२९ जेष्ठ २०८३, शुक्रबार

सुस्तामा एसएसबी प्रवेशपछि स्थानीयको प्रतिकार

पश्चिम नवलपरासीको सुस्तामा भारतीय सीमा सुरक्षा बल एसएसबी प्रवेश गरेपछि स्थानीयले प्रतिकार गरेका छन्।

शुक्रबार बिहान करिब ७ बजे सुस्ता गाउँपालिका–५ स्थित थारू टोल क्षेत्रमा एसएसबीका सुरक्षाकर्मी देखिएपछि स्थानीयले नेपाली भूमिमा प्रवेश नगर्न भन्दै विरोध जनाएका हुन्। खेतबारीमा काम गरिरहेका स्थानीयले भारतीय सुरक्षाकर्मीलाई आफ्नो भूमितर्फ फर्कन आग्रह गरेपछि केही समय सामान्य विवाद भएको थियो।

यसअघि जेठ १७ गते नारायणी नदीमा निर्माणाधीन तटबन्धको काम रोक्न एसएसबी नेपाली भूमिमा प्रवेश गरेको स्थानीयले बताएका थिए। त्यसयता सुस्ता क्षेत्रलाई नेपाल र भारत दुवै पक्षले थप निगरानीमा राख्दै आएका छन्।

पश्चिम नवलपरासीका प्रमुख जिल्ला अधिकारी दीपकराज घिमिरेका अनुसार नियमित गस्तीमा रहेको भारतीय सुरक्षाकर्मीको टोली सीमा नजिकै पानी जमेको स्थान पार गर्न नेपाली भूभागतर्फ आएको थियो। उनले नेपाली सुरक्षाकर्मी तत्कालै घटनास्थल पुगेपछि अवस्था सामान्य बनेको जानकारी दिए।

सुस्ता बचाउ अभियानका प्रवक्ता रवीन्द्र जयसवालले भारतीय सुरक्षाकर्मी नेपाली भूभागमा देखिएपछि स्थानीयले भारततर्फ फर्कन र नेपाली भूमिमा प्रवेश नगर्न भनेपछि केही समय तनाव सिर्जना भएको बताए। पछि दुवै पक्षका सुरक्षाकर्मीको पहलमा स्थिति सामान्य बनेको उनको भनाइ छ।

सुस्ता नेपाल–भारत सीमासँग जोडिएको संवेदनशील क्षेत्र मानिन्छ। स्थानीयका अनुसार सीमा स्तम्भ स्पष्ट नहुँदा, नारायणी नदीले धार परिवर्तन गर्दा र भूभागको यकिन सीमांकन नभएका कारण सुस्तामा समय–समयमा विवाद दोहोरिने गरेको छ।

वि.सं. २०२२ सालमा तत्कालीन राजा महेन्द्रले सुस्ता क्षेत्रमा केही भूपू सैनिकसहित करिब ४ सय परिवारलाई बसोबास गराएको स्थानीय इतिहासमा उल्लेख छ। पछि वि.सं. २०३४ सालमा नारायणी नदीले धार परिवर्तन गर्दा त्यहाँको बस्ती प्रभावित भएको र धेरै परिवार विस्थापित हुनुपरेको स्थानीय बताउँछन्।

स्थानीयको दाबीअनुसार त्यसपछि भारतीय पक्षले सीमा स्तम्भ नभएको अवस्थाको फाइदा उठाउँदै सुस्ताको भूभागमा अतिक्रमण गर्दै आएको छ। सुस्ताको कुल क्षेत्रफल ४० हजार ९८० हेक्टरमध्ये करिब १४ हजार हेक्टर भूभाग भारतले अतिक्रमण गरेको स्थानीय पक्षको दाबी छ। त्यस्तै, १९ हजार ४८० हेक्टर क्षेत्र विवादित भन्दै जोतभोगमा रोक लगाइएको र सुस्ताबासीले हाल करिब ७ हजार ५ सय हेक्टर भूभाग मात्र प्रयोग गर्दै आएको बताइन्छ।

पश्चिम नवलपरासीको सनहीदेखि कुडियासम्म १६ वटा सीमा स्तम्भ रहे पनि सुस्ताको करिब २४ किलोमिटर क्षेत्रमा सीमा स्तम्भ छैन। सीमा स्तम्भ नभएको क्षेत्रमा खोला, रुख वा अन्य प्राकृतिक चिन्हलाई आधार मानिँदा सीमावर्ती नागरिकबीच पटक–पटक विवाद हुँदै आएको छ।

नेपाल–भारतबीच विवादित मानिएको सुस्ता क्षेत्रमा एउटा सिमलको रुखलाई सीमाको संकेतका रूपमा मानिँदै आएको स्थानीय बताउँछन्। सीमा व्यवस्थापन, स्पष्ट सीमांकन र कूटनीतिक संवादमार्फत मात्रै सुस्ताको समस्या दीर्घकालीन रूपमा समाधान हुन सक्ने स्थानीयको भनाइ छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button