प्रतिनिधिसभाको बैठक आज, मन्त्रीहरूले मौखिक प्रश्नको जवाफ दिने

ड्रागन मिडिया सम्वाददाता
संघीय संसद प्रतिनिधिसभाको बैठक आज अपराह्न १ बजे बस्दैछ। संघीय संसद सचिवालयका अनुसार बैठकमा परराष्ट्र मन्त्रालय तथा भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नको सम्बन्धित मन्त्रीहरूले जवाफ दिने सम्भावित कार्यसूची छ।
बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले ‘एसियाली विधायिकी संस्थाहरूको परिषद्को सदस्यता प्राप्त गर्नेसम्बन्धी सम्मिलनमाथि नेपाल सरकारले आफ्नो हकमा स्पष्ट गरेको घोषणासहित अनुमोदन गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची पनि रहेको छ।
यसैबीच आज संघीय संसदअन्तर्गतका चार समितिको बैठक पनि बस्दैछ। अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठक बिहान १० बजे, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बिहान ८ बजे, विधायन व्यवस्थापन समितिको बैठक बिहान ११ बजे र संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक अपराह्न १ बजेर १५ मिनेटमा बस्ने संसद सचिवालयले जनाएको छ।
प्रतिनिधिसभाको आजको बैठकमा मन्त्रालयगत प्रश्नोत्तर र अन्तर्राष्ट्रिय संसदीय सहकार्यसम्बन्धी प्रस्ताव प्रमुख कार्यसूचीका रूपमा रहेका छन् भने संसदीय समितिहरूमा सम्बन्धित क्षेत्रका विधायिकी तथा नीतिगत विषयमा छलफल हुने अपेक्षा गरिएको छ।





