौथो : प्रोक्सी युद्धको सम्भावित रणनीति

यस सन्दर्भमा एउटा अर्को गम्भीर विश्लेषणको पाटो पनि बेवास्ता गर्न सकिन्न। अहिले अनुसन्धानको घेरामा रहेको व्यक्ति वा सञ्जालले नै गृहमन्त्रीलाई अस्थिर बनाउन ‘प्रोक्सी युद्ध’ को रणनीति अख्तियार गरेको हुनसक्ने सम्भावना प्रबल छ। जुन दिन अनुसन्धान मूल जरासम्म पुग्न खोज्छ, त्यही बेला गृहमन्त्रीमाथि नै आरोपको बाढी आउनु, ध्यान मोडिनु, र अनुसन्धान कमजोर पार्ने वातावरण बनाउन खोजिनु— यी दुरासययुक्त मनोवैज्ञानिक दबाबका हतियार पनि हुन सक्छन्। यदि गृहमन्त्रीको राजीनामाले अनुसन्धानको गति रोकिन्छ वा प्रहरीको मनोबल गिर्छ भने, त्यसको लाभ वास्तविक अनियमितता गर्नेहरूलाई नै हुन्छ।

पाँचौं : गृहमन्त्रीको संवैधानिक भूमिका के हो ?

यहाँ एउटा महत्त्वपूर्ण संवैधानिक विभाजन रेखा बुझ्न जरुरी छ। गृहमन्त्रीको प्रमुख दायित्व अनुसन्धान आफै गर्नु होइन, बरु अनुसन्धान गर्ने निकायलाई स्वतन्त्र र सुदृढ बनाउनु हो। अहिलेसम्मको घटनाक्रमले देखाएको छ, गृहमन्त्री सुदनले न अनुसन्धान रोकेका छन्, न हस्तक्षेप गरेका छन्। प्रहरीले नियमित प्रक्रियाबाट नै अनुसन्धान गरिरहेको छ। यो आफैंमा सकारात्मक सङ्केत हो। यदि अनुसन्धान निष्पक्ष छ भने, त्यसलाई नै आधार मानेर संस्थागत स्थायित्वलाई जोगाउनुपर्छ।

निष्कर्ष : राजीनामा नभई पारदर्शिताको माग गरौं

प्रश्न उठ्नु लोकतन्त्रको मर्म हो, तर निर्णय प्रमाणले गर्छ। जबसम्म कुनै ठोस प्रमाण वा अदालतको फैसलाले गृहमन्त्रीलाई दोषी ठहर गर्दैन, तबसम्म राजीनामाको माग संवैधानिक मूल्यभन्दा पनि राजनीतिक दबाबको हतियार मात्र बन्ने जोखिम हुन्छ। न्यायको मापदण्ड हल्ला होइन, प्रमाण हुनुपर्छ। यदि हामीले बिनाप्रमाण पद त्याग्ने परम्परा बसायौं भने, त्यसले सुशासन होइन, अराजकता र साजिसलाई प्रश्रय दिनेछ। अहिलेको आवश्यकता भनेको गृहमन्त्रीको राजीनामा होइन, बरु अनुसन्धानको पूर्ण पारदर्शिता र निष्पक्ष निष्कर्षको प्रतीक्षा हो। किनकि अनुसन्धानकै क्रममा नेतृत्व ढालियो भने, वास्तविक अपराधीहरूले सुरुङ पाउनेछन् र लहरो तान्दा पहरो जाने परिस्थिति बन्न सक्छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button