चीनका पहाडी सुन्तला बगैँचामा ड्रोनको प्रयोग, किसानको श्रम घट्दै र युवालाई रोजगारी बढ्दै

ड्रागन मिडिया समाचार कक्ष
चीनको हुबेई प्रान्तस्थित याङ्त्से नदीको थ्री गर्जेज क्षेत्रका पहाडी सुन्तला बगैँचामा ड्रोनको प्रयोगले कृषि उत्पादन, बाली संरक्षण र फलफूल ढुवानीको परम्परागत पद्धति बदल्न थालेको छ। भिराला पाखामा रहेका सुन्तलाका बोटमा विषादी छर्किनेदेखि टिपिएका फलफूल सङ्कलन केन्द्रसम्म पुर्याउने काममा ड्रोन प्रयोग हुन थालेपछि किसानको श्रम र समय घटेको छ। पहाडी जिल्ला चिगुईमा यस प्रविधिको विस्तारसँगै स्थानीय युवाका लागि रोजगारीका अवसरसमेत सिर्जना भएका छन्।
चिगुईका किसानले वर्षौंदेखि मल र विषादी हातैले प्रयोग गर्दै आएका थिए। सुन्तला टिपेपछि साँघुरा र असमान बाटो हुँदै भारी बोकेर तल झार्नुपर्थ्यो। कतिपय बगैँचा र सङ्कलनस्थलबीच चार सयदेखि पाँच सय मिटरसम्म उचाइको अन्तर रहेको छ। स्थानीय किसान ३९ वर्षीय गुओ सिङछङले सन् २०११ मा परिवारको बगैँचा सम्हालेपछि झन्डै एक दशकसम्म एकपटकमा करिब ५० किलोग्राम सुन्तला बोकेर ढुवानी गरे। कठिन बाटोमा एकपटकको यात्रा पूरा गर्न ४० मिनेटसम्म लाग्ने गरेको उनले बताएका छन्।
सन् २०२१ मा चिगुईमा सुन्तला ढुवानीका लागि ड्रोनको परीक्षण शुरु भएपछि गुओ जिल्लामा कृषि ड्रोन खरिद गरी सञ्चालन गर्न सिक्ने पहिलो व्यक्ति बने। उनका अनुसार एउटा ड्रोनले एकपटकमा एक सय किलोग्राम सुन्तला बोकेर एक मिनेटमै पहाडबाट तल पुर्याउन सक्छ। प्रविधिमा आएको सुधारसँगै एउटा ड्रोनले अहिले दैनिक २५ हजारदेखि ३० हजार किलोग्रामसम्म सुन्तला ढुवानी गर्न सक्छ, जुन करिब १० जनाको श्रम बराबर हो। बाली संरक्षणमा प्रयोग हुने एउटा ड्रोनले करिब २५ जनाले गर्ने काम गर्न सक्ने र लक्षित स्थानमा विषादी छर्किने भएकाले पानी तथा रसायनको प्रयोग पनि घट्ने स्थानीय किसानहरूको अनुभव छ।
शुरुमा नयाँ प्रविधिप्रति किसानहरू सशङ्कित भए पनि यसको उपयोगिता देखिएपछि ड्रोन सेवाको माग बढेको गुओ बताउँछन्। उनले स्थापना गरेको कम्पनीमा हाल १० जना ड्रोन चालक कार्यरत छन्। उनीहरू सबै बाहिरबाट गाउँ फर्किएका युवा हुन्। कम्पनीसँग ४० जनाभन्दा बढी सदस्य रहेको बाली संरक्षण टोलीसमेत छ। चिगुईमा अहिले करिब दुई हजार ६ सय प्रमाणित कृषि ड्रोन चालक छन्। सुन्तलाको मुख्य बाली भित्र्याउने समय आउन बाँकी रहेकाले गुओको कम्पनीका केही चालक पूर्वी चीनको फुचियान प्रान्तमा ड्रोनमार्फत भोगटे ढुवानी गर्न पुगेका छन्।
चिगुईको गुओचियाबा टाउनसिपकी स्थानीय सरकारी अधिकारी ली सोङफेईका अनुसार सरकारले कृषि सहायता कोषमार्फत किसानलाई ड्रोन खरिदमा अनुदान उपलब्ध गराउनुका साथै चालक प्रशिक्षणको व्यवस्था मिलाउँदै आएको छ। यसबाट कृषि यान्त्रीकरणसँगै स्थानीय स्तरमा प्राविधिक जनशक्ति विकासलाई पनि सहयोग पुगेको छ। चिगुईको जटिल भूगोलमा ड्रोन सञ्चालनको अनुभव प्राप्त गरेका चालकलाई अन्य क्षेत्रमा काम गर्न तुलनात्मक रूपमा सजिलो हुने गुओको भनाइ छ।
चिगुईका सुन्तला बगैँचामा आएको परिवर्तन ड्रोन प्रयोगमा मात्र सीमित छैन। जिल्लाभर करिब चार लाख मु अर्थात २६ हजार सात सय हेक्टर क्षेत्रफलमा फैलिएका सुन्तला बगैँचाको डिजिटल नक्साङ्कन गरिएको छ। प्रत्येक बगैँचाको उचाइ, भिरालोपन र बोटको उमेरलगायत विवरण अभिलेखमा राखिएको छ। किसानले बोटमा देखिएका कीरा वा रोगको तस्बिर मोबाइल फोनबाट पठाएर पहिचान तथा उपचारसम्बन्धी सुझाव प्राप्त गर्न सक्छन्। जिल्ला कृषि कार्यालयकी अधिकारी ली लीका अनुसार पहिले अनुभव र मौसमको अनुमानमा बढी निर्भर किसानका लागि तथ्याङ्क पनि बगैँचा व्यवस्थापनको उपयोगी साधन बन्दै गएको छ।
चिगुई चीनको विशाल थ्री गर्जेज जलविद्युत परियोजनाबाट प्रभावित क्षेत्रमध्ये एक हो। सन् २००० को दशकको शुरुवातमा बाँध सञ्चालन हुनुअघि जिल्लाका करिब एक लाख मानिसलाई स्थानान्तरण गरिएको थियो। यो तत्कालीन जनसङ्ख्याको करिब एक चौथाइ थियो। चीनले सन् २०२१ मा निरपेक्ष गरिबी अन्त्य भएको घोषणा गरेपछि ग्रामीण पुनरुत्थान र किसानको आम्दानी वृद्धिमा जोड दिँदै आएको छ। चिगुईमा कृषि प्रविधिको विस्तारलाई सोही ग्रामीण विकास प्रयासको एउटा उदाहरणका रूपमा प्रस्तुत गरिएको छ।
चिगुईका बगैँचाबाट अहिले वार्षिक १० लाख टनभन्दा बढी सुन्तला उत्पादन हुन्छ। स्थानीय विवरणअनुसार सुन्तला उद्योगको उत्पादन मूल्य २५ अर्ब युआनभन्दा बढी पुगेको छ भने यसले दुई लाख ६० हजारभन्दा बढी मानिसको जीविकोपार्जनमा सहयोग पुर्याएको छ। प्राचीन चिनियाँ कवि छ्यु युआनको जन्मस्थलसमेत रहेको चिगुईमा कृषि प्रविधि, स्थानीय सरकारी सहयोग र प्रशिक्षित युवाको सहभागिताले कठिन पहाडी भूगोलमा उत्पादन तथा ढुवानीको परम्परागत पद्धति परिवर्तन गर्दै ग्रामीण अर्थतन्त्रमा नयाँ अवसर सिर्जना गरेको छ।





