नेपाल प्रज्ञा–प्रतिष्ठानका प्राज्ञसभासदले लिए शपथ, नयाँ सभाबाट संस्थागत सुधारको अपेक्षा

ड्रागन मिडिया सम्वाददाता
नेपाल प्रज्ञा–प्रतिष्ठानका नवनियुक्त प्राज्ञसभासदहरूको बुधबार शपथ ग्रहण सम्पन्न भएको छ। शपथपछि आयोजित परिचयात्मक अन्तरक्रियामा प्रतिष्ठानको संस्थागत सुधार, नेपाली भाषाको संरक्षण तथा साहित्यका विभिन्न विधालाई थप सक्रिय रूपमा प्रवर्द्धन गर्नुपर्ने विषय उठाइएको छ।
नवनियुक्त प्राज्ञसभासद खगेन्द्र गिरी कोपिलाले शपथ ग्रहणपछि सामाजिक सञ्जालमार्फत पहिलो दिनको अनुभव सार्वजनिक गर्दै नयाँ प्राज्ञ सभामा उमेर, विधा, अनुभव, क्षेत्र, भेग, समुदाय, विषय, विचार र प्रतिनिधित्वका दृष्टिले सकेसम्म विविधता र समावेशिता कायम गरिएको अनुभूति भएको बताएका छन्।
उनका अनुसार ३५ सदस्यीय प्राज्ञ सभामा कुलपति, उपकुलपति, सदस्यसचिव, आठ जना पार्षद र २४ जना सभासद रहेका छन्।
कोपिलाले कुलपति कुमार नगरकोटीको स्पष्टवादिता, विद्वता, अरूका विचार सुन्ने स्वभाव, सामूहिकताको भावना र सुधार गर्दै अघि बढ्ने प्रतिबद्धताले आफू प्रभावित भएको उल्लेख गरेका छन्। उनले उपकुलपति अविनाश श्रेष्ठको सहज व्यवहार, गम्भीर व्यक्तित्व र प्रतिक्रिया आत्मसात गर्ने स्वभाव तथा सदस्यसचिव रोशन शेरचनको सक्रिय प्रस्तुति, सबैलाई समेट्ने तत्परता र भद्रताको पनि प्रशंसा गरेका छन्।
पहिलो दिनको परिचयात्मक अन्तरक्रियामा आफूले प्रतिष्ठानको भावी भूमिकाबारे चार प्रमुख विषय प्रस्तुत गरेको कोपिलाले बताएका छन्।
उनले लामो समयपछि नयाँ प्राज्ञ सभाले ठूलो आशा र अपेक्षा जगाएको उल्लेख गर्दै प्रतिष्ठानलाई राजनीतिक प्रभावबाट सकेसम्म अलग राख्दै यसको संस्थागत गरिमा र प्राज्ञिक स्तर उकास्नुपर्ने धारणा राखेका छन्। विगत तीन दशकमा प्रतिष्ठानको स्तर खस्किएको भन्ने जनगुनासोलाई सम्बोधन गर्न सभासदहरूले आफ्ना व्यवहार, व्यक्तित्व र कार्यसम्पादनसमेत सार्वजनिक अपेक्षाअनुकूल बनाउनुपर्ने उनको भनाइ छ।
कोपिलाले प्राज्ञसभासदलाई केवल औपचारिक भूमिकामा सीमित नराखी निश्चित जिम्मेवारी दिएर सक्रिय बनाइनुपर्ने सुझावसमेत दिएका छन्।
नेपाली भाषाको प्रयोग, संरक्षण र संवर्द्धनमा नेपाल प्रज्ञा–प्रतिष्ठानले अझ स्पष्ट भूमिका निर्वाह गर्नुपर्ने उल्लेख गर्दै उनले सरकारी लेखपढी तथा सार्वजनिक नामपाटीमा नेपालीभन्दा अंग्रेजी भाषाको प्रयोग बढ्दै गएको प्रवृत्तिप्रति चिन्ता व्यक्त गरेका छन्। नेपाली भाषाको व्याकरण र परम्परागत शब्दसम्पदासम्बन्धी विगतका विवादलाई समेत ध्यानमा राखेर प्रतिष्ठानले भाषिक संरक्षणमा नेतृत्वदायी भूमिका खेल्नुपर्ने उनको धारणा छ।
उनले गजल र मुक्तक विधाको राष्ट्रिय महोत्सव आयोजना गर्न पनि प्रतिष्ठानलाई सुझाव दिएका छन्।
नयाँ प्राज्ञ सभाको गठनसँगै नेपाल प्रज्ञा–प्रतिष्ठानको प्राज्ञिक स्तर, संस्थागत प्रभावकारिता, भाषा–साहित्यको संरक्षण तथा विभिन्न साहित्यिक विधाको प्रवर्द्धनमा नयाँ पहल हुने अपेक्षा गरिएको छ।





