अन्नपूर्ण क्षेत्रमा लेक लागेर एक वर्षमा २५ पर्यटकको मृत्यु

ड्रागन मिडिया समाचार कक्ष
अन्नपूर्ण संरक्षण क्षेत्रका विभिन्न पदमार्ग तथा उच्च हिमाली गन्तव्यमा गत आर्थिक वर्ष २०८२–८३ मा लेक लागेर २५ जना पर्यटकको मृत्यु भएको छ।
अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाका अनुसार मृत्यु हुनेमा १२ नेपाली, नौ भारतीय तथा जापान, मेक्सिको, स्पेन र सिङ्गापुरका एक–एक जना नागरिक छन्। मृत्यु भएका नेपालीमध्ये चार जना पथप्रदर्शक र भरिया थिए।
लेक लागेर मुस्ताङमा सबैभन्दा बढी १५ जनाको मृत्यु भएको छ। मनाङमा आठ तथा अन्नपूर्ण आधार शिविर र मर्दी हिमाल क्षेत्रमा एक–एक जनाको मृत्यु भएको आयोजनाले जनाएको छ।
गत वर्षको मृत्युसङ्ख्या अघिल्ला दुई आर्थिक वर्षको तुलनामा बढी हो। आर्थिक वर्ष २०८०–८१ मा २१ तथा २०८१–८२ मा १९ जनाको लेक लागेर मृत्यु भएको थियो।
पदयात्राका क्रममा लडेर तथा हिमपातसहित अन्य दुर्घटनामा थप पाँच जनाले ज्यान गुमाएका छन्। उपलब्ध विवरणअनुसार मनाङमा पदयात्राका क्रममा भारी हिमपात हुँदा एक भारतीय नागरिकको मृत्यु भएको थियो।
मनाङको हिमलुङ हिमाल आरोहण गरेर फर्कने क्रममा एक अस्ट्रेलियाली पर्यटकको ज्यान गएको थियो। मर्दी हिमाल पदयात्रामा एक नेपाली तथा म्याग्दीको खोप्रा लेक क्षेत्रमा एक जर्मन नागरिकको मृत्यु भएको थियो।
आयोजना प्रमुख डा. रविन कडरियाका अनुसार लेक लाग्ने अधिकांश घटना मुस्ताङ र मनाङका उच्च भूभागमा हुने गरेका छन्। सडकमार्गबाट छोटो समयमै मुक्तिनाथलगायत उच्च क्षेत्रमा पुग्ने नेपाली र भारतीय पर्यटकमा यस्तो समस्या बढी देखिएको उनले बताए।
कम उचाइबाट गाडीमा एकैपटक उच्च क्षेत्रमा पुग्दा शरीरलाई स्थानीय हावापानी र अक्सिजनको कमीसँग अनुकूल हुन पर्याप्त समय मिल्दैन। यात्रुले बीचबीचमा विश्राम गर्दै क्रमिक रूपमा उचाइ बढाउनुपर्ने कडरियाको सुझाव छ।
लेक लागेको लक्षण देखिए थप उचाइतर्फ यात्रा नगरी तत्काल कम उचाइको स्थानमा फर्कनुपर्ने उनले बताए। लामो दूरीको पदयात्रामा एक्लै ननिस्की समूहमा वा अनुभवी पथप्रदर्शकको साथमा यात्रा गर्नुपर्नेमा पनि आयोजनाले जोड दिएको छ।
पथप्रदर्शक दिवस गुरुङले तीन हजार मिटरभन्दा माथि पुगेपछि एक दिनमा सुत्ने स्थानको उचाइ पाँच सय मिटरभन्दा बढी नबढाउन सुझाव दिएका छन्। अन्तर्राष्ट्रिय स्वास्थ्य मार्गदर्शनले पनि तीन हजार मिटरभन्दा माथि दैनिक सुत्ने उचाइ पाँच सय मिटरभन्दा बढी नबढाउन र प्रत्येक थप एक हजार मिटरपछि शरीर अनुकूलनका लागि एक दिन विश्राम लिन सुझाउँछ।
टाउको दुख्ने, चक्कर लाग्ने, असामान्य थकान, वाकवाकी लाग्ने वा सास फेर्न कठिन हुनेजस्ता लक्षणलाई सामान्य ठानेर यात्रा जारी राख्नु जोखिमपूर्ण हुन सक्छ।
अन्नपूर्ण क्षेत्रको पदयात्रामा बर्सेनि लेक लाग्ने र लडेर मृत्यु हुने घटना दोहोरिन थालेपछि यात्राअघि स्वास्थ्य परीक्षण, मौसम र पदमार्गको जानकारी, क्रमिक उचाइ वृद्धि तथा उद्धार र सञ्चार व्यवस्थालाई अनिवार्य बनाउनुपर्ने आवश्यकता देखिएको छ।



