२० कार्तिक २०८३, बिहीबार

दसौँ राष्ट्रिय खेलकुदका लागि गण्डकीको २२ सदस्यीय आर्चरी टोली छनोट

ड्रागन मिडिया सम्वाददाता

कर्णाली प्रदेशमा आगामी मङ्सिर १६ देखि २७ गतेसम्म हुने दसौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि गण्डकी प्रदेशले आर्चरीका २२ खेलाडी छनोट गरेको छ। छनोट भएका खेलाडीमा १२ पुरुष र १० महिला छन्।

पोखरा रङ्गशालास्थित आर्चरी मैदानमा दुई दिन चलेको छनोट प्रतियोगितामा कास्की, बागलुङ, म्याग्दी र मुस्ताङका ३४ खेलाडी सहभागी थिए। तीमध्ये २४ पुरुष र १० महिला थिए। छनोट भएका खेलाडीले राष्ट्रिय प्रतियोगितामा गण्डकी प्रदेशको प्रतिनिधित्व गर्ने सङ्घका वरिष्ठ उपाध्यक्ष योगेन्द्र शेरचनले जानकारी दिए।

रिकर्भ खुला पुरुषतर्फ कास्कीका अशिम शेरचनले सर्वाधिक ६२७ अङ्क प्राप्त गरे। बागलुङका दुर्गा घर्ती मगरले ६१७, मुकेश रोका मगरले ५७९ र खड्कबहादुर घर्ती मगरले ५७४ अङ्कसहित टोलीमा स्थान बनाए। महिला रिकर्भतर्फ कास्कीकी रोजिना थापामगर ५०४ अङ्कसहित पहिलो भइन्। अनुश्का शेरचनले ४७९, रिना गुरुङले ४७३ र सलिना गुरुङले ४१५ अङ्क प्राप्त गर्दै छनोट भए।

कम्पाउण्ड पुरुषतर्फ कास्कीका सुरेश गुरुङले सर्वाधिक ६७६ अङ्क प्राप्त गरे। म्याग्दीका सुमन गुरुङ तथा कास्कीका करुण बराल र खम्बा गुरुङ पनि छनोट भए। महिला कम्पाउण्डतर्फ कास्कीका मोनिका राना र निता केसी टोलीमा परे।

स्ट्यान्डर्ड पुरुषतर्फ बागलुङका महित घर्ती मगर र रामबहादुर घर्ती मगर तथा म्याग्दीका प्रवेश फगामी र मिलन जुम्जाली छनोट भएका छन्। महिला स्ट्यान्डर्डतर्फ कास्कीका सैनानी श्रेष्ठ, जयल इशा आचार्य, सलिना गुरुङ र आराधना थापा छनोट भए।

जिल्लागत रूपमा कास्कीबाट १७, बागलुङबाट छ, म्याग्दीबाट छ र मुस्ताङबाट पाँच खेलाडी सहभागी थिए। आर्चरीसहित अन्य खेलका सङ्घहरूले पनि राष्ट्रिय खेलकुदका लागि छनोट प्रतियोगिता र तयारी अघि बढाएका छन्।

प्रदेश खेलकुद परिषद गण्डकीले निर्धारित मापदण्डअनुसार खेलाडी छनोट गर्न, आवश्यक तयारी गर्न र प्रतियोगिता व्यवस्थित बनाउन जिल्ला खेलकुद विकास समितिलाई आग्रह गरेको छ। खेलाडी छनोट र प्रदेश टोली निर्माणका लागि आवश्यक बजेट उपलब्ध गराउन सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालयसँग अनुरोध गरिएको परिषद्ले जनाएको छ।

यसअघि २०७९ सालमा पोखरामा भएको नवौँ राष्ट्रिय खेलकुदमा गण्डकी प्रदेशहरूमध्ये पहिलो भएको थियो। नवौँ प्रतियोगिताको समापनमा दुई वर्षपछि कर्णालीमा दसौँ राष्ट्रिय खेलकुद आयोजना गर्ने घोषणा गरिएको भए पनि प्रतियोगिता चार वर्षपछि हुन लागेको हो।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button