अन्धकारलाई चिर्दै उडानको उज्यालो : दृष्टिविहीन पाइलट छुङ लाक्सको प्रेरक कथा

ल्हासा — बिहानको उज्यालोसँगै दुई छोराछोरीलाई विद्यालय पुर्याएपछि छुङ लाक्स आफ्नी श्रीमती वाङ्दुईसँगै उडान कार्यालय पुगेर दिनको काम सुरु गर्छन्। ३५ वर्षीय छुङ लाक्सको जन्मघर यार्लुङ साङ्पो नदीको किनारमा अवस्थित गृहनगर ल्हात्से जिल्लाको ताशी गाङ गाउँ हो। जन्मँदा स्वस्थ रहेका उनी तीन वर्षको उमेरमा दुर्भाग्यवश आँखाको रोगले ग्रस्त भए। त्यतिबेला परिवारको आर्थिक अवस्था कमजोर भएकाले समयमै उपचार हुन नसक्दा क्रमशः दुवै आँखाको दृष्टि गुम्यो। स्कूल जाने उमेर भए पनि विद्यालय जान नपाएपछि केही समय उनी घरमै बस्न बाध्य भए। उनकी आमालाई छोरा बाहिर निस्किँदा दुःख पाउने चिन्ताले जीवनभर घरमै राख्ने इच्छा थियो। १४ वर्षको उमेरसम्म छुङ लाक्स घरबाट बाहिर निस्केका थिएनन्। घरमा बस्दा साथीहरू विद्यालय गएर ज्ञान हासिल गरिरहेको थाहा पाउँदा उनलाई दिन लामो लाग्थ्यो र आफू संसारकै सबैभन्दा दुःखी भएको अनुभव हुन्थ्यो।


सौभाग्यवश, दृष्टिविहीन विद्यालयमा भर्ना भएपछि उनको मनोदशामा क्रमशः सुधार आयो। तिब्बतका विभिन्न भागमा राज्यको कल्याणकारी नीतिको वसन्ती बयार चलेसँगै छुङ लाक्सले विद्यालय जाँदा शुल्क नलाग्ने मात्र नभई विद्यालयले उनको जीवन र पढाइको पूर्ण रेखदेख गर्थ्यो। सन् २००६ देखि २००९ सम्म छुङ लाक्सले गृहनगरको दृष्टिविहीन विद्यालयमा मालिस, सिलाइबुनाइलगायत सीप सिके। साथीहरूमाझ उनी असाध्यै लगनशील र मेहनती थिए, जसले गर्दा छोटो समयमै धेरै सीपमा दक्षता हासिल गरे। विभिन्न सीप सिक्ने तीव्र इच्छा भएकाले सन् २००९ मा विद्यालयले उनलाई ल्हासामा मालिस तालिमका लागि पठायो। ल्हासा पुगेपछि मालिस सिकाइप्रति अत्यन्तै समर्पित रहेका उनले छोटो समयमै धेरै मालिस प्रविधि सिके, जसले प्रशिक्षकहरूबाट उच्च प्रशंसा पाए।
पहाडमाथि बत्ती बलेझैं ल्हासामा मालिसको सीप निखारिसकेपछि सन् २०१३ मा उनले राजधानी बेइजिङमा थप अध्ययन गर्ने सुनौलो अवसर पाए। अध्ययनपछि छुङ लाक्सले सुरुमा ल्हासा शहरको पुनर्स्थापना केन्द्रमा काम पाए र मालिसकै सीपले जीविकोपार्जन गर्न थाले। मालिस पेसाकै क्रममा उनको व्यवसायिक नवप्रवर्तनको बीउ पनि रोपियो। सन् २०१६ देखि २०१८ सम्म उनले साझेदारीमा ग्याङचेन होटलमा दृष्टिविहीन मालिस केन्द्र स्थापना गरी नवप्रवर्तनको बाटोमा पाइला चाले, तर साझेदारबीचको मतभेदका कारण साझेदारी क्रमशः टुट्यो। सन् २०१८ मा उनले श्रीमती वाङ्दुईसँग मिलेर सोही मालिस केन्द्र आफैंले सञ्चालन गर्दै व्यवसायिक यात्रा जारी राखे।


