२१ बैशाख २०८३, सोमबार

राजस्थानको २२५ रनको चुनौती सामु दिल्ली, पारागको ९० रनमा उत्कृष्ट साझेदारी

काठमाडौं — इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत सवाई मानसिंह स्टेडियम जयपुरमा जारी खेलमा घरेलु टोली राजस्थान रोयल्सले दिल्ली क्यापिटल्ससमक्ष जितका लागि २२६ रनको लक्ष्य प्रस्तुत गरेको छ। राजस्थानले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै २२५ रन बनाएको हो।

कप्तान रियान पारागको ९० रनको उत्कृष्ट पारी तथा डोनोभान फरेराको अविजित ४७ रनको मद्दतले टोलीले सम्मानजनक योगफल खडा गरेको हो। दिल्लीका मिचेल स्टार्कले ३ विकेट हात पारे। जवाफमा दिल्लीले ५ ओभरमा विना विकेट क्षति ५९ रन बनाइसकेको छ। पाथुम निसांका र केएल राहुल क्रिजमा रहेका छन्।

राजस्थानका कप्तान रियान पारागले टस जितेर पहिले ब्याटिङको निर्णय लिएका थिए। पारागले ५० बलमा ८ चौका र ५ छक्का प्रहार गर्दै ९० रनको पारी खेले। उनले ध्रुव जुरेलसँग शतकीय साझेदारी गर्दै टोलीको स्कोरलाई अगाडि बढाए। जुरेलले ४२ रनको योगदान दिए।

खेलको अन्तिमतिर डोनोभान फरेराले विस्फोटक ब्याटिङ प्रदर्शन गर्दै केवल १४ बलमा ६ छक्कासहित अविजित ४७ रन बनाए। दिल्लीका गेन्दबाजहरूमध्ये मिचेल स्टार्क सबैभन्दा सफल रहे। उनले ३ विकेट लिए। काइल जैमिसन, अक्षर पटेल र टी. नटराजनले समान एक एक विकेट लिए। जवाफी ब्याटिङमा उत्रिएको दिल्लीले आक्रामक सुरुवात गरेको छ। पाथुम निसांका र केएल राहुलले पहिलो विकेटका लागि अर्धशतकीय साझेदारी गरिसकेका छन्।

दिल्लीलाई लक्ष्य पूरा गर्न बाँकी १५ ओभरमा १६७ रन आवश्यक छ। हातमा सबै १० विकेट सुरक्षित रहेकाले खेल रोमाञ्चक मोडमा पुगेको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button