२७ भाद्र २०८३, शनिबार

कृष्णभीर संकटपछि त्रिशूलीपारिको वैकल्पिक सडक फेरि चर्चामा

ड्रागन मिडिया सम्वाददाता

धादिङको कृष्णभीरमा पहिरोका कारण पृथ्वी राजमार्ग लामो समयदेखि अवरुद्ध भएपछि एक दशकअघि अध्ययन गरिएको त्रिशूलीपारिको समानान्तर वैकल्पिक सडक योजना फेरि चर्चामा आएको छ। काठमाडौं उपत्यकालाई देशका अन्य भागसँग जोड्ने प्रमुख मार्ग पटकपटक बाढीपहिरोको जोखिममा पर्दै आए पनि प्रस्तावित वैकल्पिक सडक निर्माण अघि बढ्न सकेको थिएन।

विश्व बैंकको ऋण सहयोगमा करिब एक दशकअघि नौबिसे–मुग्लिन सडकसँगै त्रिशूली नदीपारिबाट समानान्तर सडक निर्माण गर्ने सम्भावनाबारे विस्तृत अध्ययन गरिएको थियो। अध्ययनमा नागढुंगा–मुग्लिनको ९४.६६ किलोमिटर खण्डसँगै १२.४ किलोमिटर लामो सिस्ने–धार्के र १५.३ किलोमिटर लामो विशालटार–फिस्लिङ सडकलाई वैकल्पिक मार्गका रूपमा प्रस्ताव गरिएको थियो।

अध्ययनअनुसार सिस्ने–धार्के सडक निर्माणका लागि करिब ४ अर्ब ३० करोड रुपैयाँ आवश्यक पर्ने अनुमान गरिएको थियो। उक्त खण्डमा करिब ५ सय रोपनी जग्गा अधिग्रहण गर्नुपर्ने र जग्गा तथा घरटहरा व्यवस्थापनमै करिब १ अर्ब ७५ करोड रुपैयाँ खर्च हुने देखाइएको थियो।

यस खण्डमा १८० मिटर लामो सुरुङ निर्माणको प्रस्तावसमेत गरिएको थियो। सुरुङ निर्माणका लागि मात्रै करिब ५७ करोड ५० लाख रुपैयाँ लागत अनुमान गरिएको थियो। सडक निर्माणका क्रममा चार वटा पुल, २९ वटा पाइप कल्भर्ट र १० वटा बक्स कल्भर्ट निर्माण गर्नुपर्ने तथा करिब १ हजार ६ सय २० वटा रूख हटाउनुपर्ने अध्ययनमा उल्लेख थियो।

यसैगरी विशालटार–फिस्लिङ सडकका लागि करिब ६ अर्ब ५ करोड रुपैयाँ लागत अनुमान गरिएको थियो। उक्त खण्डमा करिब ३ सय ५० रोपनी जग्गा अधिग्रहण गर्नुपर्ने थियो। जग्गा अधिग्रहणका लागि करिब २ अर्ब ९० करोड रुपैयाँ र घरटहरा व्यवस्थापनका लागि थप १४ करोड ७० लाख रुपैयाँ आवश्यक पर्ने देखाइएको थियो।

विशालटार–फिस्लिङ खण्डमा सात वटा पुल, २३ वटा पाइप कल्भर्ट र आठ वटा बक्स कल्भर्ट निर्माण गर्नुपर्ने तथा करिब ५ हजार १ सय ९० वटा रूख हटाउनुपर्ने अध्ययनले देखाएको थियो।

मुआब्जा, वातावरणीय व्यवस्थापन र निर्माण लागत उच्च हुने भन्दै तत्कालीन अवस्थामा वैकल्पिक सडक अघि बढाइएन। त्यसको सट्टा विश्व बैंकको सहुलियतपूर्ण ऋणमा नागढुंगा–मुग्लिन सडकको स्तरोन्नतिलाई प्राथमिकता दिइयो।

तर पछिल्लो विपदले एउटै राजमार्गमा अत्यधिक निर्भर रहने नीतिको जोखिम फेरि देखाएको छ। कृष्णभीरमा मात्रै होइन, नागढुंगादेखि मुग्लिनसम्मका विभिन्न स्थानमा बाढी, पहिरो र सडक कटानको जोखिम रहँदा राजधानीको आपूर्ति श्रृंखला बारम्बार अवरुद्ध हुने अवस्था सिर्जना भएको छ।

पृथ्वी राजमार्ग अवरुद्ध हुँदा इन्धन, खाद्यान्न, औषधि तथा अन्य अत्यावश्यक वस्तुको ढुवानी प्रभावित हुनुका साथै हजारौं यात्रुको आवागमनमा समस्या देखिएको छ। यसले काठमाडौं उपत्यकाका लागि भरपर्दो दोस्रो सडक करिडोर निर्माणलाई केवल विकास आयोजना नभई राष्ट्रिय आपूर्ति सुरक्षा र विपद् जोखिम व्यवस्थापनसँग जोडिएको रणनीतिक आवश्यकता बनाएको छ।

पछिल्लो अवस्थापछि सडक विभागले एक दशकअघि तयार पारिएको विस्तृत अध्ययन प्रतिवेदन पुनः खोज्न थालेको छ। सरकारले बेनीघाट–फिस्लिङ सडक सुधार, अस्थायी ट्र्याक विस्तार तथा कृष्णभीर क्षेत्रमा नयाँ ट्र्याक निर्माण गरेर तत्काल यातायात सञ्चालन गर्ने प्रयास गरिरहेको भए पनि दीर्घकालीन समाधानका लागि त्रिशूलीपारिको समानान्तर सडकको सम्भावना पुनः मूल्यांकन गर्नुपर्ने दबाब बढेको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button