सुरुका दिनमा व्यवसाय सहज थिएन। छुङ लाक्स भन्छन्, ‘एक समय त ग्राहक कम हुँदा पुँजी डुब्ने अवस्था पनि धेरै पटक आयो। कर्मचारीलाई तलब र घरभाडा तिर्नुपर्ने बाध्यताले ठूलो कठिनाइ भोग्यौं। तर, कर्मचारीको तलब र घरभाडा कहिल्यै रोकिनेछैन भन्ने अठोट मनमा राख्यौं। केन्द्र बन्द गर्ने सोच आए पनि कर्मचारीले पुनः रोजगारी पाउन कठिन हुने भएकाले श्रीमतीसँग काँधमा काँध मिलाएर सङ्घर्ष गर्यौं र अन्ततः कठिनाइमाथि विजय प्राप्त गर्यौं।’
विश्वव्यापी रूपमा इन्टरनेटको व्यापक प्रसार र धेरै मानिसले अनलाइनमार्फत अन्तरक्रिया गर्ने समयमा सामाजिक सञ्जालले उनीहरूको व्यवसायमा ठूलो परिवर्तन ल्यायो। सन् २०२२ मा उनीहरूले टिकटकमार्फत स्वास्थ्यसम्बन्धी केही गुणस्तरीय छोटा भिडियो सार्वजनिक गरेपछि धेरैको ध्यान आकर्षित भयो र क्रमशः चिनिने ग्राहक बढ्दै गएपछि व्यवसाय पनि माथि उठ्दै गयो। भिडियो बनाउने सोच कसरी आयो भन्ने प्रश्नमा उनी भन्छन्, ‘ग्राहक कम भएको बेला प्रशस्त फुर्सद हुन्थ्यो। एक दिन श्रीमतीलाई प्रयोगको रूपमा भिडियो खिच्ने प्रस्ताव राखें, उनले तुरुन्तै स्वीकारिन्। म पेसागत मालिसकर्मी भएकाले मानव शरीरसँग सम्बन्धित सैद्धान्तिक ज्ञान राम्रोसँग थाहा छ। दैनिक स्वास्थ्यसम्बन्धी भिडियो टिकटकमा पोस्ट गर्दा फलोअर्स निकै बढे। कुनै बेला एउटा भिडियोले पाँच हजारभन्दा बढी फलोअर्स ल्याएको थियो।’

अनलाइनमार्फत मालिस केन्द्रको व्यवसायमा सुधार आएपछि उनीहरूले इन्टरनेट युगको सुनौलो अवसरको सदुपयोग गर्दै अनलाइनलाई नै मुख्य माध्यम बनाएर हर्बल औषधि र कपाल धुने स्याम्पु बेच्न थाले। उत्पादनमा आफ्नै नामको लोगो राखिएकाले ग्राहकले गुणस्तरीय सामान छुँदा नै त्यो छुङ लाक्सकै उत्पादन भएको तुरुन्तै चिन्न सक्छन्। विशेषगरी उनको स्वास्थ्य सन्तुलन मालिस तेल घाँटी अकडिने, काँध दुख्ने र ढाड दुख्ने समस्यामा निकै प्रभावकारी भएकाले धेरैले उच्च मूल्याङ्कन गरेका छन् र बिक्री पनि तीव्र छ।
तिब्बतमा उनीहरू दृष्टिविहीनमध्ये टिकटकमार्फत अनलाइन व्यवसाय गर्ने पहिलो व्यक्ति हुन् र उनको उदाहरण पछ्याउँदै धेरै दृष्टिविहीनले उनीहरूसँग सिकेर अनलाइन व्यवसाय सुरु गरेका छन्। हाल उनको मालिस केन्द्रमा ग्राहकको सङ्ख्या निरन्तर बढिरहेकाले उनी एक्लैले बिहान ९ बजेदेखि राति ८ बजेसम्म करिब ९० जना ग्राहकलाई मालिस गर्छन्, अरू कर्मचारीलाई फुर्सदै हुँदैन। उनी हाँस्दै भन्छन्, ‘कहिलेकाहीं टाउकोमा आगो लागे पनि उडान नै छैन जस्तो लाग्छ।’ उनका मुख्य ग्राहक स्वदेशी र ल्हासा, ल्होखा, शिगात्से, कोङ्पोलगायत स्थानका भए पनि मालिस सङ्घको सदस्य भएकाले धेरै टुर गाइडले विदेशी पर्यटकलाई एकपछि अर्को गर्दै उनको केन्द्रमा ल्याइरहेका हुन्छन्।
