स्याफ्रु-रसुवागढी : नाका मात्र होइन, भरियाको डोकोदेखि अर्बौंको व्यापारसम्मको कथा

रसुवा। कुनै बेला डोकोमा सामान बोकेर ओहोरदोहोर गरिने रसुवागढी नाका अहिले अन्तर्राष्ट्रिय मोटरमार्गमा रूपान्तरण हुँदैछ। गल्छी-त्रिशूली-मैलुङ-स्याफ्रुबेँसी-रसुवागढी राजमार्गको स्तरोन्नतिले हिमाली जीवनको तस्वीर नै फेरिदिएको छ।
राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको यो ८२ किलोमिटर लामो सडकखण्डमा पछिल्लो समय तीव्रताका साथ काम भइरहेको छ। स्याफ्रुको छोकलदेखि मैलुङसम्म नेपाली सेनाले ट्र्याक खोलेको आयोजना कार्यालयले जनाएको छ। तर मैलुङ-स्याफ्रुबेँसी खण्डमा भने ठेकेदारको ढिलासुस्तीले पुनः ठेक्का प्रक्रिया अघि बढाउनुपर्ने अवस्था आएको छ।
“हिमाली भूगोलको चुनौतीका बाबजुद यसलाई अन्तर्राष्ट्रियस्तरको मार्ग बनाउने लक्ष्य छ,” गोसाइँकुण्ड गाउँपालिका-२ का वडाध्यक्ष कामीछिरिङ तामाङ भन्छन्। कटिङ, पर्खाल, नाली, कालोपत्रे र दुई दर्जनभन्दा बढी पक्की पुलको योजनासहित काम अघि बढिरहेको जानकारी आयोजनाले दिएको छ।
तथ्याङ्कले पनि यो नाकाको बढ्दो महत्त्व देखाउँछ। रसुवागढी भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत तुलसीप्रसाद भट्टराईका अनुसार वार्षिक ३० अर्ब रुपैयाँभन्दा बढी राजस्व सङ्कलन भइरहेको छ। भन्सार हाताभित्रै दैनिक ६ सयभन्दा बढीले रोजगारी पाएका छन्।
सडकको प्रभाव टिमुरे र घट्टेखोला क्षेत्रमा झनै प्रस्ट देखिन्छ। “पहिले फल्याक छाना भएका घर अहिले पक्की दुईदेखि चारतले भवनले प्रतिस्थापित भएका छन्। जग्गाको मूल्य आकासिएको छ,” वडाध्यक्ष तामाङ सुनाउँछन्। केही स्थानीय त काठमाडौँमै घरजग्गा जोड्न सफल भएका छन्।
चीन सरकारले झण्डै १२ वर्षअघि स्याफ्रुबेँसी-रसुवागढीको १६ किलोमिटर सडक निर्माण गरेको थियो। त्यो सडक अहिले चीनकै सहयोगमा पुनः स्तरोन्नति भइरहेको छ। ल्हासा-केरुङ-रसुवागढीलाई चीनले अन्तर्राष्ट्रिय मार्ग घोषणा गरिसकेकाले भविष्यमा नेपालको मुख्य प्रवेशद्वार यही नाका बन्ने अपेक्षा गरिएको छ।
तर, चुनौती पनि उस्तै छन्। गत असारमा हिमताल फुटेर आएको बाढीले सुक्खा बन्दरगाहमा क्षति पुर्याएको थियो। पुनर्निर्माण सुस्त गतिमा छ। एकीकृत भन्सार भवनको काम पनि अलपत्र छ। ठेकेदार कम्पनी र अनुगमनकारी प्राविधिकमाथि कारबाहीको माग स्थानीयले गरेका छन्।
विसं २०७२ सालदेखि व्यवस्थित व्यापार सुरु भएको यो नाकामा अहिले आयात उच्च र निर्यात न्यून छ। तर, स्थानीयका लागि सडक जीवनरेखा बनेको छ। करिब ४०० स्थानीय केरुङ र पाङ्सिङ क्षेत्रमा रोजगाररत छन्। चीनले विद्यालय भवन पनि बनाइदिएको छ।
“यो सडक केवल यातायातको माध्यम होइन, विकास र समृद्धिको प्रतीक हो,” स्थानीय बासिन्दा भन्छन्। भृकुटी र श्रङचङ गम्पोको पालादेखि चलेको ओहोरदोहोर अब आधुनिक राजमार्गमा रूपान्तरण हुँदा दुई देशबीचको मैत्री र व्यापारले नयाँ उचाइ लिने विश्वास गरिएको छ।





