याङ्त्से जलमार्ग विस्तारमा चीनको ७७ अर्ब युआनको महायोजना

चीनले याङ्त्से नदीमार्फत हुने आन्तरिक जल यातायातलाई थप सहज, छिटो र प्रभावकारी बनाउन विशाल जलमार्ग परियोजना अघि बढाएको छ। चीनको सबैभन्दा लामो नदी याङ्त्सेलाई अझ बलियो ‘स्वर्णिम जलमार्ग’का रूपमा विकास गर्ने उद्देश्यले ७७ अर्ब २० करोड युआन अर्थात् करिब ११ अर्ब ३० करोड अमेरिकी डलर लागतको परियोजना सुरु गरिएको हो।
सोमबार शिलान्यास गरिएको यो परियोजनाले थ्री गर्जेस बाँध क्षेत्रमा वर्षौंदेखि देखिँदै आएको जहाज आवागमनको चाप कम गर्ने र आगामी दशकहरूमा बढ्ने मालवाहक माग धान्ने लक्ष्य राखेको छ। याङ्त्से नदी चीनको आन्तरिक पश्चिमी भूभागदेखि पूर्वी तटीय क्षेत्रसम्म फैलिएको प्रमुख जल यातायात मार्ग हो। करिब ६ हजार ३०० किलोमिटर लामो यो नदी चीनका ११ प्रान्तीय क्षेत्र समेट्ने याङ्त्से नदी आर्थिक क्षेत्रको मुख्य आधार मानिन्छ, जसले चीनको कुल गार्हस्थ्य उत्पादनको झन्डै आधा हिस्सा ओगट्छ।
थ्री गर्जेस बाँधको हालको जहाज लक प्रणालीले सन् २०११ मै वार्षिक १० करोड टन मालवाहक क्षमताको मूल डिजाइन सीमा नाघिसकेको थियो। यो अवस्था अनुमान गरिएभन्दा १९ वर्षअघि नै आएको हो। चीनको यातायात मन्त्रालयका अधिकारी वाङ हुईका अनुसार याङ्त्से नदी आर्थिक क्षेत्रको विकाससँगै आन्तरिक र तटीय क्षेत्रबीच सामान ढुवानी निरन्तर बढ्ने भएकाले थप जल यातायात क्षमता अपरिहार्य बनेको छ।
नयाँ परियोजनाअन्तर्गत थ्री गर्जेस बाँधको विद्यमान जहाज लकको उत्तरतर्फ पाँच तहको दोहोरो मार्गयुक्त नयाँ जहाज लक निर्माण गरिनेछ। साथै, त्यसको तल्लो भागमा रहेको गेजोउबा बाँधको जल यातायात संरचना पनि स्तरोन्नति गरिनेछ। परियोजना पूरा भएपछि थ्री गर्जेस बाँधको वार्षिक मालवाहक क्षमता झन्डै दोब्बर भएर ३३ करोड ६० लाख टन पुग्नेछ भने गेजोउबा बाँधको कुल क्षमता ३६ करोड टन पुग्नेछ।
चाइना थ्री गर्जेस कर्पोरेसनका उपप्रमुख इन्जिनियर गाओ पङका अनुसार नयाँ संरचनाले आपसी सहयोग, वैकल्पिक सञ्चालन र जहाजको वर्गीकृत आवागमनसहित बढी भरपर्दो प्रणाली निर्माण गर्नेछ। यसले याङ्त्से नदीको मध्य र माथिल्लो भागमा मालसामान ढुवानीलाई अझ सहज बनाउने र नदी आसपासको समग्र यातायात सञ्जाललाई बलियो पार्ने अपेक्षा गरिएको छ।
परियोजनाले चीनको हरित रूपान्तरण अभियानमा पनि सहयोग पुर्याउने विश्लेषकहरूको भनाइ छ। चिनियाँ इन्जिनियरिङ एकेडेमीका प्राज्ञ निउ सिनछ्याङका अनुसार जल यातायातबाट प्रति टन–किलोमिटर हुने कार्बन उत्सर्जन रेलको करिब आधा र सडक यातायातको करिब पाँचौं भाग मात्र हुन्छ। त्यसैले जल यातायात विस्तारले ढुवानी लागत घटाउनुका साथै कार्बन उत्सर्जन कम गर्न महत्वपूर्ण भूमिका खेल्नेछ।