समाज निरन्तर विकास हुँदै जाँदा उपभोक्ताको अपेक्षा पनि बढ्दै गएकाले छुङ लाक्सले आफ्नो मालिस सेवाको गुणस्तर अझ उच्च बनाउन व्यावसायिक कलेजमा थप गहन अध्ययन गर्ने योजना बनाएका छन्। भाग्यले साथ दिएझैं गत वर्ष सरकारी कृपाले उनले क्वेचोउ सेङ्ह्वा व्यावसायिक कलेजमा निःशुल्क अध्ययनको सुनौलो अवसर प्राप्त गरे। छुङ लाक्स दम्पतीले धेरै दृष्टिविहीनलाई मालिस सीप सिकाएका छन्, कतिलाई रोजगारी दिएका छन्, कतिलाई उपयुक्त जागिरसँग आबद्ध गराएका छन्। आफूले सिकाएका धेरै दृष्टिविहीन समाजमा आत्मनिर्भर भएको देख्दा आफ्नो प्रयास सफल भएको महसुस गर्छन्।
अन्त कतै मालिस केन्द्र खोल्ने योजना छ कि भन्ने प्रश्नमा उनी भन्छन्, ‘शिगात्सेलगायत धेरै ठाउँका ग्राहकले शाखा खोलिदिन भने पनि अहिलेकै केन्द्रमा प्रशस्त ग्राहक आइरहेकाले शाखा खोल्ने सोचमा पुग्दा हात छोटो भएको अनुभव हुन्छ। अहिले शाखा खोल्ने विचार छैन।’
उडानको यस यात्रामा श्रीमती वाङ्दुई उनको सबैभन्दा बलियो सहारा हुन्, जसले कहिल्यै पछि नहटी उनको काममा साथ दिएकी छन्। दम्पतीले सन् २००९ मा एकअर्कालाई चिनेपछि क्रमशः दाम्पत्य जीवनको बाटो समाए। दुवै दृष्टिविहीन भएकाले अन्य अभिभावकझैं छोराछोरीलाई पढाइ र कक्षामा राम्रो सहयोग गर्न नसके पनि दुई सन्तान एउटै छालाको डोरी र मासुको थुप्रोजस्तै भएकाले मनमा चिन्ता कम छैन। तैपनि, उनीहरू सकेसम्म छोराछोरीको सोचाइ, नैतिकता र व्यावहारिक क्षमतामा ध्यान दिन्छन्। छोराछोरीले पनि नियमित रूपमा राम्रो पढाइ गरेर आमाबाबुको चिन्ता कम गरिदिएका छन्।
अन्तर्वार्ताको अन्त्यतिर छुङ लाक्सलाई भन्न चाहेको कुरा सोध्दा उनले भने, ‘हरेक व्यक्तिको मनमा कमबेसी पीडा अवश्य हुन्छ। त्यसैले सधैं मनको पीडालाई पछाडि राखेर आफूसँग जे-जति राम्रो पक्ष छ, त्यसलाई खोजेर अगाडि बढ्नुपर्छ। समाजका युवाहरूले आफूमा भएको असल पक्षको राम्रो प्रयोग गर्न सके जुनसुकै काम गर्दा पनि कठिनाइ आइपर्दा निराश भएर दिन बिताउनुको सट्टा निरन्तर चुनौतीको सामना गर्ने आत्मबल प्राप्त गर्न सक्नेछन्।’
अहिले छुङ लाक्स धेरै ग्राहकले चिन्ने उदाहरणीय मालिसकर्मी हुन्। उनी र कर्मचारीहरूको सङ्घर्ष र प्रयासले आगामी दिनमा मालिस केन्द्रको विकास झन् उचाइमा पुग्ने निश्चित छ।





