२८ बैशाख २०८३, सोमबार

प्रथम अशोक स्मृति कप : न्यू डाँफेको विजयी सुरुआत, समाजसेवी थापाको उदार सहयोग, अध्यक्ष पौडेलद्वारा भावनात्मक सम्झना

खजुरा (बाँके) । खजुरा गाउँपालिका–४ डी गाउँस्थित मिनि रङ्गशाला मैदानमा प्रथम अशोक स्मृति कप–२०८३ फुटबल प्रतियोगिता आइतबारदेखि सुरु भएको छ। उद्घाटन खेलमा न्यू डाँफे स्पोर्ट्स क्लबले सडनडेथमा कालिका युवा क्लब बर्दियालाई ७–५ ले पराजित गर्दै विजयी सुरुआत गरेको छ। निर्धारित समयको खेल गोलरहित बराबरीमा सकिएको थियो। खेलमा उत्कृष्ट प्रदर्शन गर्ने न्यू डाँफे स्पोर्ट्स क्लबका रोयल पुन मगर प्लेयर अफ द म्याच घोषित भए।

प्रतियोगिताको उद्घाटन प्रमुख अतिथि सहायक रथी प्रशान्त विक्रम राणाले गरेका थिए। उद्घाटन समारोहमा खजुरा गाउँपालिकाका कार्यवाहक अध्यक्ष एवं वडा नम्बर ४ का वडा अध्यक्ष टेकबहादुर रोकाय, स्वर्गीय अशोक विककी छोरी एलिसा विक, श्री दि फेमस महिन्द्र दल गण भूतपूर्व सैनिक सङ्घ बाँकेका अध्यक्ष मानार्थ उपसेनानी कृष्णलाल गिरीलगायतको उपस्थिति रहेको थियो। ब्रदर्स एफसीका अध्यक्ष विवेक सागर पौडेलले पनि अतिथिका रूपमा सहभागिता जनाएका थिए। ब्रदर्स एफसीले आफूलाई सक्रिय बनाउँदै अन्तर्राष्ट्रियस्तरमा पनि भूमिका खेल्न सक्ने बनाउने गरी निकट भविष्यमा नै महत्त्वपूर्ण कदम अगाडि बढाउँदै छ।

श्री दि फेमस महिन्द्र दल गण भूतपूर्व सैनिक सङ्घ बाँकेको आयोजना र सुन्दर विहानी युवा क्लब जानकी गाउँपालिका–४, बाँकेको सह–आयोजनामा भइरहेको प्रतियोगितालाई एलिसा ज्वैलर्सले मुख्य प्रायोजन गरेको छ। जेठ ३ गतेसम्म चल्ने प्रतियोगितामा १२ टिमको सहभागिता रहेको छ। प्रतियोगिताअन्तर्गत सोमबार सिमलघारी एफसी र चन्द्र ज्योति युवा क्लबबीच प्रतिस्पर्धा हुनेछ।

प्रतियोगिताको मूल समितिको खेल संयोजकको जिम्मेवारी खजुरा गाउँपालिका वडा नम्बर ४ का पूर्व वडाध्यक्ष एवं न्यू डाँफे स्पोर्ट्स क्लबका पूर्व अध्यक्ष तिलकविर सुनारलाई सुम्पिएको छ। प्रतियोगिताको विजेता टिमले ५१ हजार र नगद पुरस्कार पाउनेछ भने उपविजेताले ३१ हजार रुपैयाँ, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजक अध्यक्ष कृष्णलाल गिरीले जानकारी दिए। सर्वोत्कृष्ट खेलाडीलाई ५ हजार, सर्वाधिक गोलकर्ता र उत्कृष्ट गोलकिपरलाई जनही २ हजार ५ सय रुपैयाँ, ट्रफी र प्रमाणपत्र प्रदान गरिनेछ।

प्रतियोगिताको प्रथम पुरस्कार रकम ५१ हजार रुपैयाँ खजुरा गाउँपालिका वडा नम्बर ४ निवासी हाल अमेरिकामा रहनुभएका समाजसेवी तथा खेलप्रेमी लिलबहादुर थापाले प्रायोजन गरेको खेल संयोजक सुनारले जानकारी दिए। यसअघि भर्खरै सम्पन्न प्रथम खजुरा गोल्डकपमा पनि उनले व्यक्तिगत तर्फबाट ७ लाख रुपैयाँ सहयोग गरेका थिए। लिलबहादुर थापा दिनदुखी, असहाय तथा गरिब परिवारका लागि आवास निर्माणदेखि खाद्यान्न सहयोग, बिरामीलाई आर्थिक सहायता तथा विभिन्न सामाजिक गतिविधिमा निस्वार्थ योगदानका लागि परिचित छन्। त्यस्तै, प्रत्येक खेलको प्लेयर अफ द म्याचलाई फायर फास्ट फुड एन्ड रेस्टुरेन्टले जनही १ हजार रुपैयाँ प्रायोजन गरेको छ।

‘ठूलीआमाको दूध खाएर बढेको, भाइको स्मृति ताजै छ’

यसैबीच, नेपाल–चीन पारस्परिक सहयोग समाजका अध्यक्ष प्रेम सागर पौडेलले प्रतियोगिताप्रति खुसी व्यक्त गर्दै भावनात्मक सम्झना साझा गरेका छन्। पूर्व फुटबल खेलाडी स्वर्गीय अशोकले यस क्षेत्रको प्रतिनिधित्व गर्दै राष्ट्रिय स्तरका प्रतियोगितामा खेलेको र उनकै स्मृतिमा स्थानीय खेलाडीलाई अवसर प्रदान गर्न प्रतियोगिता आयोजना गरिएको आयोजकले जनाएको छ।

स्वर्गीय अशोक सुनारको स्मृतिमा आयोजित यस प्रतियोगिताबारे पौडेलले भनेका छन्, ‘स्वर्गीय अमर सुनारकी आमा मेरी ठूलीआमा हुनुहुन्छ। म एक वर्षको नपुग्दै मेरी आमा बिरामी भएपछि अमर सुनारकी आमाले मलाई दूध चुसाउनुभएको थियो। म उहाँको दूध खाएर बढेको हुँ।’

पौडेलले फरक जातिका भए पनि सुनार परिवारसँग आफ्नो सम्बन्ध परिवारकै सदस्यजस्तो रहेको र सँगसँगै बसेर हुर्केबढेको स्मरण गरे। ‘आज भाइ अमर, तिमी हामीमाझ नभए पनि तिम्रो स्मृति ताजै छ,’ उनले भनेका छन्।

पौडेलले खजुरालाई खेलका लागि महत्त्वपूर्ण हबको रूपमा व्याख्या गर्दै यहाँका युवाहरू मेहनती र सक्रिय रहेको बताए। सबैले मिलेर खजुराको इतिहास समृद्ध बनाउने र यस क्षेत्रलाई अन्तर्राष्ट्रियस्तरमा चिनाउने भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गर्दै उनले साथ, समर्थन र ऐक्यबद्धता जाहेर गरेका छन्। साथै, उनले प्रथम अशोक स्मृति कप २०८३ को सफलताको हार्दिक शुभकामना दिएका छन्।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button