२० कार्तिक २०८३, बिहीबार

साइबर ब्युरोले कांग्रेस सहमहामन्त्री शिवाकोटीलाई बोलायो

ड्रागन मिडिया सम्वाददाता

नेपाल प्रहरीको साइबर ब्युरोले नेपाली कांग्रेसका सहमहामन्त्री अजयबाबु शिवाकोटीलाई सोधपुछका लागि कार्यालयमा उपस्थित हुन भनेको छ। पत्रकार रोशन खड्काले दिएको उजुरीका आधारमा ब्युरोले उनलाई बोलाएको स्रोतले जनाएको छ।

धार्मिक भ्रमणका क्रममा काठमाडौँबाहिर रहेका शिवाकोटीलाई ब्युरोले फोन गरेर उपस्थित हुन भनेको हो। सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै उनले काठमाडौँ फर्किएर ब्युरोमा उपस्थित हुने बताएका छन्।

“सरकार, तिम्रो भय र पारेको भ्रमले विचलित हुन्न। प्रहरी लगाएर खोज्नु पर्दैन, काठमाडौँ आउँदैछु,” उनले लेखेका छन्। आफू “नबिराउनु, नडराउनु” भन्ने मान्यतामा अडिग रहेको बताउँदै उनले सरकारले डर देखाएर सत्ता चलाउन खोजेको आरोपसमेत लगाएका छन्।

केही दिनदेखि सरकारले विधि र विधान मिचेर काम गरेको तथा नेपाली कांग्रेसलाई अनावश्यक विवादमा तान्न खोजेको भन्दै शिवाकोटीले सामाजिक सञ्जालमा असन्तुष्टि व्यक्त गर्दै आएका छन्। उनले पत्रकार खड्काका अभिव्यक्तिमाथि टिप्पणी गर्दै प्रतिपक्षले उठाएका प्रश्नको सरकारले जिम्मेवार रूपमा जवाफ दिनुपर्ने माग पनि गरेका थिए।

प्रहरी हिरासतमा रहेका बिचौलिया भनिएका इनम सापकोटाको भनिएको अडियो बयानबारे पनि शिवाकोटीले सार्वजनिक रूपमा प्रश्न उठाएका थिए।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button