परियोजना प्राविधिक रूपमा अत्यन्त चुनौतीपूर्ण मानिएको छ। जलस्रोत मन्त्रालयका अधिकारी झाङ युनछाङका अनुसार थ्री गर्जेस र गेजोउबा बाँधजस्ता विद्यमान विशाल संरचनाभित्रै नयाँ जहाज लक निर्माण र स्तरोन्नति गर्नुपर्ने भएकाले काम जटिल छ। नयाँ लकले ३७ तले भवन बराबरको जलस्तर अन्तर सम्हाल्नुपर्नेछ भने करिब २०० मिटर अग्ला चट्टानी ढलान व्यवस्थापन गर्नुपर्नेछ।
इन्जिनियरहरूले उच्च दबाबमा पानी सुरक्षित रूपमा सञ्चालन गर्न नयाँ प्रणाली विकास गरेका छन्। साथै, १ हजार ४४० टन तौलको ‘सुपर गेट’ प्रयोग गरिनेछ। निर्माणका क्रममा करिब १६ करोड घनमिटर चट्टान र माटो हटाइनेछ। यसका लागि वरपरका बासिन्दा, वातावरण र जलचर प्रणालीमा न्यून असर पर्ने गरी उन्नत ब्लास्टिङ प्रविधि प्रयोग गरिने जनाइएको छ।
परियोजना सञ्चालनमा आएपछि स्मार्ट समयतालिका, स्मार्ट जलमार्ग र स्मार्ट लक प्रणाली प्रयोग गरी बुद्धिमान जल यातायात प्रणाली तयार गरिनेछ। बिग डाटा, उच्च–सटीक नक्सा, प्रत्यक्ष निगरानी र डिजिटल सेन्सरमार्फत जहाजलाई उपयुक्त मार्ग, समय र सुरक्षा सूचना उपलब्ध गराइनेछ।
थ्री गर्जेसको नयाँ जहाज लक र त्यससँग जोडिने प्रवेश मार्ग निर्माण ११२ महिनामा पूरा गर्ने लक्ष्य राखिएको छ। गेजोउबा स्तरोन्नति ९५ महिनामा सम्पन्न गर्ने योजना छ। दुवै अवधिमा १२ महिनाको तयारी समय समावेश गरिएको छ।
चिनियाँ अधिकारीहरूका अनुसार परियोजनाले निर्माण सामग्री, भारी उपकरण, आपूर्ति शृङ्खला र सम्बन्धित उद्योगमा ठूलो आर्थिक गतिविधि सिर्जना गर्नेछ। यसले रोजगारीका अवसर बढाउने र नदी आसपासका बन्दरगाहलाई मालसामान संकलन तथा वितरण केन्द्रका रूपमा थप सशक्त बनाउने अपेक्षा गरिएको छ।
नयाँ जलमार्गले चीनको आन्तरिक भूभागलाई अन्तर्राष्ट्रिय व्यापारसँग अझ नजिक जोड्नेछ। युरोप र मध्य एसियाबाट चीन–युरोप मालवाहक रेलमार्फत चोङछिङ आइपुगेका सामान याङ्त्से नदीमार्फत सजिलै तटीय क्षेत्रतर्फ पठाउन सकिनेछ। त्यस्तै, दक्षिणपूर्वी एसिया र तटीय क्षेत्रबाट आएका अन्तर्राष्ट्रिय मालसामान नदी–समुद्र संयुक्त ढुवानीमार्फत चीनको पश्चिमी भूभागसम्म पुर्याउन सकिनेछ।
यसरी चीनले याङ्त्से नदीलाई केवल आन्तरिक जलमार्गका रूपमा नभई देशको पूर्व–पश्चिम सम्पर्क, हरित ढुवानी, औद्योगिक समन्वय र अन्तर्राष्ट्रिय बजार पहुँचको महत्वपूर्ण आधारका रूपमा अघि बढाउन खोजेको देखिन्छ।





