२५ जेष्ठ २०८३, सोमबार

सगरमाथा आरोही सङ्घले हिमाली क्षेत्रमा असुरक्षा बढेको भन्दै सुरक्षा माग्यो, घटनाको छानबिन माग

सगरमाथा आरोही सङ्घले नेपालको हिमाली क्षेत्रमा असुरक्षा बढ्दै गएको र त्यसले विदेशी पर्यटकमा नकारात्मक असर पारेको भन्दै सुरक्षाका लागि प्रभावकारी कदम चाल्न सरकारसँग आग्रह गरेको छ। सङ्घद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘विसं २०८५ लाई नेपाल भ्रमण वर्षका रूपमा मनाउने घोषणा गरेसँगै हिमाली क्षेत्रमा देखिएको असुरक्षाप्रति आरोही मर्माहत भएका छौँ। नेपाल सरकारसमक्ष आफूलाई पर्न गएको समस्याप्रति धारणा सार्वजनिक गर्न सम्पूर्ण आरोहीलाई अनुरोध गर्दछौँ।’

सङ्घले सगरमाथा आधार शिविरभन्दा माथि कार्यरत ओखलढुङ्गा जिल्ला खिजिदेम्बा गाउँपालिका–६ स्थायी ठेगाना भएका आरोही ५७ वर्षीय दावा शेर्पाको जीवनमा आइपरेको घटनाप्रति सङ्घसहित सम्पूर्ण आरोहीको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। सङ्घले भनेको छ, ‘आरोही शेर्पाको परिवार स्रोतका अनुसार उद्धार कार्यमा सम्बन्धित ट्रेकिङ कम्पनीले बेवास्ता गरेको, खोजी गर्नुको सट्टा गैरजिम्मेवार अभिव्यक्ति दिएकोलगायत अन्य गुनासा छन्। दोस्रो आधार शिविरमा कुकका रूपमा कार्यरत आरोहीलाई चौथो आधार शिविरमा जान दबाब दिने कार्य र छ दिनसम्म बेपत्ता हुँदा उनको खोजी कसरी गरियो भन्ने विषयमा उच्चस्तरीय छानबिन समिति गठन गर्न जरुरी रहेको ठानेका छौँ।’

हिमाली क्षेत्रमा कार्यरत आरोहीको सुरक्षाप्रति सङ्घ सदैव चनाखो रहने उल्लेख गर्दै यस प्रकारको दुर्घटनाबाट मानवीय जीवनमा परेको असरप्रति सङ्घको गम्भीर ध्यानाकर्षण भएको जनाइएको छ। सङ्घले शेर्पाको परिवारप्रति ऐक्यबद्धता व्यक्त गर्दै भविष्यमा यस्ता घटना पुनः नदोहोरिन आवश्यक कानुन निर्माण गर्न सरकारसँग माग गरेको छ। सगरमाथा आरोही सङ्घले सरकारसमक्ष उक्त विषयमा तत्काल गम्भीर ध्यानाकर्षण गराउँदै आरोहीको सुरक्षा सुनिश्चित गर्न र हिमाली क्षेत्रमा कार्यरत व्यक्तिको जीवन रक्षामा ठोस नीति अवलम्बन गर्न माग गरेको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button