संविधान रक्षाका लागि परिवर्तनकारी शक्तिबीच एकता आवश्यक : माधवकुमार नेपाल

ड्रागन मिडिया सम्वाददाता
नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले संविधानको रक्षा र नागरिकका संवैधानिक अधिकारको पूर्ण कार्यान्वयनका लागि परिवर्तनकारी शक्तिबीच एकता, सहकार्य र समन्वय आवश्यक रहेको बताएका छन्।
वीरगञ्जमा शनिबार आयोजित पत्रकार भेटघाट कार्यक्रममा उनले ठूलो सङ्घर्ष र बलिदानबाट प्राप्त मौलिक हक, लोकतन्त्र, सङ्घीयता, समावेशितालगायतका संवैधानिक उपलब्धिको संरक्षण गर्न राजनीतिक दलहरू जिम्मेवार ढङ्गले अघि बढ्नुपर्ने बताए।
नेपालले भने, “संविधान सामान्य परिवर्तनबाट आएको होइन। अहिलेको संविधानको रक्षा गर्न राजनीतिक दलबीच एकता, सहकार्य र समन्वय आवश्यक छ। जनतालाई सुशासनसहितको सेवा प्रवाह गर्न पनि सबै एक भएर अगाडि बढ्नुको विकल्प छैन।”
उनले आदिवासी, महिला, जनजाति, मधेसी, दलित, मुस्लिम, अपाङ्गता भएका व्यक्ति, पिछडिएका क्षेत्र तथा सीमान्तकृत समुदायका संवैधानिक अधिकारको संरक्षण सबैको साझा दायित्व भएको उल्लेख गरे।
पूर्वप्रधानमन्त्रीसमेत रहेका नेपालले वर्तमान सरकारप्रति जनताको अपेक्षा उच्च रहेको भन्दै जनचाहनाअनुसार प्रभावकारी काम गर्नुपर्ने धारणा राखे।
भदौ १० गतेको भोटेकोशी बाढीपछि बेपत्ताको खोजी र उद्धार कार्यलाई सरकारले थप तीव्र बनाउनुपर्नेमा पनि उनले जोड दिए।
नेपालले भने, “देश अहिले विपद्मा छ। हिमाली बाढीका कारण ठूलो जनधनको क्षति भएको छ। खोजी कार्यमा सरकारले उपलब्ध स्रोतसाधनको अधिकतम प्रयोग गर्दै विभिन्न सङ्घसंस्था तथा राजनीतिक दललाई समेत उद्धार र राहतमा प्रभावकारी रूपमा परिचालन गर्नुपर्छ।”
उनले भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा भएका घटनाबारे निष्पक्ष छानबिन गर्नुपर्ने मागसमेत गरे।





