१८ भाद्र २०८३, बिहीबार

दिगो चरनभूमि व्यवस्थापनका लागि नयाँ विश्वव्यापी कार्ययोजना तय, काठमाडौँ घोषणापत्र जारी

काठमाडौँ । चरन तथा पशुपालनमा संलग्न महिलाको अन्तर्राष्ट्रिय सम्मेलनले दिगो चरनभूमि व्यवस्थापनका लागि नयाँ विश्वव्यापी ‘एजेन्डा’ र कार्ययोजना तय गरेको छ। जेठ १२ देखि १५ गतेसम्म काठमाडौँमा आयोजित सम्मेलनले एकजुट भएर अधिकार संरक्षण तथा जलवायु परिवर्तनसँग जुध्ने क्षमता अभिवृद्धि गर्नेलगायत विषयमा कार्ययोजना तयार गरेको हो। यो पहललाई अन्तर्राष्ट्रिय चरनभूमि तथा पशुपालक वर्ष २०२६ को महत्त्वपूर्ण उपलब्धिका रूपमा लिइएको छ।

‘ग्लोबल ग्यादरिङ अफ पास्टोरालिस्ट वुमेन’ विषयक सम्मेलनमा ४० देशका एक सयभन्दा बढी पशुपालक तथा खुला चरन क्षेत्रमा हुने पशुपालन (रेन्च) सञ्चालन गर्ने महिलाको सहभागिता रहेको थियो। सम्मेलनले विश्वव्यापी पशुपालक महिला सञ्जाल गठन, साझा एजेन्डा तथा कार्यका लागि ‘काठमाडौँ घोषणापत्र’ (मेरा+१६) को मस्यौदा तयार तथा विश्वव्यापी नीतिगत मञ्चहरूमा साझा रणनीति निर्धारण गरेको छ।

अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड) र आइवाइआरपी कार्यसमूहको ‘पास्टोरालिज्म एन्ड जेन्डर’ समूहद्वारा संयुक्त रूपमा आयोजित यस सम्मेलनको उद्देश्य पशुपालक महिलाको नेतृत्वलाई सम्मान गर्ने, अनुभव र ज्ञान आदानप्रदान गर्ने तथा पशुपालन, चरनभूमि र जलवायु न्यायका विषयमा विश्वव्यापी सहकार्यलाई सुदृढ बनाउने रहेको थियो।

सम्मेलनको मुख्य विषय ‘मेरा घोषणापत्र’ को पुनरावलोकन गर्ने थियो। यो घोषणापत्र सन् २०१० मा भारतको मेरा क्षेत्रमा आयोजित विश्व भेलामा पशुपालक महिलाहरूले तयार पारेको महत्त्वपूर्ण राजनीतिक दस्तावेज हो। नयाँ मस्यौदामा भूमि तथा प्राकृतिक स्रोतमाथिको अधिकार, राजनीतिक सहभागिता, आधारभूत सेवामा पहुँच, परम्परागत ज्ञानको मान्यता तथा जलवायु न्यायलाई साझा प्राथमिकताका रूपमा समेटिएको छ।

समापन अवसरमा इसिमोडका चरनभूमिसम्बन्धी व्यवस्थापक यी शाओलियाङले पशुपालक महिला चरनभूमि र जैविक विविधताका महत्त्वपूर्ण संरक्षक भएको बताए। उनले विशेषगरी संवेदनशील पहाडी तथा सुक्खा क्षेत्रमा उनीहरूको नेतृत्व दिगो भू–दृश्य र जलवायु अनुकूलनका लागि अत्यन्त आवश्यक हुने उल्लेख गरे।

इसिमोडकै इकोसिस्टम विशेषज्ञ सृजना जोशी रिजालले यो पशुपालक महिलाका लागि ऐतिहासिक क्षण भएको बताइन्। ‘उनीहरू हाम्रो ग्रहका संरक्षक हुन्। विभिन्न क्षेत्रका महिलाहरू एकजुट भएर वर्तमान र भावी पुस्ताको साझा भविष्य सुरक्षित गर्न तथा आफ्नो आवाज विश्वव्यापी मञ्चसम्म पुर्याउन प्रतिबद्ध भएका छन्,’ उनले भनिन्।

आइवाइआरपी कार्यसमूहको ‘पास्टोरालिज्म एन्ड जेन्डर’ सह–अध्यक्ष नित्या घोटगेले यो निर्णायक क्षण भएको भन्दै विश्वभरका पशुपालक महिलाहरू आफ्ना सन्तान र समुदायको भविष्य निर्माण गर्न एक स्थानमा भेला भएको उल्लेख गरिन्।

चीनको भित्री मङ्गोलियाबाट सहभागी सिकीन्किमुगेले कार्यक्रममा सहभागी हुन पाउँदा गौरवान्वित महसुस गरेको र विश्वव्यापी पशुपालक महिला सञ्जाल बन्ने कुराले उत्साहित भएको बताइन्। नवनिर्मित सञ्जालले विभिन्न क्षेत्रबीच ज्ञान आदानप्रदान, आपसी सहयोग तथा संयुक्त वकालतलाई निरन्तरता दिने र स्थानीय तहदेखि विश्वव्यापी नीतिसम्म पशुपालक समुदायको आवाज पुर्याउन सहयोग गर्ने अपेक्षा गरिएको छ।

इसिमोडका ‘रेजिलियन्ट इकोनोमिज एन्ड ल्यान्डस्केप्स’ प्रमुख सरला खालिङले यस प्रक्रियाका उपलब्धिहरूले समावेशी विकास र वातावरणीय दिगोपन एकअर्कासँग गहिरो रूपमा जोडिएको देखाएको बताइन्। सम्मेलनले तय गरेका एजेन्डालाई संयुक्त राष्ट्रसङ्घलगायत अन्तर्राष्ट्रिय मञ्चहरूमा प्रस्तुत गरिनेछ।

चरनभूमिले पृथ्वीको करिब आधा भूभाग ओगटेको छ र पशुपालन विश्वकै सबैभन्दा व्यापक भूमि उपयोग प्रणाली हो। विश्वका पशुपालक जनसङ्ख्याको करिब आधा हिस्सा महिला तथा किशोरी रहेका छन्। उनीहरूले पशुपालन, भूमि संरक्षण, खाद्य सुरक्षा तथा परम्परागत ज्ञान हस्तान्तरणमा महत्त्वपूर्ण भूमिका खेल्दै आएको भए पनि अझै असुरक्षित भूमि अधिकार, आवागमनको सीमित अधिकार, कम राजनीतिक प्रतिनिधित्व तथा जलवायु परिवर्तनको असमान प्रभाव भोगिरहेको विषयमा सम्मेलनमा छलफल भएको थियो। (रासस)

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button