४ आश्विन २०८३, आईतवार

जलवायु न्यायका लागि अन्तर्राष्ट्रिय दबाब बढाउन माधव नेपालको आग्रह

ड्रागन मिडिया सम्वाददाता

नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का सहसंयोजक माधवकुमार नेपालले जलवायु परिवर्तनका कारण नेपालले भोगिरहेको क्षतिबारे वैज्ञानिक तथ्य र प्रमाणसहित अन्तर्राष्ट्रियस्तरमा आवाज उठाउनुपर्ने बताएका छन्। आइतबार काठमाडौंमा आयोजित ‘विश्व तापमानमा वृद्धि, हिमाली क्षेत्रमा पार्ने असरले नेपालमा पार्ने जोखिम र जलवायु न्याय’ विषयक अन्तरक्रिया कार्यक्रममा उनले जलवायु न्याय सुनिश्चित गर्न प्रभावकारी कूटनीतिक पहल आवश्यक रहेको बताए।

नेपालले जलवायु परिवर्तन न्यूनीकरणमा पुर्‍याएको योगदान र त्यसका बाबजुद भोग्नुपरेको क्षतिलाई विश्व समुदायसमक्ष स्पष्ट रूपमा प्रस्तुत गर्नुपर्ने उनको भनाइ थियो। वन संरक्षण, वृक्षारोपण, वन क्षेत्र विस्तार तथा कार्बन उत्सर्जन न्यूनीकरणमा नेपालले हासिल गरेका उपलब्धिको अन्तर्राष्ट्रियस्तरमा पर्याप्त प्रचारप्रसार हुन नसकेको उल्लेख गर्दै उनले जलवायुजन्य हानिनोक्सानीको उचित क्षतिपूर्तिका लागि कूटनीतिक दबाब बढाउनुपर्नेमा जोड दिए।

पूर्वप्रधानमन्त्रीसमेत रहेका नेपालले आफ्नो कार्यकालमा हिमाली क्षेत्रमा जलवायु परिवर्तनले पारेको प्रभावप्रति अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण गराउन विभिन्न पहल गरेको स्मरण गरे। उनले तत्कालीन अमेरिकी राष्ट्रपति बाराक ओबामालाई हिमाली क्षेत्रमा जलवायु परिवर्तनको असर दर्शाउने प्रतीकका रूपमा कालो ढुंगा उपहार दिएको प्रसंगसमेत सुनाए।

जलवायु परिवर्तनका कारण नेपालमा बाढी, पहिरो, पानीका स्रोत सुक्ने समस्या र हिमाली क्षेत्रका जोखिम बढिरहेको उल्लेख गर्दै नेपालले क्षति न्यूनीकरणका लागि पूर्वसूचना प्रणाली प्रभावकारी बनाउनुपर्ने बताए। उनले वैज्ञानिक अध्ययन, अन्तर्राष्ट्रिय पैरवी र आन्तरिक पूर्वतयारीलाई सँगसँगै अघि बढाएर जलवायु परिवर्तनबाट प्रभावित समुदायको सुरक्षा तथा जलवायु न्यायका लागि काम गर्नुपर्ने धारणा राखे।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button