सङ्घीय संसद्का दुवै सदनको बैठक आज, तीन विधेयकसम्बन्धी प्रस्ताव कार्यसूचीमा

ड्रागन मिडिया सम्वाददाता
सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ। प्रतिनिधिसभाको बैठक अपराह्न १ बजे सिंहदरबारमा बस्ने तय भएको छ भने राष्ट्रियसभाको बैठक अपराह्न १ बजेर १५ मिनेटमा शुरु हुनेछ। दुवै सदनमा विधेयकसम्बन्धी प्रस्ताव, मन्त्रालयगत प्रश्नोत्तर तथा संसदीय कामकारवाहीका विषय कार्यसूचीमा समावेश छन्।
प्रतिनिधिसभाको बैठकमा सभामुख डोलप्रसाद अर्यालले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरणसम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने कार्यक्रम छ। त्यसपछि महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री सीता बादीले ‘बालबालिकासम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८३’ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ।
प्रतिनिधिसभामै प्रधानमन्त्री तथा रक्षामन्त्री वालेन्द्र शाहका तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यक्रम छ। उक्त विधेयक पारित गर्ने प्रस्तावमाथि प्रतिनिधिसभाले निर्णय गर्नेछ।
राष्ट्रियसभाको बैठकमा कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले आफ्नो मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नको उत्तर दिने कार्यसूची छ। उनले ‘सङ्क्रामक पशु रोग (नियन्त्रण) विधेयक, २०८३’ पारित गरियोस् भन्ने प्रस्तावसमेत प्रस्तुत गर्ने कार्यक्रम छ।
यसैगरी, आज कानुन, न्याय तथा मानवअधिकार समिति, कृषि तथा प्राकृतिक स्रोत समिति र पूर्वाधार विकास समितिका बैठक पनि बस्ने तय भएको छ।





