४ असार २०८३, बिहीबार

दरबार हत्याकाण्डबारे पूर्व एआईजी शाहको नयाँ दाबी

काठमाडौँ । नेपाल प्रहरीका पूर्व अतिरिक्त महानिरीक्षक (एआईजी) सुरेन्द्रबहादुर शाहले २०५८ जेठ १९ गते नारायणहिटी दरबारमा भएको राजपरिवार हत्याकाण्डबारे नयाँ दाबी सार्वजनिक गरेका छन्।

पूर्वराजा वीरेन्द्र शाहको व्यक्तिगत सुरक्षामा समेत खटिएका शाहले हालै दिएको एक अन्तर्वार्तामा दरबार हत्याकाण्डमा तत्कालीन युवराज दीपेन्द्र शाह संलग्न रहेको दाबी दोहोर्‍याएका हुन्। उनले घटनाको पृष्ठभूमि र त्यसका पछाडि कसको प्रभाव थियो भन्ने अलग विषय हुन सक्ने भए पनि घटनामा दीपेन्द्रको संलग्नताबारे आफूलाई शङ्का नरहेको बताएका छन्।

नेपाल प्रहरीमा प्रहरी निरीक्षकबाट सेवा सुरु गरेका शाह पछि एआईजी पदबाट अवकाश भएका थिए। उनी माओवादी सशस्त्र द्वन्द्वकालमा विशेष ब्युरोमा रहेर सुरक्षा अनुसन्धान तथा गोप्य अपरेसनसम्बन्धी काममा समेत संलग्न थिए। उनी २०४७ देखि २०४९ सम्म राजा वीरेन्द्रको एडीसीका रूपमा नारायणहिटी दरबारमा खटिएका थिए।

शाहका अनुसार दरबारमा खटिँदा उनको अधिराजकुमार नीराजन शाहसँग नजिकको सम्बन्ध बनेको थियो। हत्याकाण्ड भएको दिन नीराजनले उनलाई बेलुकाको खानाका लागि साथीको घरमा बोलाएका थिए। दरबारमा त्यस दिन पारिवारिक जमघट भएकाले नीराजनले करिब राति ९ बजे आउने बताएका थिए।

तर निर्धारित समय बितिसक्दा पनि नीराजन नआएपछि शाहले दरबारमा प्रहरीतर्फबाट एडीसीका रूपमा खटिएका निरज श्रेष्ठलाई फोन गरेका थिए। श्रेष्ठले तत्काल कुरा मिल्ने अवस्था नरहेको र घर जान सक्ने बताएपछि शाह घर फर्किएका थिए।

शाहका अनुसार घर पुगेपछि सुत्ने तयारी गर्दै गर्दा पुनः श्रेष्ठकै फोन आएको थियो। त्यही फोनमार्फत उनले दरबारभित्र भएको घटनाबारे जानकारी पाएका थिए। त्यसपछि उनी तत्कालीन प्रहरी महानिरीक्षक प्रदीपशमशेर जबराको निवास पुगेका थिए।

शाहले आफूले पाएको जानकारी प्रहरी महानिरीक्षकलाई बताएपछि जबरा, उनका अंगरक्षक रविन्द्रप्रताप शाह र आफू छाउनीस्थित सैनिक अस्पताल पुगेको बताएका छन्। त्यहाँ पुग्दा तत्कालीन प्रधानसेनापति प्रज्वलशमशेर राणासहित उच्च सुरक्षा अधिकारीहरू पुगिसकेको उनको भनाइ छ।

शाहले दिएको विवरणअनुसार करिब राति १ बजेतिर बडामहारानी रत्न राज्यलक्ष्मी शाह सैनिक अस्पताल पुगेकी थिइन्। अस्पतालमा राजा वीरेन्द्र, रानी ऐश्वर्या, अधिराजकुमार नीराजनलगायत राजपरिवारका सदस्यहरूलाई अलग–अलग कोठामा राखिएको थियो।

त्यस क्रममा अचेत अवस्थामा उपचाररत दीपेन्द्र रहेको कोठा अगाडि पुगेपछि उनलाई दीपेन्द्रबारे जानकारी गराइएको थियो। तर शाहका अनुसार बडामहारानी रत्नले दीपेन्द्रलाई नहेरी फर्किएकी थिइन्। शाहले उक्त प्रतिक्रियालाई त्यसबेलाको दरबारभित्रको बुझाइ र मानसिक अवस्थासँग जोडेर व्याख्या गरेका छन्।

उनले अस्पतालमै रत्नले तत्कालीन प्रधानसेनापतिलाई देशको सीमाको रक्षा गर्न निर्देशन दिएको पनि बताएका छन्। शाहका अनुसार दरबारमा ठूलो संकट आएको अवस्थामा बडामहारानीले जिम्मेवारी सम्हाल्ने परम्परा रहेको र त्यसबेला उनलाई देशको सीमा सुरक्षाबारे विशेष चिन्ता थियो।

त्यतिबेला ज्ञानेन्द्र शाह पोखरामा थिए। शाहका अनुसार उनी बिहान करिब ८ बजे हेलिकप्टरबाट सैनिक अस्पताल पुगेका थिए। ज्ञानेन्द्र शाह अस्पताल पुगेपछि त्यहाँ रहेका धेरैलाई घर फर्किन भनिएको शाहले बताएका छन्।

दरबार हत्याकाण्डबारे तत्कालीन छानबिन समितिले पनि दीपेन्द्र शाहलाई घटनाको मुख्य कारकका रूपमा उल्लेख गरेको थियो। घटनाका प्रत्यक्षदर्शीका बयानमा पनि दीपेन्द्रको नाम आएको थियो। तर अनुसन्धान प्रक्रियाप्रति प्रश्न उठ्दै आएकाले यस घटनाबारे जनस्तरमा अझै विभिन्न शङ्का र बहस कायम छन्।

हत्याकाण्डमा राजा वीरेन्द्र, रानी ऐश्वर्या, अधिराजकुमार नीराजन, अधिराजकुमारी श्रुतिसहित राजपरिवारका सदस्यहरूको निधन भएको थियो। अचेत अवस्थामै दीपेन्द्रलाई राजा घोषणा गरिएको थियो। उनको पनि निधन भएपछि ज्ञानेन्द्र शाह राजा बनेका थिए।

घटनापछि मृतकहरूको पोस्टमार्टम नगरिएको, अपराध अनुसन्धानका निकायलाई प्रमुख जिम्मेवारी नदिइएको र घटनालाई अपराध अनुसन्धानभन्दा बढी राजनीतिक दृष्टिले हेरिएको भन्दै पूर्व एआईजी शाहले असन्तुष्टि व्यक्त गरेका छन्।

उनका अनुसार यति गम्भीर घटनाको अनुसन्धान अपराध अनुसन्धानमा दक्ष निकायबाट हुनुपर्ने थियो। तर तत्कालीन अवस्थामा त्यसरी अनुसन्धान हुन नसक्दा दरबार हत्याकाण्ड नेपालको आधुनिक इतिहासको सबैभन्दा संवेदनशील र विवादित घटनामध्ये एकका रूपमा अझै चर्चामा छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button